कला

भेटिएको भेट

निबन्ध

भेटिएको भेट, नभेटिएपछिको भेट हो। नभेटिँदाको नियास्रो र एक्लोपन भेटिएपछि स्वतः सिद्धिन्छ, मेटिन्छ। भेटिएको भेटले नभेटिँदाको रिक्तता सबै रित्तिन्छ। र, प्रारम्भ हुन्छ–नवीनतम कार्य योजनाहरूका खाका निर्माण। सोहीबमोजिम दैनिकीहरू गुज्रिन्छन्। सुस्त समय वा पट्यारलाग्दा दिनहरू छिनैमा बितेर जान्छन्। बिहान भर्खरै भएजस्तो लाग्छ तर दिन ढल्किएर रात भित्रिसकेको हुन्छ। घाम अस्ताएर जून झुल्किसकेको हुन्छ।

भेटिएको भेटमा प्रिय मिलनका खुसीहरू प्रकट हुन्छन्। फूलजस्तै सुगन्धित र सौन्दर्यमय आभा सम्प्रेषित हुन्छन्। रूपसी झरनाजस्तै सधैं शीतल। सधैं गतिशील र भोलि नभनी आजै आफ्नो कर्ममा समर्पित।

कसैले रिसले वा घृणाले निमिट्यान्न पारी फाले पनि। त्यसले कहिल्यै रिस साँध्दैन, जतिसुकै मन दुखे पनि। बरू त्यो बेली, चम्पा, चमेली, पारिजातजस्तै हातभरि सुगन्धित बासनाले मिठास दिइरहेको हुन्छ। मगमग मादक उन्मादको उत्कर्षमा कति हर्ष, कति बिस्मात। एउटा बेग्लै अलग्ग संसारको स्वर्णिम परिवेशजस्तै। जहाँ कुनै दुःख र पीडा छैन। मानिसमा मिलनको उत्सव छ। बिछोडको कुनै सम्भावना नै छैन जस्तै। मुस्कानमय उल्लासका क्षणहरूले मायालु आभास हरपल दिइरहेको हुन्छ।

तिनैमा सन्निहित हुन्छन् मायाका असीम अनुभूति र अभिव्यक्तिहरू। बिछोडका घाउमा लागेका मलमपट्टीहरू। भग्न हृदयमा पुनर्निर्माणका कामहरू। सुस्त रहेको कामका थालनीहरू। नौलो विचार र विवेकका प्रारम्भिक विम्बहरू। जहाँ धाँजा फाटेर चिराचिरा परेका खेतबारीमा पानीको अमृत वर्षाले ऊर्वर बनाउँछ जमिन। जहाँ मरन्च्याँसे जीवनको अस्तित्व अब बाँच्न पाइने त्राणले तंग्रिन थाल्छ। र, भटाभट, फटाफट जीवन–घाम लागेर बारी, बलेसी र अँगेनीसम्म जीवनज्योति जुर्मुराउन थाल्छ झलमल्ल।

त्यसैले भेटिएको भेट, सौहार्दमय सुखद भेट हो। तिनै फूलहरू जस्तै सुकोमल, कौमार्य काया–कलेवरसहित सुगन्ध र सौन्दर्यले बेसरी बेसरम सुशोभित।

भेटिएको भेटले स्वतः मिलन–महसुस गराउँछ। नभेटिँदाको वा बिछोडको चोट सबै बिर्साउँछ। एक्लोपनको अभाव मेटाउँछ। नियास्रोपन हटाउँछ। एकसाथ जीवनबोधको आभास गराउँछ। अन्धकार औंसीको रातमा पनि जुनेली रातजस्तै शान्त, शीतल, सुमधुर उज्यालोले स्पर्श गर्न आउँछ। मौनताहरू मौलाउँदैनन्। डरत्रासका सारा त्राहिमाम् बेखरबर हुन्छन्।

भेटिएको भेट एक प्रेमिल मिलनको क्षण। सुहाग–सौभाग्यको एक प्रीतिकर पल। आशाले अँगालेर विश्वासको गाथा सुनाएको दिन। त्यो त्यही दिन, जहाँ एक्लोपनका उकुसमुकुस र सम्पूर्ण छटपटीहरू छताछुल्ल भई नदीजस्तै निर्मल सङ्लिएर एकनाश हिँडिरहेको अविच्छिन्न।

निकै लामो समयको अन्तरालपश्चात्को पुनर्मिलन जस्तै। सम्बन्ध नवीकरणको नयाँ सिलसिला सुरू भएजस्तै। रमाइलो हुन्छ यस्तो भेट। बेस्वादको हुँदैन। बरु स्वाद र सन्तुष्टिको पूर्णतातिर उन्मुख हुन्छ। यस्तो भेटले ऊर्जा दिन्छ। नयाँ कुराको ज्ञान प्रदान गर्छ। खुसीहरूको मेला लाग्छ। दुखाइहरूको उपचार हुन्छ।

भेटिएको भेट मिठो प्रेमले भरिएको प्रथम मिलनको बिहान। श्रद्धा र विश्वासले रंगिएको, सिँगारिएको, सजिएको सुन्दर, बिछट्टको रूप–लावण्य। जहाँ उद्घाटित हुन्छन् जीवन्त जीवनका दैनन्दिन कर्महरू। मित्रवत् सम्बन्धका सुन्दर अनुहार र अध्यायहरू।

मायालु हार्दिकताले लेपन भएको हुन्छ भेटिएको भेट। खुसीले परिपोषित, स्नेहले सिञ्चित साह्रै मिठो। भेटिएपछि नछुटिएको, नटाढिएको एउटा प्रिय मिलन। भेटिएपछि छुटिन को चाहन्छ ? पाएपछि गुमाउन कसलाई मन लाग्छ? हिँडेपछि नपुगी को फर्किन्छ? पुगेपछि सन्तुष्टिको उपलब्धि नपाई को फर्किन्छ?

भनाइ नै छ-‘डुब्दै नडुब। यदि डुबिसकेका छौ भने मोती नटिपी नफर्क।’

यस्तो भेटको संयोग जुर्दैन हतपती। यस्तो भेटको सौजन्य मिलिरहँदैन कदापि।

नभेटिएको तिर्सना बिर्साउने भेटिएको भेट। नदेखिएको भेटको भोक मेटाउने। बिछोडको विरह बाँकी रहँदैन। बरु मुजुरा पलाएर अचम्मकै ‘मस्का’ लगाउँछ। मुस्कान पस्किन थाल्छ ‘मनमोहनी’।

नबोलिएको बाँकी कुराको पोको खोतल्ने। नसोचिएको समयको पर्दा खोलिदिने। सपना, कल्पना, परिकल्पनाका अनेकौं सन्दर्भहरूलाई एकत्रित पारिदिने। भेटिएको भेटमा सारा बिछोडका खुसीहरू एकसाथ अभिव्यक्त हुने। साह्रै प्रिय भेटिएको भेट! अविस्मरणीय र वन्दनीय पनि।

भेटिएको भेट एक प्रिय मनसँगको साक्षात्कार। जहाँ खुल्छन् विगतका सम्झनाहरू एक–एक क्रमशः। भेटिएको भेटमा नभेटिएका दिनहरूको कुरा हुन्छ। नबुझिएका अस्पष्टताहरूको स्पष्टता खोजिन्छ। कतिपय विगत दिनका क्षणहरूतिर फर्केर हेरिन्छ। नियालिन्छ व्यतीत दिनहरूलाई।

यस्ता भेटहरू अप्रत्याशित हुन्छन्। कतै बाटैमा पनि हुनसक्छ। कुनै कार्यक्रमहरूमा जाँदा पनि भेटिन सक्छ। उत्सव, महोत्सवहरूमा पनि हुन्छ। शोकसुर्ता र श्रद्धाञ्जलीहरूमा पनि भेट हुन्छ। प्रत्येक भेटमा मुस्कानको मिठास सम्प्रेषित हुन्छ। नबोले पनि, नचिने पनि मृदु मुस्कानको छवि प्रथमतः मानवीय सुयोग हो। भेटिएको भेटमा स्वभावतः यस्तो स्वभाव प्रस्तुत हुन्छ, हुने गर्छ। यसो हुनु नै असल स्वभावको पहिचान हो।

भेटिएको भेटले दिने सकारात्मक सन्देश यही हो। यस्तोमा नचिनिएर चिनिन्छन् पराइहरू पनि। नदेखिएर पनि देखापर्छन् आफन्तजनहरू। प्रिय मान्छेसँगको भेट त झन् प्यारो हुने नै भयो। यसरी नभेटिएपछिको भेटको हर्षले खुसीको सीमा नाघ्ने नै भयो। आनन्दको मिलनले उत्सवको रूप लिनुसँगै भोेको पेटमा पनि अघाउँजी–अघाउँजी हुने नै भयो।

वस्तुतः क्षणिक मृदु मुस्कानको मूल्य कति अमूल्य छ। त्यो त्यत्तिकै प्रेरणादायी र उत्तिकै मायालु हुन्छ। वैमनस्यलाई दूर भगाउँछ। बोलीवचनलाई स्थापित गर्छ। आपसी मानवीय संवेदनालाई जागृत पार्छ। तथापि यस्तोमा ‘इखको बिख’ मनमा राख्नु हुँदैन। ‘घृणाको घिन’ अनुहारमा देखाउनु हुँदैन।

त्यसैले भेटिएपछिका खुसीहरू मिठा हुन्छन्। मायाले सुम्सुम्याइएका, स्नेहले अँगालिएका, मनले माया गरिएका, हार्दिकताले भरिएका। मन र मुटुले सिञ्चित हर्लकै हुर्किएका वनस्पतिजस्तै, सलल बगिरहेका कञ्चन पानीजस्तै, निर्मल आकाश र सुन्दर धरतीजस्तै। यस्तोमा निर्दाेषीपन, आशावादी मन र इमानदारी तन हुन्छ। स्वार्थ र शंका केही हुँदैन यस्तो भेटिएको भेटमा।

आफू जति नै पीडामा भए पनि भेटिएको भेटले ती सारा पीडा बिर्साइदिन्छ। जस्तै कसैको शोकमा समवेदनाका लागि जाँदा भेटिएको भेट ममताले ओतप्रोत हुन्छ। दुःखमा सुखानुभूति प्रदान गर्छ र सहानुभूतिको सन्देश प्रवाह गर्छ।

मुस्किलले, धैर्यले, बिन्तीले, अनुनयले बल्लतल्ल भेटिएको भेटमा अनायसै दुःख पोखिन्छ। परन्तु त्यसमा खुसीले चुमेर हिसाब–किताब बराबर बनाइदिन्छ। त्यसमा कहिले बोलीकै खोलाबाढी बग्छ धाराप्रवाह, कहिले वाक्य नै फुट्दैन भेटिएको हर्षबढाइँले। हेराहेर र देखादेख मात्र हुन्छ कहिले। तर कुनै बेलाको भेटमा कति कुरा, कति गफगाफका बग्रेल्ती बयान हुन्छ। बयान गरेर र बोलेर कहाँ सक्नु ! पानी जस्तै त्यो रसाइरहन्छ। रित्तिएर सिद्धिँदैन कहिल्यै।

भनौं न, खाना खानै बिर्सेर। एक झप्को निद्रा आउनै नदिएर। समयलाई समाउन खोज्दा–नखोज्दै समयले उछिनिसकेको हुन्छ।

कतिसम्म भने कतै जाँदा गफको सुरमा त्यहाँसम्म गएको पत्तै हुँदैन। समयले नेटो काटेको र रात बितेको समेत थाहै हुँदैन। समय बितेको ख्यालै गरिँदैन। नभेटिँदाका कति धेरै कुराहरू बाँकी हुन्छन्। भेटिएको भेटमा ती सबै बाँकी रहेका कुराहरू सार्वजनिक हुन्छन्। तिनलाई खोलेर देखाउँदा अरू कुराको कहाँ ख्याल हुनु! कहाँ अन्यतिर ध्यान दिनु!

भेटिएको भेटकै मौका वर्षौंदेखि बेरुजु रहेका बातचितहरू ‘फच्र्यौट’ गरिन्छन्। भेटिएको भेटमा यसरी ती सबै एक–एक ‘चुक्ता’ हुन्छन्। आवश्यक प्रमाणहरू जस्तै-भेट नहुनुका कारण र कागजातहरू, टाढिनुका बहानाहरू, आँसुका ‘बिल र भर्पाइ’हरू, भेट नहुँदाका घटना र घाउहरूको ‘लेखाजोखा’ गरिन्छ। मायाको मोलतोल, नाफाघाटा र आफन्त–पराइको साथ ‘साइनो’ खोजिन्छ।

अन्ततः तत्पश्चात् ढुक्क, दङ्ग, फुरुङ्ग। केके हुन्छ, हुन्छ। मन–प्राण हावासँगै कावा खान तयार। चरा जस्तै फुर्र उडेर वेग मार्न हतार। मौरी, भँवरा, पुतलीजस्तै सौन्दर्यको उपवनमा रस चोर्न, फूल चुम्न तयार।

कहिलेकाहीं यौटा गल्तीले हजार सपनाहरू चकनाचुर हुन्छन्। तर कुनै बेला लाखौं सपनाहरू विपना पनि बन्दारहेछन्, अटुट विश्वास र निःस्वार्थ मायाको परिणामले भेटिएको भेटजस्तै। सकारात्मक सोच र साथले त्यसलाई गति दिँदोरहेछ। भेटहरू पनि त्यस्तै हुन्। कुनै भेटले शुभ दिनको सम्भावना लिएर आउँछ। कुनै भेटले पीडादायी चोट दिएर जान्छ।

तथापि भेटिएको भेटमा मनको विशालता प्रकट भइरहोस्। संकीर्ण सोच र दोषको अन्त्य अनि पुस–माघको जस्तै पारिलो घाम लागिरहोस्। घामै नलागेको ओशले वा अनिकालले अथवा सुक्खा खडेरीले कोही पनि मर्न नपरोस्।  आवश्यक छ-भेटिएको भेट। त्यो भेट नभेटिनुको चोट होइन।

त्यसैले त्यसमा प्रणय–निवेदनको आँसु झरिरहेको हुन्छ। मिलनको अनुनय र आग्रह गरिरहेको हुन्छ। आँसु पुछेर हाँसोको उपस्थिति अनिवार्य हुन्छ। नभेटिएको भन्दा भेटिएको भेटले यस्तो उपलब्धि दिन्छ। हिलोमैलो, धुलो, कसिंगर कतै हुँदैन। सफा स्निग्ध धरती–धरा, आकाश–गंगा। नमस्कार नमोः नमः ॐ नमो शिवायको सत्य संकल्प ‘भेटिएको भेट’ ले बारम्बार गराउँछ।

प्रकाशित: १३ आश्विन २०८० ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App