कला

‘लाहुरेको रेलिमाई’ सार्वजनिक

पूर्व गोर्खा सैनिक तथा वातावरण संरक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ। प्राडा गोविन्दराज भट्टराई, कवि विमला तुम्खेवा, चलचित्र निर्देशक प्रकाश सायमी र समीक्षक राजकुमार बानियाँले मास्टर मित्रसेनको जीवनीमा आधारित उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै प्राडा गोविन्दराज भट्टराइले पहिलो विश्वयुद्धमा आधारित उपन्यास नेपाली युद्ध साहित्यको मास्टर पिस भएको बताए। लाहुरेको रेलिमाई ऐतिहासिक उपन्यास भएको बताउँदै उपन्यासले सय वर्षपछि नेपाली समाज बल्ल जागृत भएको भान गराएको पनि उल्लेख गरे।

पूर्व गोर्खा सैनिककी छोरी कवि विमला तुम्खेवाले लेखकले लाहुरेको मनोदशा जीवन्त उतारेको बताइन्। आफ्ना बुबालाई संस्मरण गर्दै कवि तुम्खेवाले उपन्यासले बम र बारुदबीच पनि जीवन खोज्ने लाहुरेको प्रकृतिलाई लेखकले न्याय गरेको उल्लेख गरिन्। चलचित्र निर्देशक प्रकाश सायमीले मास्टर मित्रसेनको संगीतको चर्चा गर्दै पुस्तकले मास्टर मित्रसेनको इतिहासलाई नेपाली पाठकमाझ पु¥याएर लेखकले गुन लगाएको बताए।

दस्तावेजका रूपमा छापे पनि हुने कुरालाई आख्यानमा उतार्न लेखक विजय हितानले ७ वर्ष खोज, अध्ययन र एक दशकभन्दा बढी मास्टर मित्रसेनको जीवनीमा रुचि लिएको बताए। पहिलो विश्वयुद्धबारे नेपाली साहित्यमा कमै लेखिएकाले र आफू पूर्व लाहुरे हुनुको नाताले पनि मास्टर मित्रसेनको जीवनी लेख्ने प्रेरणा मिलेको बताए।  

प्रकाशित: ३० वैशाख २०८० ०२:१८ शनिबार

अक्षर