कला

देवकाेटाका जातीय संस्कृतिसम्बद्ध खण्डकाव्य

समालाेचना

लक्ष्मीप्रसाद देवकोटाले साहित्यका कविताकाव्य, आख्यान, निबन्ध र नाटक गरी चारवटै विधामा कलम चलाए पनि उनको लेखनको महत्वपूर्ण क्षेत्र खण्डकाव्य हो।

देवकोटाले रचना गरेका र उनको जीवनकाल एवम् जीवनकालपश्चात् प्रकाशित भएका खण्डकाव्यकृतिहरूको सङ्ख्या ३६ रहेको छ। जातीय संस्कृतिलाई अभिव्यक्त गर्ने प्रवृत्तिका दृष्टिकोणले देवकोटाका धेरै खण्डकाव्य महत्त्वपूर्ण छन्। 

देवकोटाका खण्डकाव्यहरूमा छेत्री, शेर्पा, तामाङ, भोटे, ब्राह्मण, नेवार, मगर, गुरुङ, राई, दमाई आदि विभिन्न जातीय समुदायका मानवपात्रहरूको उपस्थिति रहेको पाइन्छ।

देवकोटाद्वारा सिर्जित जातीय संस्कृतिको अभिव्यक्ति भएका खण्डकाव्यहरू मुनामदन, राजकुमार प्रभाकर, लूनी, तिप्लिङ्गी, म्हेन्दु, कटक, मैना, वसन्ती एक, वसन्ती दुई र घोडचढी हुन्। यी खण्डकाव्यमा पनि मुनामदन, लूनी, तिप्लिङ्गी, कुञ्जिनी र म्हेन्दु गरी पाँचवटा खण्डकाव्यमा जातीय सांस्कृतिक अभिव्यक्ति उल्लेख्य रूपमा भएको पाइन्छ।

खण्डकाव्यकार देवकोटाको जीवनका प्रमुख सन्दर्भ

लक्ष्मीप्रसाद देवकोटा तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोरामध्ये साहिँला छोरा थिए। 

उनको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबारका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो तर तिहारको लक्ष्मीपूजाका दिन जन्मेका हुनाले उनलाई लक्ष्मीप्रसाद भनियो।

देवकोटाले आफ्नो प्रारम्भिक शिक्षा घरमै प्राप्त गरेका थिए। १९७१ सालमा पाँच वर्षको उमेरमा उनको अक्षरारम्भ संस्कार औपचारिक रूपमा सम्पन्न भएको हो, तर यसअघि नै उनले ‘क’ देखि ‘त्र’ सम्मका अक्षर चिनिसकेका थिए (महादेव अवस्थी, लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता, पृ. २०)। 

बाल्यकालमा पारिवारिक पृष्ठभूमिका कारण देवकोटाले अमरकोश, स्तोत्रमालाजस्ता संस्कृतका कृतिहरू पढ्न पाएका थिए। उनी सानैदेखि आफ्ना बुबाका कविता साफी गर्थे।

आफ्ना बुबाका कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो। उनका पिता दरबारमा नेपाली र संस्कृत पढाएर जति आर्जन गर्थे, त्योभन्दा धेरै उनका दाजु लेखनाथ म्याट्रिक पास गरेर ट्युसनबाट कमाउँथे। उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो।

देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे। उनका प्रायः साथीले ती कविता देवकोटाले लेखेको कुरा नै स्विकार्दैनथे। यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए। यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए।

देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौड्यालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए। लक्ष्मीप्रसाद छिप्पिँदै गएपछि वड्र्सवर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका कविता पनि पढ्न थाले। उनले करिब दश वर्षको उमेरतिर आफ्नी जेठी भाउजूबाट कविता लेख्ने प्रेरणा पाई उनले आफ्नो पहिलो नेपाली कविता लेखेका थिए र त्यसको प्रथम पङ्क्ति थियो-‘म त अभागिनी पो भएँ।’(अवस्थी, पूर्ववत् कृति)

देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौं कक्षाबाट एक्कैचोटि दशौं कक्षा पढे। आफू १७ वर्षको हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए।

देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे। यसै बिच १९८५ सालको वैशाखमा ‘गोरखापत्र’मा उनको ‘वसन्त षोडशी’ शीर्षकको कविता छापियो तर त्यसमा उनको मध्यनाम र थर पनि नदिइएको र ‘लक्ष्मी’ भन्ने नाम मात्र दिइएको थियो (अवस्थी, पूर्ववत् कृति)।

त्यसैताका उनले आफ्नो घरमा ट्युसन पनि पढाउन थालेका थिए। उनले प्राइभेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बिए पढे र त्यहींबाटै बिएल पनि पास गरे। यति बेला उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले।

देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत् जनमाझ पनि आए। उनका बाँचुन्जेलका साथी कविता र चुरोट भए। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैनथे।

सोर वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो। देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए। दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै उनले ‘मुनामदन’ लेखे। अङ्ग्रेजी साहित्यको स्वच्छन्दतावादी धाराबाटै मुख्य उत्प्रेरणा पाई नेपाली कविताका क्षेत्रमा उदाएका देवकोटाले सर्वप्रथम गाथा (ब्यालेड) कै ढाँचामा रचिएको ‘मुनामदन’ लाई नेपाली खण्डकाव्यपरम्परामा प्रस्तुत गरे। (अवस्थी, पूर्ववत् कृति)

देवकोटाले गरिबीका कारण दैनिक अठार घण्टा पनि ट्युसन पढाए। देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफूचाहिँ अति अव्यावहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय भएको थियो। १९९२ सालमा देवकोटाका बाबु तिलमाधवको मृत्यु भयो। मातृवियोगको एक वर्ष नपुग्दै भएको पितृवियोगको यस पीडाले लक्ष्मीप्रसादको हृदय निकै तनाव थप्यो। १९९६ सालमा अंशबन्डा गरिएपछि आफ्ना जहान एवम् बालबच्चाको लालनपालनको पारिवारिक दायित्व लक्ष्मीप्रसाद देवकोटामा थपिएको थियो तर यस अवधिमा उनको न कुनै निश्चित जागिर थियो न त नियमित आय भइरहने अर्को कुनै पेसा नै अँगालेका थिए। (अवस्थी, पूर्ववत् कृति)

साहित्य सिर्जनाका दृष्टिकोणले देवकोटाको जीवनको ३५ वर्षदेखि ४० वर्षसम्मको समयावधि उल्लेख्य रह्यो। २००० सालमा देवकोटा ‘नेपाली भाषानुवाद परिषद्’ मा नेपाली पुस्तक लेखकका रूपमा जागिर सुरु गरे।

यसैबिच २००१ सालमा देवकोटाले ‘लूनी’ खण्डकाव्यको रचना गरे। यसमा नेपाली लोकलयको प्रयोग गरिनाका साथै नेपालका उत्तरतर्फको हिमाली वा उच्च पहाडी प्रकृति र जनजातीय संस्कृतिको चित्रण गरिएको छ।

२००२ सालमा देवकोटाले नेपाली साहित्यमा उल्लेख्य योगदान दिने महाकाव्यहरू ‘शाकुन्तला’ र ‘सुलोचना’को रचना गरे। २००२ मा देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्यको रचना गरे। यस खण्डकाव्यमा दोस्रो विश्वयुद्धकालीन परिवेशको छाया परेको र कथानकचाहिँ प्रथम विश्वयुद्धकालीन रहेको नेपालका मध्यपहाडी भेगका जनजीवनको प्रतिनिधित्व गर्ने खालको विषयवस्तुको उपयोग गरेका छन् (अवस्थी, पूर्ववत् कृति)। 

२००३ मा रचेको अर्को उल्लेख्य खण्डकाव्य ‘म्हेन्दु’ हो। यसमा हिमाली भेगकी केटी र सहरिया केटाबिचको अन्तर्जातीय आत्मिक प्रेमलाई नै विषयवस्तु बनाइएको छ।

२००४ सालमा त्रिचन्द कलेजको प्राध्यापन पेसा छोडेर भारत प्रस्थान गर्नु देवकोटाको जीवनको उल्लेख्य परिघटना थियो। नेपालको प्रजातान्त्रिक आन्दोलनकै संलग्नता र सक्रियताका लागि देवकोटा भारत प्रवासमा गएका थिए। भारत प्रवासकै बेला देवकोटाले ‘युगवाणी’ पत्रिकाको सम्पादन गरे। यसै बेला देवकोटाले नवरस, कटक, मैना, वसन्ती-एक, सृजामाता, नेपाली मेघदूत, वैराग्य लहरी, आनन्दशतक, झञ्जावर्णन, पहाडी पुकार, नालालगायतका खण्डकाव्यहरूको रचना गरे। 

उनी बनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए। त्यसपछि देवकोटा आफूलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए।

देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो। त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे। उनले बगरेसँग पनि उधारो नै मासु लिन्थे। देवकोटा जुवातास र पासाका पनि पारङ्गत थिए साथै उनी गीत पनि गाउँथे, हार्माेनियम र तबला पनि बजाउँथे। उनको सोखको अर्को साधन साइकल थियो।

देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो। उपचारका क्रममा डा. वर्क हिलले देवकोटा नेपालमा जन्मनु भूगोलको गल्ती भएको टिप्पणी गरेको पाइन्छ।

लहडी भएकाले देवकोटा बिए, बिएल पूरा गरेको दश वर्षम्म जागिरमा छिर्न सकेनन्। अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए। उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो। त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए। बिए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए।

देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए तर त्यहाँ उनी चार महिना मात्र टिके। त्यसपछि उनले कमर्स कलेजमा पढाउन थाले। त्यहाँ पनि उनी तीन महिना मात्र टिके। उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निकै पहिले पुग्थे, कहिले समयभन्दा धेरै ढिलो पुग्थे।

देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरेका थिए। राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए। देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा समेत मनोनित भए। त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो।

२०१४ मा देवकोटा नेपाल एकेडेमीका साहित्य विभागतर्फका सदस्यमा मनोनित भए। आफूलाई राजनीतिबाट परपर राख्दै साहित्यिक संसारमा नै अग्रसर तुल्याइरहेका बखत २०१४ साल साउन ११ गते उनी डा. केआई सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिमण्डलमा त्यस युगको सर्वाधिक विद्वान व्यक्तित्व मानिई शिक्षा तथा स्वायत्त शासन मन्त्रीका रूपमा नियुक्त भए (अवस्थी, पूर्ववत् कृति, पृ. ५६–५७)।

नेपाल एकेडेमीका सदस्य र मन्त्री पदमा बहाल हुनुभन्दा पहिला उनलाई सधैं आर्थिक अभाव भई नै रह्यो। एकेडेमीको सदस्य भएपछि पनि स्वास्थ्योपचारको आवश्यकताका कारण उनलाई आर्थिक सङ्कट भइरह्यो। देवकोटा अफ्रोएसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत संघको तासकन्द गए।

अझ तत्कालीन सोभियत संघको भ्रमण (२०१५) बाट फर्केपछि उनको एकेडेमीको तलब रोक्का हुँदा र स्वास्थ्य झन् प्रतिकूल भई उपचारका निम्ति धनको झन् आवश्यकता पर्‍यो। (अवस्थी, पूर्ववत् कृति, पृ. ५५)

देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए। त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो। पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए।

देवकोटा दूरदर्शी थिए। कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्दा धेरैले उनलाई तरङ्गी भने तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घण्टाअघि रुसको रकेट चन्द्रलोक पुगेको थियो। देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए।

देवकोटाका खण्डकाव्यको विवरण र वर्गीकरण

खण्डकाव्यकार लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्ध आदि प्रायः सबै विधामा कलम चलाएका छन्। 

लक्ष्मीप्रसाद देवकोटाले आफ्नो १९६६ सालदेखि २०१६ सालसम्मको ५० वर्षे जीवनकालमा १९७६ सालदेखि २०१६ सालसम्मको ४० वर्षे कवितायात्रा गरेका र यस समयावधिमा दुई हरफे मुक्तकदेखि महाकाव्यसम्म कलम चलाएका छन् अर्थात् कविताको लघुतम रूपदेखि बृहत् रूपसम्मका सबै उपविधामा उनले कृतिहरू रचना गरेको पाइन्छ।

देवकोटाले नेपाली कविताको स्वच्छन्दतावादी धाराको संस्थापन र विकास गरी त्यसलाई उत्कर्षमा पुर्‍याउने काममा उल्लेख्य योगदान दिएका छन्। फुटकर कविताभन्दा लामो र महाकाव्यभन्दा छोटो मझौला आयामको तर पुस्तकाकार स्वरूपको आख्यानात्मक वा प्रबन्धात्मक संरचना भएको कवितात्मक रचना खण्डकाव्य हो। 

देवकोटाले साहित्यका प्रायः सबै विधामा कलम चलाए पनि उनको लेखनको महत्त्वपूर्ण विधा खण्डकाव्य हो। यहाँ उनका खण्डकाव्यहरूको कालक्रमिक विवरण एवम् एवम् तिनीहरूको वर्गीकरण गरिएको छ।

देवकोटाका खण्डकाव्यको विवरण

खण्डकाव्यकार लक्ष्मीप्रसाद देवकोटाका ३६ वटा खण्डकाव्यकृतिहरूको विवरण यसप्रकार छ: मुनामदन, राजकुमार प्रभाकर, तिप्लिङ्गी, लूनी, कुञ्जिनी, दुष्यन्त–शकुन्तलाभेट, म्हेन्दु, सीताहरण, रावणजटायुयुद्ध, तुषारवर्णन, रामायण (शोकगाथा), वसन्ती–दुई, मायाविनी सर्सी, शृङ्गााररस, शान्तरस, बीभत्सरस, भयानकरस, वीररस, हास्यरस, अद्भुतरस, करुणरस, कटक, मैना, वसन्ती–एक, सृजामाता, नेपाली मेघदूत, वैराग्य–लहरी, आनन्दशतक, झञ्झावर्णन, पहाडी पुकार, नाला, आँसु, भ्याकुर नारान, नासमझको गाँठो, घोडचढी र नयाँ सत्यकलिसंवाद।

देवकोटाले रचना गरेका ३६ वटा खण्डकाव्यस्तरका यी कृतिहरू कुनै संरचनागतरूपमा पूर्ण खण्डकाव्य हुन् भने कुनै खण्डकाव्यस्वरूपमा लामा कविताहरू हुन्।

देवकोटाका खण्डकाव्यका अध्येता महादेव अवस्थीले २००४ सालमा रचना गरी २०२५ सालमा प्रकाशित भएको नवरसभित्रका लामा कविताहरू शृङ्गार रस, शान्त रस, बीभत्स रस, भयानकरस, वीररस, हास्यरस, अदुभुतरस, करुणरसलाई, लामो कविता नालालाई, मनोरञ्जन (२०२४) कवितासङ्ग्रहमा सङ्गृहीत भ्याकुर नारान, नासमझको गाँठो र घोडचढीलाई, बनारस प्रवासकालमा २००५ सालमा लेखेका लामा कविता पहाडी पुकार र आँसुलाई खण्डकाव्य ठहर्‍याएर विश्लेषण गरेका छन् (अवस्थी, पूर्ववत् कृति पृ. ८६–८७)।

यहाँ पनि अवस्थीकै निक्र्योलअनुरूप खण्डकाव्यहरूको विवरण प्रस्तुत गरिएको छ। देवकोटाका मरुभूमि, स्वाँचा र तथागत गरी तीन खण्डकाव्यहरूको पाण्डुलिपि सुरक्षित रहे पनि हालसम्म प्रकाशित नभएको कुरा अनुसन्धाता अवस्थीले बताएका छन् (अवस्थी, पूर्ववत् कृति)। देवकोटाले रचना गरेका र उनको जीवनकाल एवम् जीवनकालपश्चात् प्रकाशित भएका खण्डकाव्यकृतिहरूको सङ्ख्या ३६ रहेको छ।

देवकोटाका खण्डकाव्यकृतिहरूको वर्गीकरण

गुणात्मक र परिमाणात्मक दृष्टिकोणले देवकोटाका खण्डकाव्यहरू विभिन्न प्रकारका रहेका हुनाले उनका खण्डकाव्यहरूलाई विविध आधारमा वर्गीकरण गर्न सकिन्छ। उनका खण्डकाव्यहरूलाई मुख्यतय विषयवस्तु र संस्कृतिका आधारमा वर्गीकरण गर्न सकिन्छ। यद्यपि उनका खण्डकाव्यहरूलाई आयाम, शीर्षक विधान, लयविधान, साहित्यिक रस, प्रकृति र विविध आदि आधारमा पनि वर्गीकरण गर्न सकिन्छ।

आयाम वा खण्डकाव्यगत लम्बाइका आधारमा एक सयभन्दा कम श्लोक भएका छोटा खण्डकाव्यहरू पहाडी पुकार, नयाँ सत्यकलिसंवाद, भ्याकुर नारान र घोडचडी हुन् भने एक सयभन्दा बढी श्लोक भएका खण्डकाव्यहरू आनन्दशतक, नाला, राजकुमार प्रभाकर, झञ्झावर्णन, नेपाली मेघदूत, वसन्ती–एक, रावणजटायुयुद्ध, मैना, नासमझको गाँठो, तिप्लिङ्गी, म्हेन्दु, लूनी, सीताहरण, कटक, तुषारवर्णन, वसन्ती–दुई, कुञ्जिनी, दुष्यन्तशकुन्तलाभेट, मायाविनी सर्सी, नवरस, सृजामाता, मुनामदन र वैराग्यलहरी हुन्।

लक्ष्मीप्रसाद देवकोटाले आफूले रचना गरेका खण्डकाव्यहरूका शीर्षकको नाम मुख्यतयः विषयवस्तु, पात्र, प्रकृति आदिका आधारमा राखेका छन्।

कटक, नाला, आँसु र नासमझको गाँठो खण्डकाव्यका शीर्षक विषयवस्तुका आधारमा राखिएका हुन् भने पात्रका नामबाट राखिएका खण्डकाव्यका शीर्षकहरूमा मुनामदन, राजकुमार प्रभाकर, लूनी, तिप्लिङ्गी, कुञ्जिनी, म्हेन्दु, मैना, वसन्ती एक, वसन्ती दुई, सृजामाता, मायाविनी सर्सी, भ्यागुर नारान र घोडचढी रहेका छन्।

पौराणिक पात्र र सन्दर्भका आधारमा राखिएका खण्डकाव्यका शीर्षकहरूमा दुष्यन्तशकुन्तलाभेट, रावणजटायु युद्ध, सीताहरण र नयाँ सत्यकलिसंवाद रहेका छन् भने प्रकृति र अन्य आधारमा राखिएका शीर्षकहरूमा तुषारवर्णन, झञ्झावर्णन, नेपाली मेघदूत, वैराग्यलहरी, आनन्दशतक, पहाडी पुकार आदि रहेका छन्।

विषयवस्तुका आधारमा देवकोटाका खण्डकाव्यहरू मुख्यतः सामाजिक तथा लोकआख्यानात्मक, पौराणिक, ऐतिहासिक र प्राकृतिक एवम् भावनात्मक गरी चार कोटिमा वर्गीकरण गर्नु उपयुक्त हुन्छ।

उनका सामाजिक तथा लोकआख्यानात्मक खण्डकाव्यहरूमा मुनामदन, राजकुमार प्रभाकर, लूनी, कुञ्जिनी, म्हेन्दु, वसन्ती एक र वसन्ती दुई रहेका छन् भने पौराणिक विषयवस्तुमा लेखिएका खण्डकाव्यहरूमा दुष्यन्तशकुन्तलाभेट, रावणजटायुयुद्ध, सीताहरण, सृजामाता र मायाविनी सर्सी रहेका छन्।

ऐतिहासिक विषयवस्तुमा आधारित देवकोटाका खण्डकाव्य कटक हो भने प्रकृति एवम् अन्य भावनात्मक विषयवस्तुमा लेखिएका खण्डकाव्यहरूमा नेपाली मेघदूत, नयाँ सत्यकलिसंवाद, मैना, वैराग्यलहरी, आनन्दशतक, आँसु, तुषारवर्णन, तिप्लिङ्गी, झञ्झावर्णन, नाला, नासमझको गाँठो, घोडचढी र भ्यागुर नारान रहेका छन्।

जातीय सांस्कृतिक आधारमा देवकोटाका खण्डकाव्य

खण्डकाव्यकार देवकोटाले आफ्नो ४० वर्षे कविताकाव्य लेखनको अनवरत यात्रामा विषयवस्तु, लय, आयाम, भावना आदि आधारमा विविध प्रवृत्तिका खण्डकाव्यहरूको रचना गरेका छन्। जातीय संस्कृतिलाई उजागर गर्ने प्रवृत्तिका दृष्टिकोणले उनका धेरै खण्डकाव्यहरू महत्वपूर्ण छन्। उनले आफ्ना खण्डकाव्यहरूमा जातीय प्रतिनिधित्व गर्ने पात्रहरूको चयन उल्लेख्य रूपमा गरेको पाइन्छ।

जातीय सन्दर्भको अभिव्यक्तिका दृष्टिले हेर्दा खण्डकाव्यकार देवकोटाका मानव पात्रहरू प्रायः ठकुरी/छेत्री जातका (राजकुमार प्रभाकर: प्रभाकर, मुनामदन: मदन-मुना, कुञ्जिनी: ठालूसिंह र गोरे, वसन्ती-एक: वनवीर, वसन्ती, असर्फी, वसन्ती-दुई: वनवीर, वसन्ती, राजकुमार, घोडचढी: जयपाल बाबुसाहेब र उनकी कप्तान्नी आदि) र तामाङ/शेर्पा/भोटे जातका (मुनामदन: च्याङ्वा/भोटे/लामा, लूनी: शेर्पा साम्बा सोङ्गो र अन्य लामाहरू, म्हेन्दु: गम्बोजी, म्हेन्दु आदि) देखिन्छन्। (अवस्थी, पूर्ववत् कृति, पृ. ३९२)

१९९२ सालमा पहिलोपटक प्रकाशित र २०१५ सालमा संशोधित मुनामदन सामाजिक तथा नेवारी लोकआख्यानमा आधारित खण्डकाव्य हो। मुनामदन खण्डकाव्यको कथावस्तु एवम् चरित्रचित्रणका निम्ति देवकोटाले केही प्रेरणा र प्रभाव प्रसिद्ध नेवारी लोकगाथा ‘जि वया ला लछि मदुनि’ (म आएको महिना दिन पनि भएको छैन) बाट लिएको देखिन्छ।

मुनामदनमा नेपाली जातीय सांस्कृतिक परिवेशको चित्रण पाइन्छ। यस खण्डकाव्यमा छेत्रीय जातको मदनले आफ्नो परम्परागत संस्कारगत सोच कै कारण आमा र श्रीमतीलाई सुनका गहना लगाइदिनका लागि पैसाको जोहो गर्न भोट जानु, मदन जङ्गलमा राति बिरामी हुँदा बौद्ध परम्पराको भोटे जातको च्याङ्वाले उपचार गरेर बचाउनु, घरमा मदनकी आमा र श्रीमतीलाई कागले अशुभ खबर सुनाउनु, मदन घर जाँदा मदनकी आमा र श्रीमती दुबैको मृत्यु हुनु र अन्तिममा मदनको समेत मृत्यु हुनुजस्ता घटनाक्रमलाई प्रस्तुत गर्दा विविध जातीय सांस्कृतिक परिवेशलाई चित्रण गरिएको पाइन्छ।

राजकुमार प्रभाकर खण्डकाव्यमा मथुरावती नगरीका छेत्रीय कुलका राजारानी सुदर्शन र किशोरीको कथा रहेको छ। अत्यधिक कल्पनाशीलता तथा सौन्दर्य र प्रेमप्रतिको आकर्षण दर्शाउने प्रस्तुत खण्डकाव्यमा हाम्रो समाजमा रहेका जादु, टुनामुनाजस्ता अलौकिक शक्तिप्रतिको विश्वास, छेत्रीय राजा तथा राजकुमारहरूको भोगविलासको संस्कारलाई देखाइएको छ। दन्त्यकथात्मक पृष्ठभूमिमा लेखिएको यस खण्डकाव्यमा नेपाली जातीय सांस्कृतिक प्रस्तुति त्यति भएको पाइँदैन।

तामाङ र शेर्पा संस्कृतिको प्रस्तुति गरिएको देवकोटाको २००१ सालमा रचना गरिएको लूनी जातीय संस्कृतिलाई प्रस्तुत गर्ने महत्त्वपूर्ण खण्डकाव्य हो। यस खण्डकाव्यमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा रहेको शेर्पा समुदायको प्राचीन रहनसहनलाई चित्रित गरिएको छ। यस खण्डकाव्यमा देवकोटाले मुख्य पात्र लूनीलाई केन्द्रित गर्दै हेलम्बुको प्राकृतिक छटा, त्यहाँको तत्कालीन शेर्पा परिवार र तिब्बतको ल्हासाको शाही परिवारको ठाँटबाँट, सामाजिक परिवेश तथा रीतिरिवाजको सजीव चित्रण गरेका छन्।

नेपालको राजधानी काठमाडौं नजिकैका मध्यपहाडी इलाकामा बसोबास गर्ने तामाङ जनजातिका समाजमा केही मात्रामा देखा परेको शैक्षिक उन्मुखत र समाजसुधारको चेतना तिप्लिङ्गी खण्डकाव्यमार्फत व्यक्त भएको छ (अवस्थी, पूर्ववत् कृति, पृ. १८९)। नेपाली लोकलय, पहाडी प्रकृति र ग्रामीण जीवनका मोहक, सुन्दर र स्वच्छ छविबाटै विशेष रूपमा प्रभावित भई देवकोटाले तिप्लिङ्गी खण्डकाव्यको रचना गरेको बुझिन्छ।

झिल्टुङतिर लोकाख्यानका रूपमा प्रसिद्ध रहेका कथावस्तुलाई रचनाको प्रेरणा मानेर सिर्जित कुञ्जिनी खण्डकाव्यमा झिल्टिुङ, कोल्पुकिनारा, गजुरीजस्ता ठाउँहरूको सामाजिक प्रस्तुतिका साथै गोरे र कुञ्जिनीको पवित्र प्रेमलाई देखाइएको छ। 

यस खण्डकाव्यमा राहुत थरको गोरे, सिंह थरकी कुञ्जिनी, कुञ्जिनीको बुबा ठालु सिंह, छेत्री जातको बहादुर खड्का, मानवीर गुरुङ, झिल्के दमाई आदि विविध जातीय परिवेशका पात्रहरू आएका छन्। यिनीहरूको व्यवहार, यिनीहरूको बसोबास भूगोल, खानपान, भाषा तथा भेषभूषाको प्रस्तुतिमा जातीय परिचय झल्किन्छ।

म्हेन्दु खण्डकाव्य नेपालको गोसाइस्थानतिरका तामाङ शेर्पा समाजको संस्कृति, बोलीचाली तथा रीतिरिवाजका पृष्ठभूमिमा रचना गरिएको खण्डकाव्य हो। प्रथमपटक २०१५ सालमा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित भएको लक्ष्मीप्रसाद देवकोटासिर्जित प्रस्तुत खण्डकाव्यको विषयवस्तुको स्रोत गोसाइस्थानतिरको तामाङ शेर्पा समाज नै हो।

तामाङ लयको प्रयोग गरी तामाङ सेर्पा संस्कृतिको प्रयाप्त प्रभाव ग्रहण एवम् यस प्रभावको प्रस्तुति गरेर रचना गरिएको यस खण्डकाव्यमा स्थानीय परिवेश तथा जातीय पहिचानका प्रशस्त सङ्केतहरू प्रस्तुत गरिएका छन्।

२००४ सालमा बनारस प्रवासका समयमा रचना गरिएको कटक खण्डकाव्य गोर्खाली वीरहरूको वीरताको बखान गरिएको खण्डकाव्य हो। यसले नेपालको अङ्ग्रेज र नेपाली सेनाका बिचमा १९७१ सालमा भएको ऐतिहासिक युद्धलाई विषयवस्तु र भावभूमि बनाएको छ।

 जुनसुकै जात, धर्म तथा संस्कारको नेपाली भए पनि उनीहरूको साझा संस्कार नेपाली हो। समग्र नेपालीको संस्कार तथा ऐतिहासिक भावभूमिको सार नेपाल हो। हामी नेपालीको साझा पहिचान नेपाली नै हो। कटक खण्डकाव्यमा नेपाल तथा नेपालीको यही साझा राष्ट्रिय तथा वीरतापूण परिचयलाई देखाइएको छ।

२००४ सालतिर लेखिएको र २०३९ सालमा प्रकाशित भएको मैना खण्डकाव्य नेपाली समाजका विश्वास अन्धविश्वास, रीतिरिवाजलाई प्रस्तुत गर्ने कृति हो। यस खण्डकाव्यमा बोक्सी, तन्त्रमन्त्र, छौडो, प्रेतात्मा आदिप्रति गरिने विश्वास, बिरालोप्रतिको धारणा, कुकुर रुँदाको मनोभाव, सर्प, बादललाई हेर्ने सामाजिक दृष्टिकोण आदि सन्दर्भको प्रस्तुति छ। यसप्रकार नेपाली समाजका सांस्कृतिक चेतना, विश्वास–अन्धविश्वासहरूलाई देखाउने महत्त्वपूर्ण खण्डकाव्यका रूपमा मैनालाई लिन सकिन्छ।

निष्कर्षमा देवकोटाले सामाजिक तथा लोकआख्यानात्मक, पौराणिक, ऐतिहासिक र प्राकृतिक सन्दर्भका खण्डकाव्यहरूको रचना गरेका छन्। माथि उल्लेख गरिएका जातीय सांस्कृतिक विषय र चेतनाको प्रस्तुति भएका देवकोटाका मुख्य खण्डकाव्यहरूको विवरण र विश्लेषणका आधारमा देवकोटाद्वारा सिर्जित मुनामदन, लूनी, तिप्लिङ्गी, कुञ्जिनी र म्हेन्दु गरी पाँचवटा खण्डकाव्यमा जातीय सांस्कृतिक सङ्केतनको अभिव्यक्ति उल्लेख्य रूपमा भएको पाइन्छ।

 देवकोटाका अरू खण्डकाव्यहरूमा पनि छिटफुट रूपमा विभिन्न जातिका पात्रहरूको उपस्थिति एवम् केही सांस्कृतिक झलकहरूको सङ्केत नपाइने होइन। यद्यपि तिनीहरूको आख्यानसन्दर्भको उद्देश्य जातीय संस्कृतिइतर रहेकाले यहाँ माथि उल्लेख गरिएका पाँचवटा खण्डकाव्यबाहेक अरू खण्डकाव्यको अध्ययन तथा विश्लेषण गरिएको छैन।

प्रकाशित: २५ कार्तिक २०८० ०१:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App