कला

कर्णालीका आमाहरूको जीवन्त कथा

पुस्तक

‘म जीवनमा थोरै मात्र पुस्तक पढ्छु भन्नेहरूले थोरै पुस्तकको पंक्तिमा यस पुस्तकलाई नछुटाउनुहोला ।’ एकजना नाम चलेका आख्यानकारको यस्तो वाक्य किताबको पछिल्लो आवरणको अन्तिम वाक्यका रूपमा यौटा सिङ्गै अनुच्छेदमा ड्याम्म देखेपछि पहिलोपल्ट म किताब नकिनी फर्कें पसलबाट।

लाग्यो, यो सब प्रकाशकको फन्डा हो। हल्लाखल्ला भएका, चल्तीका भनिएका र नाम चलेका धेरै लेखक–प्रकाशकका किताबहरू आठ दश पेज पढेपछि थन्किएका थुप्रै अनभव छन् आफ्ना। घरमा त्यस्ता किताबको अलग्गै तख्ता छ आजकल, आफ्नो निजी पुस्तकालयमा।

 खासमा म आफूलाई राम्रो पाठक पनि ठान्दिन। भन्दिन पनि किनकि म किताब थोरै पढ्नेमै पर्छु सायद। घर गृहस्थी महिलाले किताब पढ्ने सुविधाजनक दैनिकी पनि कहाँ पाउनु र? फुर्सद निकाल्ने हो बलजफ्ती। म किताब कि ज्ञानका लागि कि खुसीका लागि या आनन्दका लागि पढ्छु, आख्यान, गैरआख्यान या काव्य जे होस्। पठनका लागि किताब छान्ने कुनै खास सूत्र छैन मेरो तर किताब पढेर तनाब थपिने हो भने किन पढिबस्नु भन्ने लाग्छ। त्यसका लागि त जिन्दगी छँदै छ।

आफूले नकिनी फर्केको किताब अर्को हप्ता घरकै रिडिङ कक्षमा भेटियो। यौटै कोठामा किताब पढ्ने हामी दुई जना छौं, घरमा। बस्ने पनि दुई जना नै हो। आआफ्नै रोजाइ हुन्छ किताबको।

खासमा म आफूलाई राम्रो पाठक पनि ठान्दिन। भन्दिन पनि किनकि म किताब थोरै पढ्नेमै पर्छु सायद। घर गृहस्थी महिलाले किताब पढ्ने सुविधाजनक दैनिकी पनि कहाँ पाउनु र? फुर्सद निकाल्ने हो बलजफ्ती। म किताब कि ज्ञानका लागि कि खुसीका लागि या आनन्दका लागि पढ्छु, आख्यान, गैरआख्यान या काव्य जे होस्। पठनका लागि किताब छान्ने कुनै खास सूत्र छैन मेरो तर किताब पढेर तनाब थपिने हो भने किन पढिबस्नु भन्ने लाग्छ। त्यसका लागि त जिन्दगी छँदै छ।

एकै दिन कहिलेकाहीं बाहिरबाट यौटै किताब किनेर छिरेको पनि केही छिटफुट घटना छन् छन त। आफूले पढिसकेपछि आफ्नो धारणा, पढ्न वा नपढ्न सिफारिस पनि चल्छ कहिलेकाहीं। यो किताबचाहीं एक्लै एकडेढ बसाइमा पढिसकेर धेरैपल्ट रन्थनिएको छु। सिफारिस गर्दै गर्नुपर्ला। पहिले केही त लेखौं भन्ने लाग्यो। हो रहेछ, थोरै पुस्तक पढ्नेले नि नछुटाउने किताब रहेछ यो।

जब म स्कुल गएँ, मलाई सोधियो

तिमी के हुन चाहन्छौ जिन्दगीमा?

मैले भनें, ‘खुसी’

उनीहरूले भने–मैले प्रश्न बुझिन रे!

मैले भनें–तिमीहरूले जिन्दगी नै बुझेनौ।

जोन लेननले भनेझैं जिन्दगीमा खुसी खोज्ने एक जना बालरोग विशेषज्ञले खिचेको जिन्दगीको मूल्य हो ‘शून्यको मूल्य’। सिर्जनात्मक गैरआख्यान भनिए पनि कर्णाली र त्यस समाजमा व्याप्त विकृति, विसंगति, द्वन्द्व, पीडा, श्रमजीवीहरूको व्यथाको समग्र आख्यान हो यो। आमा, दिदी, फुपू, हजुरआमाहरूको चित्कार र क्रन्दनको कथा हो।

यहाँ अभावको कथा छ, पिर छ, कष्ट छ। हृदयमा बिझेर बसेका र कहिल्यै सन्चो नहुने घाउहरू छन्। कहालीलाग्दो संघर्ष छ। कालो इतिहास र त्यसैले छाडेका धब्बाहरू छन् तर तिनीहरू सबै उज्यालोतिर फर्केका छन्।

सास, साहस र स्नेहको कथा छ। आफ्ना पात्रहरूको नशा नशामा साहसको रक्त सञ्चार गर्न सक्नु लेखकको सफलता हो, जसले पाठकलाई अन्तिमसम्म बाँधेर राख्छ। कर्णालीमा भेटिएका आमाहरू पढ्दा लाग्छ, यौटा पाठक विश्वविद्यालयमा नपढेको/नपढाइएको जीवन पढिरहेछ। ठाउँ ठाउँमा लाग्छ, के निम्न वर्गका आमाहरू रुनका लागि मात्रै जन्मेका हुन्? उनीहरूले भोग्ने जीवन साहसकै कथाका लागि मात्रै हो ? सधैं मानसिक द्वन्द्व, अभाव र छटपटी मात्रै हो उनीहरूको हिस्सामा? बुधेकी फुपूआमा, लाटी, पुतली आमा, भेडिनी कान्छी, नानी आमा, हिक्मतबहादुर, भीमकाजी, जुम्ल्याहाका बाआमाहरू अहिले कहाँ होलान्? कस्तो अवस्थामा होलान्? दुःखले तिनलाई छोड्यो होला त ? के उनीहरूको कथा सुन्यो होला कसैले? समाज, सरकार वा सम्बन्धित निकायहरूलाई केही हदसम्म स्पर्श गरे होलान् यी कथाहरूले। आखिर यस्तो अझ कहिलेसम्म? हामी यस्ता कथा पढेर कहिलेसम्म दुःखी भइरहने? कति दुखिरहने?

गरिबी अन्त्य, भोकमरी अन्त्य, स्वास्थ्य र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानी तथा सरसफाइ, मर्यादित रोजगार, असमानता न्यूनीकरण, शान्ति, न्याय, समानता जस्ता दिगो विकासका अनगिन्ती नाराहरू कर्णालीसम्म पुग्दा कति मधुर, फिका, न्यून र निरीह सुनिन्छ भन्ने अनुभूत गर्न सिकाउँछ किताबले।

तीमध्ये कुनैलाई पहिलो या एक मान्दा पनि त्योभन्दा पहिले के आउँछ जीवनमा? यौटा मान्छे, मान्छे बन्न एकभन्दा अघि शून्य कहाँनेर आउँछ? बिरामी बच्चा बोक्ने आमाहरू जो आफ्नो कुनै परबाह गर्दैनन् तर तिनीहरूका बच्चाको सामान्य प्राथमिक उपचार कतिऔं नारामा पर्छ दिगो विकासको? पाठक ठाउँठाउँमा डाँको छोडेर रुँला झैं गर्छ, रन्थनिन्छ तर किताब छाडेर भाग्दैन। पात्रहरूले यसरी बाँध्छन् कि किताबको अन्तिम पातो पल्टिँदा पनि तिनीहरू हृदयबाट बाहिर निस्कनै मान्दैनन्। तिनीहरू अजंगको दुःखको खाङ्ग्रेले थिचिएर पनि सुखको खोजमा कसरी निरन्तर मुस्कुराइरहे, पाठक यसैको सेरोफेरोमा घुमिरहन्छ, आख्यानमा। दुःखको कथामा पनि प्राण भरेका छन् आख्यानकारले। मान्छेहरू मसित मात्रै दुःखपीडा छन् भन्ठान्छन्, त्यस्ता मान्छेका लागि दबाई लिएर आएका छन् डाक्टर नवराज केसी ‘शून्यको मूल्य’मा।

गरिबीले थलिएकी भेडिनी कान्छी, पखाला चलेर कत्ति पनि नथामिएको बच्चो, स्तनको निसाना मात्रै भएकी सानी बालिकाआमा र नाम नभएका अन्य कैयन् आमाहरूको संघर्ष, साहस र स्नेहको मूल्य हो, शून्यको मूल्य।

दुर्गम बस्ती, त्यहाँको अस्तव्यस्त जीवनशैली, आफ्ना सन्तानको पिसाबमा निथ्रुक्क भिजेर डुङडुङ्ती गन्हाउँदै डोकोमा बिरामी केटाकेटी बोकेर दूर बस्तीदेखि अस्पतालको लाइनसम्म आइपुगेका ममतामयी आमाहरूदेखि कोदो, घ्यु, बाख्रा–पाठा बेचेर आकासे टेम्पो अर्थात् चिलगाडीमा हतारहतार हुत्तिएर आइपुगेका आमाहरूसम्मको कथा व्यथा उस्तै सुनिन्छ। जो सन्तान सन्चो भएपछि पनि ज्याला मजदुरी गरेर बाटा खर्च जुटाएर बल्ल घर फिर्छन्।

गरिबीले थलिएकी भेडिनी कान्छी, पखाला चलेर कत्ति पनि नथामिएको बच्चो, स्तनको निसाना मात्रै भएकी सानी बालिकाआमा र नाम नभएका अन्य कैयन् आमाहरूको संघर्ष, साहस र स्नेहको मूल्य हो, शून्यको मूल्य।

पृथ्वीमा नआउँदै सास हराउनेहरूका आत्मा कहाँ जान्छन् होला? जन्मेर नरोएको, सास नफेरेको यौटा चार केजीको बच्चाको शरीरमा सास भर्ने कोसिसबाट असफल भएको यौटा डाक्टरको मनोदशा हो यो। ऊ यो खबर बच्चाको बाबुलाई भारी मनले सुनाउँछ र चाहन्छ कि आमालाई उसैले सुनाओस्। बदलामा आमा आफ्नो बच्चालाई स्तनपान गराउने जिद्दी गर्छे, यौटी आमा कसरी पत्याओस् कि उसको धड्कनबिना धडकन आयो धरतीमा! डाक्टरको जीवनमा सामान्य लाग्ने यी र यस्ता घटनाको मर्मस्पर्शी कथा छ ‘शून्यको मूल्य’मा।

लाग्छ, यो कर्णाली र त्यस क्षेत्र वरपर बस्ने आमाहरूको जीवन्त जीवनगाथा हो। कथाकार डाक्टर हरेक साँझ लोग्नेबाट पिटिने गर्भवती महिलाको कस्तो सुन्दर ढंग उपचार गर्न सफल छ। जहाँ आमाको गर्भभित्रको सन्तान आफ्ना बाबुलाई आफ्नी आमाको र आफ्नो वासस्थानको सुरक्षाको याचना गर्दै पत्राचार गर्छ बाबुसित। महिलाको शरीरलाई फूल, फल लाग्ने वृक्षभन्दा पनि सिर्जना र सृष्टिको सौन्दर्य र देवीका रूपमा अथ्र्याउनु लेखकको वैशिष्ट्य हो।

पृथ्वीमा नआउँदै सास हराउनेहरूका आत्मा कहाँ जान्छन् होला? जन्मेर नरोएको, सास नफेरेको यौटा चार केजीको बच्चाको शरीरमा सास भर्ने कोसिसबाट असफल भएको यौटा डाक्टरको मनोदशा हो यो।

आमा भएर पढ्दा त यो किताबले ठाउँ ठाउँमा भक्कानो छुटाउँछ। कतिपय देखे, सुनेका घटनाजस्ता कथानक पढ्दा ती तमाम दृश्यहरू सजीव भएर आउँछन्। संसारका सबैभन्दा बलिया मानिसहरू कुनै ओखतीमुलोले बलिया भएका होइनन्। उनीहरूलाई यति धेरै दुःख पर्छ, यति बिघ्न असहयोग हुन्छ र आपद् आइलाग्छ कि त्यससँग लड्दालड्दै उनीहरू आफैं बलिया हुन्छन्। किताबले दुःखसित लडेर सुन्दर र सार्थक जीवन जिउन पनि सिकाउँछ।

गोठमा जन्मेर, एक्लै एक्लै बिरालाको हुलमा हुर्केको बच्चा किन बोलेन लामो समयसम्म? बल्लतल्ल बोल्दा बिरालोझैं किन बोल्यो? उसलाई डाक्टरले आमामार्फत कसरी मान्छेजस्तै बोल्ने बनाए?

झट्ट हेर्दा घटनाहरूको मुचुल्काजस्तो लाग्ने यो कथानकको अन्तर्य गहन छ, मिहिन छ, मनोवैज्ञानिक महत्वको छ। सगरमाथाको देशमा जातीय विभेदको शिखर कति चुलिएको छ? यौटी आमा आफ्नो सन्तान बितिसक्दा पनि भोक र शोकले चाहुरिएको आफ्नो स्तनपान किन गराइरहेकी हुन्छे। उसलाई किन विश्वास लाग्दैन कि सन्तान बितिसकेको छ?

मातृ सुरक्षा, प्रजनन शिक्षा, बाल मृत्युदरका डर लाग्दा समस्याको कथा जताततै भेटिन्छन्। पढ्दै गर्दा लाग्छ, कर्णालीका कथाव्यथा मात्रै कति लेखिए होलान् अहिलेसम्म? बर्सेनि कति किताब छापिए होलान् नेपाली भाषामा मात्रै, जहाँ कर्णाली रोएको होस्।

कर्णालीको व्यथा गीत-संगीतमा कति पोखियो? नाटक वा चलचित्रका पर्दामा कति उतारिए त्यहाँका संवाद? कति उतारियो कर्णालीको मुटु क्यानभासमा? भाषणमा, सभा, गोष्ठी, सेमिनारमा कति आयो कर्णाली? के अझै केही दशकलाई पुग्ने पीडाको कथा सुरक्षित राख्नुपर्ने हो कर्णालीले? तारे होटललाई व्यवसाय, संसद्लाई शून्य समय र कवि/लेखकलाई विषय कहिलेसम्म जोगाइराख्नुपर्ने हो कर्णालीले? किताब पढ्दा जतिखेर पनि चिमोटिरहन्छ।

यहाँ अभावको कथा छ, पिर छ, कष्ट छ। हृदयमा बिझेर बसेका र कहिल्यै सन्चो नहुने घाउ छन्। कहालीलाग्दो संघर्ष छ। कालो इतिहास र त्यसैले छाडेका धब्बाहरू छन् तर तिनीहरू सबै उज्यालोतिर फर्केका छन्।

समय पर्खेर आफसेआफ निको हुने ज्वरो र खोकेर आफैं सन्चो बनाउने खोकीसित अभ्यस्त दैनिकीको कथा लेखेर उनले कर्णालीका संघर्षलाई दुनियाँसामु पुर्‍याएका छन्। बुधेकी फुपूआमा, बुबालाई चिठी, भेडिनी कान्छी, मृत्युपछिको जीवन, पुतली आमा गरी पाँच अलगअलग खण्डमा बुनिएको कथानक जीवन्त छ तर प्रत्येक खण्डमा पनि अलगअलग कथाहरू बुनिएका छन्, कतिपय एकआपसमा जेलिएर पनि आएका छन्, तिनीहरूलाई पनि अलगअलग उपखण्डहरूमा या सिंगो शून्यको मूल्यलाई अझ मिहिन ढंगले कथानकका आधारमा अलिक धेरै खण्डमा बाँडिएको भए कृति अझै पाठक मैत्री हुन्थ्यो कि भन्ने नि लाग्छ, ठाउँ ठाउँमा। कतिपय नभनेरै पनि बुझिने विषयलाई अनावश्यक तन्काएका छन्। भाषाको विद्यार्थी भएर हेर्दा केही कसरमसर छन्, त्यस्तो नभएको भए हुने भन्ने नि लाग्छ र पनि समग्रमा किताबले थुप्रै सकारात्मक चेत जगाएको छ। यौटै किताबमा धेरै थोक छ।  

प्रकाशित: ३० असार २०८० ०२:५५ शनिबार

अक्षर