कला

उपकुलपति कथाकार डा. भण्डारीको ‘मयँगाँठो’ अन्तरक्रिया

खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीको कथासङ्ग्रह ‘मयँगाँठो’ माथि परिचर्चा तथा अन्तरक्रिया भएको छ।

विद्यार्थीका जिज्ञासा लेखकको जवाफ कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय मावि लक्ष्मणपुर बाँसगढी बर्दियामा यो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले साहित्यिक गतिविधिले नयाँ सर्जक जन्माउने भएकाले यस्ता कार्यक्रमहरू विद्यालय तथा विश्वविद्यालयहरूमा गर्नुपर्ने बताउँदै पछिल्लो समय बाँके-बर्दियामा साहित्यिक गतिविधिहरू बढ्न थालेको देख्दा खुसी लागेको बताए।

मयँगाँठो कथासंग्रहको समीक्षा गर्दै समालोचक विष्णु पौडेलले डा. भण्डारीका कथाहरू समसामयिक विषयवस्तुमा केन्द्रित रहेको बताउँदै कथाकारले आफ्ना कथाहरूमा मनोविज्ञानलाई प्राथमिकतामा राखेको बताए। उनले भण्डारीमा सन्दर्भ अनुसारको परिवेश र पात्र छनौटमा विशेष क्षमता रहेको बताए।

कार्यक्रमका सभापति तथा विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद तिवारीले नेपालको संविधानले स्थानीय भाषा, कला तथा संस्कृतिलाई महत्त्व दिएबमोजिम पछिल्लो समय स्थानीय पाठ्यक्रमको मर्मअनुसार विद्यालयले लेखकहरूलाई विद्यार्थीहरूसँग अन्तक्रिया गराउने गरेको बताए।

खजुरा प्रज्ञाप्रतिष्ठान बाँकेका उपकुलपति कथाकार डा. भण्डारीले आयोजक संस्थालाई धन्यवाद दिंदै हरेक व्यक्तिसँग भावना हुन्छ, त्यही भावनालाई कलात्मक तरीकाले व्यक्त गर्न सके साहित्य बन्ने भएकाले विद्यार्थीहरूलाई लेख्दा तथा बोल्दा कलाको प्रयोग गर्न सुझाव दिए।

सीताकुमारी चालिसेको सञ्चालन गरेको कार्यक्रममा साहित्यकार तथा ज्ञानोदय बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख चरित्रा शाह, साहित्यकार कृष्णराज अधिकारी, खिमबहादुर खड्का, बलराम सुवेदी, अमृक चौधरी, खेमराज पहारी, सुशिला रावल लगायत तीन सय बढी विद्यार्थीको उपस्थिति रहेको थियाे भने कार्यक्रममा दर्जन बढी विद्यार्थीले कथाकारसँग दुई दर्जन बढी जिज्ञासा राखेका थिए।

प्रकाशित: १९ कार्तिक २०८० ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App