चाडपर्व सकिएको थियो। पछिल्लो सिटमा मौन जोडी बसेका थिए। बस बढेसँगै जोडी खुल्दै गए। युवकले तिमी र महिलाले त भनेर सम्बोधन गर्थिन्। हर्कत भने अनौठो थियो।
बस रोकिएपछि पानी किन्न युवक ओर्लेको मौकामा महिलासँग बात मारेको थिएँ। थरघर सोध्दै मैंले उनीहरूको सम्बन्ध सोधिदिएँ। हडबडाएकी उनले भनिन, ‘भाइ हो।’
अचम्म मानेको मेरो अनुहार पढिन् र हत्तपत्त मितछोरा बनाइन्। त्यसपछि केही सोध्नै परेन। कुरा सपार्न उनले अनेक कुरा गर्न थालिन् र भनिन्, ‘पहिलोपटक काठमाडौं हिंडेकीले साथी लगेको हुँ।’
‘खाना त लालगढमै खुवाउँछ होला?’ छिनछिनमा उनले भन्दै गइन्।
‘हेटौडा बसपार्क नछिराई सोझै निकाल्यो। नयाँ बसपार्क लैजान्छ कि कोटेश्वर?’ बीचबीचमा उनले गरेको कुराले उनी धेरै पटक काठमाडौं गएको प्रष्ट हुन्थ्यो।
उनले व्हाट्सअपबाट चिप्लो घसेर एक पुरुषसँग कुरा गरिन् ‘ड्युटीमा हो कि सकियो।’ यहाँ कस्तो दुख छ। विदेश हो र हरहमेशा नेट लागिरहन्छ।’
सिट नपाएर अगाडि उभिएका जँड्याहाले एक किशोरलाई रोक्दै भनेका थिए,‘बसभित्र चुरोट खान मिल्दैन, कति जनालाई वान्ता हुन सक्छ।’
किशोरले जवाफ फर्काएका थिए,‘खाएन भने मलाई नै वान्ता भइहाल्छ।’
निकैबेर छटपटिएपछि किशोरले गोटीहरू निले। सीट छाडेर बसको प्यासेजमा उत्तानो परेर सुते।
‘हेर त शहरमा पढछु भनेर यत्ति सानै उमेरमा बुवाआमालाई धोका दिएको।’ ती महिलाले प्वाक्क बोलिन्।
‘यहाँ त विदेशमा पठाएर कतिपय श्रीमतीले र घरमा राखेर कतिपय श्रीमानले धोका दिइरहेका छन्। बालबालिकाले त जस्तो देख्यो त्यस्तै गर्ने न हुन्।’ भन्न मन लागेको थियो तर सकिन।
-मनोहर पोखरेल
प्रकाशित: ९ कार्तिक २०८० ०१:२२ बिहीबार