कला

लागुऔषध ‘कुलतविरुद्ध’ सांस्कृतिक महोत्सव

आयोजक समितिका पदाधिकारी महोत्सवबारे जानकारी दिँदै। तस्बिर: नागरिक

इटहरी २ आपगाँछीमा असोज २० देखि सुरु हुने इटहरी सांस्कृतिक पर्यटन महोत्सवमा लागुऔषध कुलतमा फसेका युवालाई उठाउने उद्देश्य राखेर हरेक दिन सन्देशमूलक कार्यक्रम प्रस्तुत गरिने भएको छ।

लागुऔषध कुलतमा फस्नबाट युवापुस्तालाई जोगाउन र हरेक युवा पुस्तालाई आफ्नो जीवन इज्जतदार बनाउन महोत्सवमा सन्देशमूलक कार्यक्रम प्रस्तुत गर्न लागिएको हो। स्थानीय विकास निर्माण सञ्जालले आयोजना गरेको महोत्सव कात्तिक ४ सम्म चल्ने छ।

लागुऔषधको कुलतमा फसेर धेरै युवाले आफ्नो भविष्य गुमाइरहेका छन्। यसले पारिवारिक र सामाजिक जीवनमा गहिरो चोट त पारेकै हुन्छ’, शनिबार आयोजित पत्रकार सम्मेलनमा विशुधन राईले भने, ‘महोत्सवमा कुलतबाट उठेर जीवनमा चामत्कारिक परिवर्तन ल्याएका व्यक्तिलाई झिकाएर हरेक दिन सन्देशमूलक कार्यक्रम प्रस्तुत गरिने छ।’

कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमकलगायत क्षेत्रबाट किनमेलको बहाना बनाई लागुऔषध सेवन गर्न युवा भारतीय बजार जाने गरेका छन्। लागुऔषध कारोबारमा संलग्नका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा लागुऔषध खपत हुने गरेको छ। धरान, इनरुवा, भान्टाबारी, झुम्कालगायतका ठाउँ लागुऔषध कारोबार स्थलका रूपमा उदाउन थालेको प्रहरीले जनाएको छ।

महोत्सवमा कृषि बीउ बिजन, स्थानीय तरकारी उत्पादन, जातीय भेषभूषा, जातीय बाजागाजालगायतका २० वटा स्टल रहने छन्। महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने छ। मौलिक संस्कृति जोगाउने र नयाँ पुस्तालाई जोड्ने ढंगले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने योजना रहेको महोत्सव आयोजक समितिका संयोजक राजु बस्नेतले बताए। महोत्सवमा सुनसरी, मोरङ र झापाका अवलोकनकर्ता सहभागी हुनेछन्।

प्रकाशित: १४ आश्विन २०८० ०३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App