ए साथी!
म शब्दको गुञ्जन सुन्छु,
तिमी शब्दको साहित्य लेख्छौ
र
साहित्य यस्तो जसमा देशले बालबालिकालाई
आफ्नो काखमा च्यापेर
उनीहरूको न्वारन गरोस्
वृद्धहरूको न्याँस्राे मेटाउन वृद्धाश्रम खोलेका
र वृद्धभत्ता बाँडेका कहानी लेखोस्
अनि देशद्रोहीका शिर ताकेर बन्दूक पड्काओस्।
कहिलेकाहीं यस्ता शब्द पनि लेखिनेछन्
जुन शब्दहरूले घटित हिंसाका
कागजी यथार्थ सम्झाउँछन्
साथी,
मेरा शब्दले मानिसलाई इतिहासका पात्र
मान्दै साहित्यका युद्धभूमिहरू डुलाउँछन्
जहाँ खुनका धाराहरू बग्छन्
र,
मानिसका मृत आत्माले दुश्मनलाई गाली दिन्छन्
तर, तिम्रा शब्दले
गान्धीकाे सत्याग्रह
मदर टेरेसाले घाइतेहरूको घाउ पुरेर शरीर सिएको
कथा प्रस्ट पार्छन्
म मान्छु, तिमी एक देशभक्त हौ
र म तिम्रो सन्देश सुनेर
आफ्नो मन शान्त पार्छु।
-सुरभि रेग्मी
प्रकाशित: ८ मंसिर २०८० ०५:०२ शुक्रबार