कला

संगीतले पीडा कम गराउँछ?

यस्तो पनि!

केही वैज्ञानिकहरूलाई के लाग्छ भने संगीत सुनायो भने गाईले बढी दूध दिन्छ। अब यो मानेर मात्र भएन, यसको ठोस कारण ठोस तरिकाले प्रमाणित पनि गर्नुपर्छ। त्यसलाई प्रमाणित गर्न वैज्ञानिकहरू लागिपरे पनि।

यतिबेला केही वैज्ञानिकहरूले अर्को फन्डा लिएर आएका छन्। उनीहरूको तर्क छ, बालबालिका र खासगरी शिशुहरूलाई मोजार्टको लुलाबाई शीर्षकको संगीत सुनायो भने उनीहरूको पीडा अविश्वसनीय तरिकाले कम गराउन सकिन्छ।

विशेषतः बालबालिका र शिशुहरूलाई चिकित्सकहरूले रक्तजाँचका लागि सुई घोपेर रगत निकाल्दा जुन पीडा हुन्छ, त्यो पीडा महसुस नगराउन मोजार्टको लुलाबाईको संगीतले सहयोग गर्न सक्छ।

यसका लागि वैज्ञानिकहरूले एक सय जना शिशुहरूमाथि परीक्षण गरेका थिए। अमेरिकाको न्युयोर्कको लिंकन मेडिकल एन्ड मेन्टल हेल्थ सेन्टरमा सन् २०१९ को अप्रिलदेखि २०२० को फेब्रअरीका बीच चिकित्सकहरूले जन्डिस र उजभलथपिभतयलगचष्ब नामक दुर्लभ किसिमको प्रोटिन डिसअर्डर भएका शिशुहरूको रगत निकाल्न लुलाबाई सुनाएका थिए। जस–जसलाई सो लुलाबाई सुनाइएको थियो, उनीहरूले सुई खोपाउँदा कम पीडा भएको प्रतिक्रिया जनाएका थिए। जसलाई लुलाबाई सुनाइएको थिएन, उनीहरूले रोएर कोकोहोलो नै मच्चाए। उनीहरूको पीडाको अनुपात अनुहारको हाउभाउ, रूवाईको तह, श्वासप्रश्वासको गति, विभिन्न अंगहरू चलाउने प्रक्रिया तथा चनाखोपन आदि जस्ता कुरा अध्ययन गरी सो निष्कर्षमा पुगिएको थियो।

अध्ययनमा १०० जना शिशुहरूमध्ये ५४ लाई रगत लिन सुई घोप्नुअघि मोजार्टको लुलाबाई २० मिनेटसम्म सुनाइएको थियो। यसपछि उनीहरूको रगत लिइएको थियो। रगत लिएको पाँच मिनेटपछि पुनः सो संगीत सुनाइएको थियो।

यो प्रयोग शान्त, हल्का प्रकाश भएको कोठामा गरिएको थियो। यस्तोमा जसलाई संगीत सुनाइएको थियो, उनीहरूलाई पीडा कम अनुभूत भएको देखिएको थियो। सुई घोपिएको एकदेखि दुई मिनेटभित्र उनीहरू सामान्य भइसकेका थिए। यसैगरी संगीत नसुनाइए शिशुहरूलाई पीडा सामान्य हुन साढे पाँचदेखि सात मिनेटसम्म लागेको देखिएको पेडियाट्रिक रिसर्चले आफ्नो अध्ययन प्रतिवेदन प्रकाशित गरेको छ।

वैज्ञानिकहरूको यो समूहले आगामी दिनमा यस्ता सामान्य उपचार अवधिमा शिशुका आमा वा बुवाको बोलीले पनि पीडा कम गराउन भूमिका खेल्छ कि खेल्दैन भन्नेबारे अध्ययन गर्ने भएका छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १५ आश्विन २०८० ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App