कला

लेकालीलाई ‘संसाक गोपालराज-मैयादेवी साहित्य सम्मान’

संसाक मासिक पत्रिकाले सामुदायिक प्रहरी सेवा केन्द्र टोखा नपा ९ गोगबुंको सभाहलमा संसाक सम्मान २०८० बाट फरकफरक विधाका साहित्यकारहरूलाई सम्मान गरेकाे छ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली नगद एघार हजार राशिसहित ‘संसाक गोपालराज-मैयादेवी साहित्य सम्मान-२०८०’बाट सम्मानित भएका छन्।

यसैगरी लीलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापा नगद दस हजारसहित ‘संसाकयात्री नियात्रा सम्मान-२०८०’ बाट सम्मानित भएका छन्।

यसैगरी काभ्रेका साहित्यकार रामसुन्दर देउजा नगद दस हजार राशिसहित ‘संसाक अनामणि समीक्षा सम्मान-२०८०’ र नगद राशिसहित ‘संसाक बालप्रतिभा सम्मान-२०८०’ बाट डडन ब्रिज एकेडेमीका छात्रा खुशिपल परियार सम्मानित भएकी छन्। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेश क्षेत्र नं. ६ का माननीय सभासद् अमन मास्केले सम्मान गरेका थिए।

सम्मानितहरूलाई डायरी र कलम प्रदान गरेर फरक किसिमले कार्यक्रम उदघाटन गरिएको थियो भने सोही कार्यक्रममा ‘हिमाली सौगात’ पत्रिकाको नयाँ अंकको लोकार्पण पनि गरिएको थियो।

कार्यक्रममा सम्मानित साधकहरू- विजयध्वज थापा, राधेश्याम लेकाली, रामसुन्दर देउजाले आआफ्नो मन्तव्यसहित कविता वाचन गरेका थिए।

यसैबिच कार्यक्रममा सम्मानित स्रष्टाहरूको परिचय डा. अम्बिका अर्यालले प्रस्तुत गरेका थिए।

कार्यक्रममा पुरस्कार संस्थापक रत्नप्रसाद श्रेष्ठ अनामणि, समालोचक प्राडा. गोविन्दमान सिंह कार्की, साहित्यकार डा. दामोदर पुडासैनी किशोर, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेम राई परीक्षित, डा. शैलेन्दुप्रकाश नेपाल, केदारनाथ पाठक लगायतले मन्तव्य राखेका थिए।

यसैगरी प्रमुख अतिथि माननीय सांसद अमन मास्केले संस्कृति, साहित्य र कलाको माझ राजनीतिको कोट फुकालेर उभिएको बताउँदै ‘साथी’ कथाको अंश वाचन गरेका थिए।

संसाककी उपसम्पादक भवानी मैयाँ पन्तको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कवि उत्तम विचार भेटवालले गरेका थिए। कार्यक्रममा संसाकका सम्पादक उमेश पाण्डेले धन्यवाद-ज्ञापन गरेका थिए।

कार्यक्रममा साहित्यकारहरू डा. बमबहादुर जिताली, पवन आलोक, रामप्रसाद पन्त, मुरारि सिग्देल, सरिता अर्याल, सुशीला ढकाल अधिकारी, राजेन्द्र केसी, तारा केसी, ज्ञान्दरी कैनी, राजबाबु श्रेष्ठ सागर, निशा केसी, बलराम दाहाल, यशोदा अधिकारी, माधव बिडारी, वासुदेव गुरागाईं, भैरवी भूगोल, जसध्वज गुरुङ, रामसुन्दर देउजा, राजेन्द्र घिमिरे सागर, देवराज सिम्खडा, जगदीश पोखरेल, एसके धिताल लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: ७ मंसिर २०८० ०३:५७ बिहीबार

अक्षर