कला

ठूलो एकादशी

लघुकथा

‘आज त ठूलो एकादशी, बिहान उठेर नुहाइधुवाइ गर्नुपर्छ छोरा, उठ्।’ बाले यति भनेपछि ’हस्’ भन्दै सिरक फालेर ऊ उठ्यो र नुहाइधुवाइ गर्न थाल्यो।

‘आज त ठूलो एकादशी, लिङ्गो गाड्नुपर्छ। जा, गएर लिङ्गो लिएर आइज।’ आमाको वचन पूरा गर्न ऊ बाँसघारीतिर गयो र एउटा ठिक्कको बाँसको लिङ्गो काटेर छिमलछामल र खुर्कीखार्की गरी आँगनमा राख्यो।

‘आज त ठूलो एकादशी, फूलको लट्ठा तार्छन्। हामीलाई पनि लैजानु है दाइ, मादी दोभानमा...!’ भाइबहिनीको कुरा काट्न नसकेर फूल तार्ने ठाउँमा भाइबहिनीलाई पनि सँगै लिएर गयो।

ठूलो एकादशीको दिनमा खाना खाने त कुरै थिएन। बरु फलाहारेले फलफूल, दही, केरा र सातुको व्यवस्था गरेका रहेछन्। त्यही खाएर फूलको लट्ठो तारेपछि ऊ पनि भाइबहिनीलाई लिएर फर्कियो।

‘आज त ठूलो एकादशी, तिहारको निख्य्रौलो! पञ्चभलादमीको गोलमेच बैठकमा जम्ने होला नि?’ साथीहरूको आग्रह स्वीकार्दै साथीहरूले होटेल बुक गरे ठाउँमा ऊ पनि खुसुक्क छिर्‍यो।

यतिन्जेलसम्म त तिथि पनि कट्यो होला नि?’ तास फेट्दा फेट्दै ऊ थप कुरा गर्न खोज्दै थियो। होटेल साहुले कुरा बुझ्यो र सोधिहाल्यो,’भुटुवा र ग्रेभी के ल्याइदिम् अनि ड्रिंक्रस आइटममा लोकल कि अरू?’

-रमेशचन्द्र घिमिरे

प्रकाशित: ७ मंसिर २०८० ०५:१७ बिहीबार

अक्षर