कला

कर्मयोगी बद्रीविक्रम पुरस्कार डा.गैरे र अभिलाषीलाई

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले कोहलपुरमा एक भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी साहित्यकार डा.नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषीलाई सम्मान गरेको छ।

कर्मयोगी बद्रीविक्रम थापाको नाममा स्थापित कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङमय पुरस्कार-२०८० बाट डा.गैरे र कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार-२०८० बाट कवि नवीन अभिलाषी जनही नगद राशि २०,००५/- रुपैयाँले सम्मानित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि, गोरखापत्रका पूर्व प्रधानसम्पादक, साहित्यकार श्रीओम श्रेष्ठ रोदनले पश्चिम क्षेत्र साहित्यप्रतिको लोभलाग्दो सक्रियताले आफूहरूलाई थप ऊर्जा मिलको बताए। उनले कर्मयोगी बद्रीविक्रम थापा जहाजहाँ आफ्नो कार्यको सिलसिलामा रहे त्यहींत्यहीं जिल्लामा साहित्य लगायतका सेवासम्बन्धी काममा पुरस्कार स्थापना गर्दै आएको बताए।

कार्यक्रमका विशिष्ट अतिथि तथा प्राज्ञ सनत रेग्मीले सम्मानित स्रष्टालाई बधाई दिंदै साहित्यको उन्नयनमा प्रतिष्ठानले गर्दै आएको अभियानले आफ्नो युवावस्थाको जोश र सक्रियता सम्झाएको बताए। उनले पश्चिम नेपालको साहित्यको केन्द्रका रूपमा कोहलपुरको साहित्य रहेको पनि बताए।

कार्यक्रमका विशिष्ट अतिथि तथा कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले यसरी हरेक पटक साहित्यको कार्यक्रम सहभागी हुन पाउँदा आफू र साहित्य नगरीको रूपमा कोहलपुर चिनिएको खुशी व्यक्त गरे। उनले यसपटकको बजेटमा साहित्यको विकासका लागि रकम विनियोजन गरेको बताउँदै वाङमय प्रतिष्ठान गठनका लागि आफूहरू छलफलमा रहेको समेत बताए।

यसअघि क्रमशः वाङमय पुरस्कार कलाकार प्रेमदेव गिरी र युवा प्रतिभा पुरस्कार शेखर दहितलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताए। उनले भाषा, कला, साहित्यमा निरन्तर सक्रिय रूपमा लाग्दै आएका व्यक्तिहरूलाई सम्मान गरिंदै पनि आएको बताए।

कार्यक्रममा डा.देवेन्द्र आचार्यले गजल, शान्ति अधिकारीले मुक्तक, बद्री ढकाल हिरामणिले हाइकु, चन्द्रावती अधिकारीले छन्द कविता, लक्ष्मण मानवले गद्य कविता, निरन्जना चन्द निरूले साइनो, शान्ति सुनारले गीत र निकिता बोहराले बालकविता वाचन गरेका थिए।

कार्यक्रम प्राज्ञ महानन्द ढकाल, शशीराम कार्की, हरि तिमिल्सिना, साहित्यकारहरू: सृजन लम्साल, डा.जनार्दन आचार्य, किरण आचार्य, तिलक न्यौपाने, सागर गैरे, सुमित्रा न्यौपाने, खोपीराम वली, पुष्कर रिजाल,प्रकाश मरासिनी, ईश्वरीप्रसाद रिजाल, कल्पना खरेल, सन्तोषी विष्ट लगायत दुई सयभन्दा बढी साहित्यानुरागीको उपस्थिति रहेको थियाे।

प्रकाशित: २१ आश्विन २०८० ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App