वास्तवमा उसको सक्कली नाम अर्कै थियो। तर उसले आफ्नो नाम यहाँ शरद् राखेको थियो। संसारमा अनेकौं नाम छन्। त्यसमध्ये जुन नाम पनि दिन सकिन्थ्यो वा अरू कुनै नौलो नाम पनि दिन सकिन्थ्यो। तर आजकल उसले आफूलाई शरद् भनेर चिनाउने गथ्र्यो। उसले किन आफ्नो नाम शरद् राख्यो भने उसलाई शरद् ऋतु मन पथ्र्याे र ऊ शरद् ऋतुमा नै जन्मिएको पनि थियो।
ऊ अध्यापनमा लागेको करिब सैंतीस वर्षपछि सेवाबाट निवृत्त भयो। मनमा जोसजाँगर भने बाँकी नै थियो। लेख्ने, पढ्ने काम त गर्थ्याे नै। तर पनि कुनै पेसामा आबद्ध भएझैं समयको परिपालना र नियममा चल्न भने कतैको कर नभईकन सकिँदैनथ्यो। केही दिन त यसै बित्यो। केही दिनपश्चात् नै एक ठाउँबाट फेरि उसलाई जोडतोडले अध्यापनका लागि डाक्न थालियो। पहिला त यो पेसाबाट हात धोइसकें। अब म अध्यापन गराउन्न, आफै स्वाध्ययनमा लाग्छु भन्यो। तर हितैषीहरूको आग्रहले गर्दा फेरि ऊ आंशिक (पार्टटाइम) शिक्षकका रूपमा अध्यापनमा गयो।
ऊ त्यस शैक्षिक संस्थामा गएपछि संस्थाका प्रमुखले हार्दिकतापूर्वक उसको स्वागत गर्नुभयो। उसको दैनिकी पूर्ववत् जस्तो नभई आंशिक रूपमा चल्न थाल्यो। जसले गर्दा नुवाइधुवाइ, दैनिकको दाह्री कटाइले फेरि जीवन नियमबद्घ रूपमा परिणत भयो। ऊ विचार गर्न थाल्यो–जागिरको अवकाशपछिको जीवनमा पनि सक्रिय नै हुनुपर्ने रहेछ। त्यसैले ऊ सक्रिय भयो। समयको अन्तरालसँगै उसमा फेरि अध्यापन रुचिको विषय बन्न पुग्यो।
मानिसको जीवन के हुन्छ, कसैलाई पनि थाहा हुँदैन। जसले उसलाई विश्वास गरेर आफ्नो संस्थामा भित्र्याउनुभयो, त्यस संस्थाको प्रमुख बनिदिन आग्रह पनि गर्नुभयो। यो दोस्रो आग्रहलाई भने उसले स्वीकार गरेन।
आंशिक रूपमा भने ऊ कार्यरत नै रह्यो। एक दिन उहाँ बिरामी हुनुभयो भन्ने खबर आयो। दिन प्रतिदिन उहाँको स्वास्थ्य जटिल हँुदै गयो। अकस्मात् उहाँको निधन भयो। उहाँको निधनले ऊ मर्माहत भयो। उहाँको परिवारप्रति उसको सहानुभूति बढेर गयो। समयको अन्तरालसँगै त्यस संस्था पनि उहाँको अनुपस्थितिले गर्दा शिथिल हुँदै गयो। राम्रो मानिस, राम्रो संस्थालाई धर्तीमा टिक्न गाह्रो हुने रहेछ। त्यति मात्र कहाँ हो र? गतिलालाई कालले पनि चाँडो लाने रहेछ भनेर उसले विचार गर्न थाल्यो। राम्ररी चलिरहेको संस्था अर्को संस्थामा गएर विलय भयो। त्यो संस्थाको विलयपछि शरद् पनि फुर्सदिलो भयो। ऊ फुर्सदिलो भएको थाहा पाएर नै अर्को संस्थाले उसलाई डाक्यो। शरद् पुन अर्को शैक्षिक संस्थामा बाँधिन पुग्यो।
शैक्षिक संस्था वासस्थान नजिकै थियो। अध्यापन कार्य रमाइलोसँगै बितिरहेको थियो। वास्तवमा अध्यापन अध्ययनले मानिसमा स्फूर्ति ल्याउने रहेछ। शरद्लाई पनि त्यस्तै भइरहेको थियो। रमाइलो जिन्दगी बिताउन माटो र बच्चासँग खेल्नबाट विमुख हुनु हुँदैन। उसलाई माटो र बच्चासँग खेल्न खुब मन पथ्र्यो। पढाउने विद्यार्थी उसका लागि बच्चासरह नै हुन्थे। बोटबिरुवा र फूलले गर्दा घरवरपर रमाइलो वातावरण थियो। यो उसको माटोप्रतिको प्रेम थियो।
समय बित्दै थियो। सरकारी र प्राइभेट शैक्षिक संस्थाबिच धेरै नै कुरामा अन्तर हुने उसले पायो।
सरकारी शैक्षिक संस्थामा नियम, कानुनभन्दा बाहिर नगए बाँच्न सकिने, केवल आफ्नो अध्यापनको उत्तरदायित्व निभाए पुग्ने। तर, निजी शैक्षिक संस्थामा सञ्चालक तथा मालिक सबैलाई रिझाउन सक्नुपर्ने। शिक्षकहरूको तलब पनि बेलामा नदिने। शिक्षकलाई अनावश्यक रूपमा अलमल्याएर मिटिङमा राख्ने आदि। उसको अनुभवमा पनि ठिक त्यस्तै भयो। एकदिन शरद्लाई आंशिक शिक्षकबाट पूर्णकालीन शिक्षण गरिदिनुपर्यो भनेर संस्था प्रमुखले भने। त्यसका लागि ऊ तयार भएन। ऊ त्यो अवकाशको जीवनमा त्यसो गर्न चाहँदैनथ्यो।
समय अध्यापनमा बिति नै रहेको थियो। श्यामा नामकी छात्रा निकै राम्री थिइन्। उनको क्रियाकलापले ऊ जिज्ञासु हुन थालेको थियो। उनी बुझ्न सक्ने क्षमतावान् थिइन् तर अनुशासनमा भने निकै कमजोर। प्रायः विद्यार्थीले आफ्नो कमजोर अनुशासनको सक्कली रूप देखाउँदै थिए। योग्यता नपुगे पनि विद्यार्थीलाई माथिल्लो कक्षामा ल्याइएको अनुभव उसले गर्दै थियो।
विद्यार्थीहरू त्यो शैक्षिक संस्था छोडेर अर्को शैक्षिक संस्थामा जालान् भन्ने पिर मालिक र व्यवस्थापकमा रहेको थियो। अर्थोपार्जनका लागि मात्र ध्यान दिइएको थियो। भविष्यका राष्ट्रका कर्णधारलाई उचित शिक्षा दिन सकिएको थिएन। केवल आर्थिक लाभ नै मुख्य उद्देश्य थियो। सामूहिक प्रयास भए जस्तोसुकै समस्याको पनि समाधान हुन सक्थ्यो। तर त्यहाँ सामूहिक प्रयासलाई लत्याएर आर्थिक पक्षलाई मात्र ध्यान दिने गरेको पाइयो।
यस विषयले शरद् धेरै चिन्तित भयो। मालिक र व्यवस्थापकलाई पनि यो कुरा राख्यो। विद्यार्थीहरूको मनोवैज्ञानिक पक्षको अध्ययन गर्न पनि उसलाई मन लाग्यो। ऊ जति चिन्तित थियो, व्यवस्थापक र मालिक भने यस कुराले अलिकति पनि चिन्तित थिएनन्।
यद्यपि ऊ एकलव्यले झैं विद्यार्थीहरूको आनीबानी र पढाइ सुधार्न कसरी सकिन्छ भनेर अनुसन्धान गर्न थाल्यो। उसले एक एक विद्यार्थीसँग अन्तर्वार्ता लिन थाल्यो। त्यसमध्ये श्यामा, राजकपुर, विकास र सीमासँग हेलमेल बढायो र प्रत्येकको आनीबानी, परिवार, आर्थिक, सामाजिक अवस्थाबारे बुझ्न थाल्यो। यी चार विद्यार्थीको चरित्र र यिनीहरूको परिवारबारे उसले थाहा पाएको कुरा निम्नानुसार थियो:
श्यामा जसका बुबा विदेशमा काम गर्नुहुन्थ्यो। आमा उनीसँग सँगै थिइनन्। उनकी आमा बेग्लै बस्थिन्। उनी मामाघरकी हजुरआमासँग बस्थिन्। श्यामाको भनाइअनुसार मामाघरकी हजुरआमा उनलाई करकर गर्थिन्। उनी हजुरआमालाई मन पराउँदैनथिन्। तर बाध्य भएर उनीसँगै बस्नुपरेको छ भन्थिन्। श्यामाका एउटा मामा पनि थिए। उनलाई धेरै माया गर्थे। उनीभन्दा दुई गुना जेठा। तर तीस वर्ष नपुग्दै उनको मृत्यु भयो। मामाको मृत्यु भएको कुरा बारम्बार दोहोर्याएर श्यामा दुःख प्रकट गर्थिन्। उनलाई बाबुआमासँगै बस्न नपाएकोमा पीडा भएको थियो। श्यामा प्रायः सोचमा मग्न हुन्थिन्। प्रायः कक्षाकोठामा कहिले पेट कहिले टाउको दुख्यो भनेर सुत्थिन्। किन सुतेको भनेर सोध्दा फिमेल प्रोब्लम भन्थिन्। उनको क्रियाकलाप यस्तै थियो।
अर्को विद्यार्थी थियो राजकपुर। उनका बुबा आर्मीमा काम गथ्र्यो। कहिलेकाहीं मात्र घरमा आउँथ्यो। आमाको भने काम थिएन, घरमै बस्थिन्। राजकपुर बाबुुसँग साह्रै डराउँथ्यो।
बाबु आएका बेला ऊ घरमा नै बसेर पढेको बहाना गथ्र्यो तर बाबु नभएका बेला साथीहरूसँग बाहिर बरालिन्थ्यो। ऊ केटी साथीहरूसँग नजिक हुन चाहन्थ्यो। उसको केटा साथीहरूसँग बारम्बार झगडा परिरहन्थ्यो। कक्षामा उसको पनि त्यति ध्यान हुँदैनथ्यो।
चञ्चले स्वभावको अर्को विद्यार्थी थियो–विकास। ऊ र श्यामा निकै मिल्थे। ऊ प्रायः कक्षाकोठामा श्यामाको नजिक बस्थ्यो र शिक्षकको आँखा छली जिस्किन्थ्यो। उनीहरू गफ गरिरहन्थे। विकास आफ्ना कुरा लुकाउने खालको थियो। शरद् ऊसँग धेरै कुरा बुझ्न चाहन्थ्यो तर ऊ आफ्ना घरायसी कुरा केही भन्न चाहँदैनथ्यो। उसका बुबाआमा दुवै वैदेशिक रोजगारीमा थिए र ऊ नजिकको आफन्तकहाँ बस्ने कुरा साथीहरूबाट शरद्ले थाहा पाएको थियो।
सीमा अर्की गम्भीर प्रकृतिकी केटी थिइन्। उनी प्रायः छुट्टै बेन्चमा एक्लै बस्थिन्। उनलाई पनि कक्षामा सुत्न मात्र मन लाग्थ्यो। प्रायः साथीहरूसँग हेलमेल गर्न उनलाई मन लाग्दैनथ्यो। उनलाई बाटामा एउटा केटासँग हिँडेको शरद्ले धेरैचोटि देखेको थियो। उनको स्वभाव निकै अनौठो थियो। शिक्षकहरूसँग अनावश्यक सवालजवाफ गर्ने उनको बानी थियो।
यी सबै विद्यार्थीका आनीबानीबाट परिचित भएर नै यिनीहरूको चरित्रचित्रण गर्दै बारम्बार शरद् कक्षाकोठामा कथाका माध्यमबाट सम्झाउन खोज्थ्यो। यसरी कथा भनेर उनीहरूलाई सम्झाउँदा उनीहरूको अनुशासन र पढाइमा केही परिवर्तन पनि आउन थालेको थियो। यसरी आफ्ना विद्यार्थीहरूलाई शरद् असल मार्गमा ल्याउँदै थियो।
शिक्षक जस्तो हुन्छ, विद्यार्थी पनि त्यस्तै हुन्छन्। तसर्थ शिक्षकको आनीबानी राम्रो भयो भने विद्यार्थी पनि त्यस्तै बन्छन् भन्ने उसको धारणा थियो। त्यसैले शिक्षक नैतिक, असल चरित्रको हुनुपर्छ भन्ने उसको धारणा थियो। उसले विभिन्न शैक्षिक संस्थाको क्रियाकलापका समाचारहरू विभिन्न सञ्चार माध्यमबाट थाहा पाउँथे। कति संस्था प्रमुखले विद्यार्थीलाई खाजा खुवाउन दिएको रकम हिनामिना गर्थे। शैक्षिक संस्थामा रहेका शिक्षक कर्मचारी सञ्चय कोषमा राख्न छुट्याइएको रकमको हिनामिना गरेका समाचारहरू प्रशस्त देखिन्थे।
तीन दशकभन्दा बढी समय काम गरेको संस्थाका बारेमा उसले समाचार पढ्यो: विद्यालय व्यवस्थापन समितिले विद्यालयका प्रधानाध्यापककै संलग्नतामा अनियमिता भएको आरोप लगाएको थियो।
कोभिड महामारीमा विद्यालय बन्द भएको समयमा समेत परिवहन, शिक्षक बिदाइ, खेलकुद, अतिरिक्त क्रियाकलापलगायतका शीर्षकमा लाखौं खर्च गरिएको थियो। विद्यालय बन्द भए पनि शिक्षक–कर्मचारीले खाजा खाएको बिल पेस गरेर भ्रष्टाचार गरिएको भन्ने व्यवस्थापन समितिले दाबा गरेको जस्ता समाचार देख्दा उसलाई दिक्क लाग्थ्यो। यस्ता शिक्षकबाट प्रशिक्षित विद्यार्थी पनि त्यस्तै हुन्छन् भन्ने उसको विचार थियो।
उसले तीन दशकभन्दा लामो जागिर–कालको बिदाइ कार्यक्रममा बोलेको थियो, ‘म यो संस्थाबाट अवकाश लिए पनि भावनात्मक रूपमा टाढा हुने छैन। म नजिकै हुनेछु। यहाँ फूल फुलेको वास्ना प्रफुल्लित भएर सुँघ्नेछु। यो संस्थाको उन्नतिमा म जहाँ भए पनि रमाउनेछु।’
यति भनेर छोडिएको शैक्षिक संस्थामा भ्रष्टाचार भएको तथा व्यवस्थापन र प्रशासनबिच सिर्जित काटाकाटको स्थितिले शरद् निकै चिन्तित हुन्थ्यो। उसले केही गर्न सक्ने स्थिति थिएन। ऊ त त्यो संस्थाभन्दा बाहिरै थियो।
हाल शरद् जुन संस्थामा कार्यरत थियो, त्यो संस्थाका विद्यार्थीहरूको समग्र क्रियाकलापमा सुधार र शैक्षिक उन्नयन गर्न ऊ अनुसन्धान गर्दै थियो। एकदिन सधैंझैं अध्यापन गराएर ऊ कक्षाकोठाबाट बाहिर निस्क्यो। आज ऊ सन्तुष्ट थियो किनकि विद्यार्थीहरूमा अनुशासन र पढाइप्रति जुन सकारात्मक परिवर्तन आयो, यो सबै उसको अनुभव र अनुसन्धानबाट पत्ता लगाएका कुराको प्रयोगले नै सम्भव भएको थियो।
अब बिस्तारै विद्यार्थीलाई असल, नैतिक र योग्य नागरिक बनाउन सक्छु भन्ने आशासहित ऊ शैक्षिक संस्थाको मूल ढोकाबाट खुसी हुँदै बाहिर निस्कँदै थियो। त्यतिबेलै पालेले शरद्लाई प्रशासकले तपाईंलाई भेट्न खोज्नुभएको छ भन्यो। ऊ फरक्क फर्केर प्रशासकको कोठामा गयो।
प्रिन्सिपल ऊप्रति सकारात्मक थिएनन्। उनले घुमाउरो तरिकाले भन्दै थिए–विद्यार्थीले अरू कसैले पनि भनेको मान्दैनन्। केवल तपाईंप्रति मात्र बफादार छन्। यसरी हामीले स्कुल चलाउन सक्दैनौं। तपाईंले विद्यार्थीहरू भाँडेर अर्को स्कुल खोल्ने विचार त गर्नुभएको होइन? प्रशासकका कुराले उसको मानसपटल तरंगित भयो। उसलाई त्यहाँ काम गर्न पटक्कै मन लागेन। त्यसैले शरद्ले यो संस्था छोड्ने निर्णय लियो। विद्यार्थी सुधारेर असल नागरिक बनाउने योजनामा तुषारापात भएकाले खिन्न भयो। अब अवकाशप्राप्त जीवनलाई अझ राम्रो काम गरी उपयोग गर्न कसरी सकिएला भनी चिन्तन गर्दै ऊ आफ्नो वासस्थानतिर लाग्यो।
प्रकाशित: २७ आश्विन २०८० ०३:३५ शनिबार