कला

सम्झनामा जनआन्दोलन–२०४६

प्रजातन्त्र स्थापनार्थ नेपालमा भएका आन्दोलनहरूमध्ये पहिलो जनआन्दोलन हो— जनआन्दोलन–२०४६। यसको परिकल्पना, रचना र नेतृत्वकर्ता गणेशमान सिंह हुनुहुन्थ्यो। अनेकौं राष्ट्रवादी दृष्टिकोणले यो जनआन्दोलन मौलिक र विशिष्ट प्रकृतिको रह्यो।

राजा महेन्द्रले सेनाको आडमा २०१७ सालमा प्रजातन्त्रको हत्या गरेपछि स्थापना गरेको निरङ्कुशताविरुद्ध आरम्भ भएको सङ्घर्ष वस्तुतः गणेशमान सिंहको जीवनको दोस्रो सङ्घर्ष थियो। त्यस सङ्घर्षका क्रममा बिपी कोइराला र गणेशमान सिंहजस्ता नेतासमेत वर्षौंवर्ष जेल, प्रवास र स्वदेशमै सङ्घर्षरत रहे। त्यो सङ्घर्षलाई एउटा टुङ्गोमा पुर्याउन नपाउँदै बिपी कोइराला दिवङ्गत हुनुभयो। उहाँपछि गणेशमान सिंहले सङ्घर्षको त्यो मसाललाई निभ्न दिनुभएन। अन्ततः उहाँकै नेतृत्वमा भएको जनआन्दोलन–२०४६ ले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गराइछोड्यो। गणेशमानजीले शब्दशः भन्नुभएको छ– ‘सहिदको सपना र स्वतन्त्र एवं सम्मानित नागरिक बन्ने नेपाली जनताको चाहनालाई जनआन्दोलन–२०४६ ले पूरा गरेको छ। देशलाई यो अवस्थासम्म ल्याउन मलाई ३९ वर्ष लागेछ। यस क्रममा मैले कुकुरले नपाएको दुःख पाएको छु। ती दुःखका दिन अब मैले बिर्सिएको छु। साँच्चै भनौं भने अब म सहिद गङ्गालालजी र नेपाली जनताको ऋणबाट उऋण भएको छु। जनआन्दोलनले मलाई दिएको सन्तुष्टि यही हो।’  

जनआन्दोलन–२०४६ यस अर्थमा मौलिक रह्यो कि यसलाई सफल परिणतिसम्म पुर्याउन नेपाली जनताले कांग्रेस, कम्युनिस्ट केही नभनी मानव अधिकार र प्रजातन्त्रको सर्तमा सबैले एकता देखाए। यसलाई विश्वसमुदायले पनि प्रोत्साहित गर्यो। 

एउटा विद्रोही पार्टीको राष्ट्रिय सम्मेलनमा विश्वभरिका मुलुकले उपस्थिति जनाउनु र त्यो आन्दोलनलाई सहयोगको वचनबद्धता दोहोर्याउनुलाई ‘न भूतो न भविष्यति’ भनिदिए हुन्छ। 

राजा र गणेशमान सिंह (विद्रोही पक्ष) बीच भएको वार्तामा अर्को कुनै तेस्रो पक्ष अर्थात् भारत र शक्तिराष्ट्रहरूले समेत ‘टाङ अड्काउन’ नपाउने वातावरण बन्नु आफैमा सुखद पक्ष हो। जनआन्दोलन–२०४६ को सबैभन्दा ठुलो र राष्ट्रवादी उपलब्धि यही थियो। जनआन्दोलन–२०४६ बाहेक नेपालमा आजका मितिसम्म एउटा पनि त्यस्ता आन्दोलन, सङ्घर्ष वा क्रान्ति भएका छैनन् जसको टुङ्गो विदेशी भूमिमा वा विदेशीकै इसारामा नभएको होस्। त्यस अर्थमा जनआन्दोलन–२०४६ पहिलो राष्ट्रवादी आन्दोलन थियो। त्यस्तो पहिलो राष्ट्रवादी आन्दोलनको सर्वोच्च कमान्डर एवं सर्वमान्य नेता गणेशमान सिंहप्रति नेपाली जनता कृतार्थ छन्।

जनआन्दोलन–२०४६ को पृष्ठभूमि  

राजा महेन्द्रले २०१७ साल पुस १ गते नवोदित प्रजातन्त्रको बिरुवा निमोठ्दै सेनाको आडमा ‘कु’गरेपछि राजाको निरङ्कुशताविरुद्ध नेपाली कांग्रेसले सङ्घर्ष प्रारम्भ गर्यो। सङ्घर्षका क्रममा राजाले गणेशमानजी लगायत बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र सयौं नेतालाई कठोर कारावासमा ठोस्यो। २०१७ सालमा पक्राउ गरिएका शीर्षनेताहरू बिपी र गणेशमानजीलाई सरकारले आठ वर्षसम्म सुन्दरीजल जेलमा राख्यो। अनेकौं राजनीतिक दबाबका कारण २०२५ सालमा उहाँहरूलाई पञ्चायती सरकारले जेलबाट मुक्त त गर्यो तर देशभित्र बस्न सक्ने वातावरण बनाइदिएन। त्यसैले उहाँहरू आफ्ना केही सय कार्यकर्ताका साथ भारत निर्वासनमा जान बाध्य हुनुभयो। यो निर्वासनको अवधि २०२५ देखि २०३३ अर्थात् आठ वर्षको थियो। यो अवधिमा नेपाली कांग्रेसले अनेकौं साना–ठुला क्रान्तिकारी सङ्घर्षहरू गरिरह्यो। ती सङ्घर्षलाई उहाँहरूले सीमापारिबाटै नेतृत्व दिइरहनुभयो। यस क्रममा नेपाली कांग्रेसले सञ्चालन गरेका सङ्घर्षहरू, ओखलढुङ्गा काण्ड, जनकपुरमा राजा महेन्द्रमाथि बम फ्याँकेको (जनकपुर काण्ड) काण्ड र हवाई अपहरण तथा ३० लाख रूपैयाँ लुटेका काण्डहरू प्रमुख थिए।  

गणेशमानजी पहिलेदेखि नै झिनामसिना एक्सन गर्नुहुन्न भन्ने पक्षमा हुनुहुन्थ्यो। उहाँको सोच नै फरक थियो। उहाँ भन्नुहुन्थ्यो– जे गर्ने हो ठुलै गर्नुपर्छ। क्रान्ति नै गर्ने हो भने पनि त्यो २००७ सालको भन्दा पनि प्रभावशाली हुनुपर्छ। जनआन्दोलन गरे पनि राष्ट्रिय स्तरकै गरिनुपर्छ। 

उहाँको तर्क थियो– सानोतिनो एक्सन गर्नु भनेको आफ्ना कार्यकर्तालाई बलिवेदीमा चढाउनु मात्र हो। कार्यकर्ता भनेका आफ्ना छोराछोरी हुन्। यिनको संरक्षण हामीले नै गर्नुपर्छ। त्यसैले जहाँ पायो त्यहीं यिनलाई होम्न हुन्न। बरु सकिन्न भने राष्ट्रिय स्तरको सङ्घर्ष गर्ने हैसियत नबनुन्जेल पार्टीले शक्ति सञ्चयको रणनीति लिनुपर्छ। उहाँको कुरा सुनिएन। त्यसैले सानोतिनो स्वार्थका निम्ति धेरै होनहार नेता–कार्यकर्तालाई कांगे्रसले गुमाउनुपर्यो।

२०३९ सालमा बिपी कोइरालाको देहावसानपछि पार्टीको वास्तविक दायित्व गणेशमान सिंहको काँधमा आयो। अब नेपाली कांग्रेसको प्रत्येक कार्यको जवाफदेहिता उहाँकै हुने भयो। अब असफलताको दोष उहाँले अरू कसैलाई औंल्याउन पाउनुहुने भएन। त्यसैले नेपाली कांग्रेसको बागडोर आफ्नो जिम्मेदारीमा आएपछि गणेशमानजीले सबैभन्दा पहिले बिपी कोइरालाद्वारा स्थापित रणनीति ‘वामपन्थीसँग मिलेर सङ्घर्ष नगर्ने’लाई परिवर्तन गरेर नयाँ रणनीति प्रतिपादन गर्दै भनिदिनुभयो– ‘प्रजातन्त्र स्थापनार्थ नेपाली कांग्रेससँग सहयात्रा गर्न चाहने वामशक्तिलाई परहेज नगर्ने!’ गणेशमानजीको यो नवीन विचारको धेरैले प्रशंसा गरे। यो प्रशंसा ओठे मात्र थियो कि वास्तविकता भन्ने कुराको जाँच गर्न गणेशमानजीले भ्याउनुभएको थिएन। त्यसैले उचित अवसरको तलासमा हुनुहुन्थ्यो उहाँ।  

नेपाली कांग्रेसको जिम्मेदारी आफ्नो काँधमा आएपछि गणेशमानजीले पार्टीका नेता–कार्यकर्ताहरूलाई अब निष्क्रिय बस्न नदिने अठोट गर्नुभयो। यसै क्रममा उहाँले २०४२ सालमा राष्ट्रिय स्तरको सत्याग्रह गर्ने योजना बनाउनुभएको होे। गणेशमानजीको यो निर्णयले बिपी विचारका पक्षधर नेता–कार्यकर्ताहरूलाई अन्यमनस्कतामा पुर्यायो। तथापि बेमनले भए पनि उनीहरूले उक्त सत्याग्रहलाई सघाएकै हुन्। त्यो सत्याग्रह देख्नमा सामान्य देखिए तापनि राष्ट्रिय राजनीतिमा यसको ठुलो महŒव थियो। यो सत्याग्रहको अर्को ठुलो उपलब्धि भनेको वामपन्थीहरूको समर्थन थियो। नरमपन्थी वाम घटकहरूले गणेशमानजीलाई नेता मानेर त्यो सत्याग्रहमा आफूलाई पनि समाहित गरेका थिए। नेपाली कांग्रेसद्वारा सञ्चालित यो सत्याग्रहले प्राप्त गरेका राजनीतिक उपलब्धिहरू निम्न थिए–

१. ‘राजासँग न सङ्घर्ष न समर्पण’ र ‘कम्युनिस्टसँग कदापि सहकार्य नगर्ने’ बिपी कोइरालाको रणनीतिलाई गणेशमानले विस्थापित गर्दै नवीन रणनीति ‘कम्युनिस्टसँग सहकार्य र राजासँग सङ्घर्ष’ भन्ने प्रतिपादन गरेको सुस्पष्ट सन्देश दियो, २०४२ सालको सत्याग्रहले।  

२. परिआएको खण्डमा दुःख भोग्न र जेल बस्न पनि सङ्कोच नगर्ने हजारौं नेता–कार्यकर्ता अझै कांग्रेस पार्टीमा तम्तयार छन् भन्ने सन्देश सरकारलाई यो आन्दोलनले दियो।  

३. क्रय–विक्रयका बेला नेपाली वामपन्थीहरूले प्रजातन्त्र र मानव अधिकारको रक्षा गर्ने सर्तमा नेपाली कांग्रेसलाई साथ र समर्थन दिन्छन् भन्ने पनि प्रमाणित भयो।  

४. गणेशमान सिंहजस्ता परिपक्व नेतालाई ‘नेता’मान्न बाँकी दलहरूले सङ्कोच गर्दैनन् भन्ने कुरा प्रस्टियो।

५. कांग्रेसी कार्यकर्ताहरू अनुशासित छन् र गणेशमान सिंहको नेतृत्वको चेन अफ कमान्डमा पूर्ण भरोसा गर्छन् भन्ने कुरा त्यो सत्याग्रहले प्रमाणित गर्यो।

नवीन सोचको उदय

‘राजनेता’ लाई परिभाषित गर्ने क्रममा भनिसकिएको छ–‘दूर क्षितिजमा मडारिन थालेको सङ्कट वा अवसरको आहाटलाई समयअगावै आँक्न सक्ने र त्यसको सम्भावित परिणामलाई विचार गरेर आफ्ना कार्यकर्ता र सिद्धान्तलाई सुरक्षित राख्न सक्ने नेता नै राजनेता हो।’ गणेशमान सिंहको दिमागमा पनि केही वर्षयता विश्वराजनीतिमा देखा परेका घटनाहरूको अध्ययनपछि एक किसिमको नौलो सन्देश दिइरहेका थिए। ती घटनाहरूको अध्ययनपछि उहाँ यो निष्कर्षमा पुग्नुभएछ– ‘अब विश्वभर नै प्रजातन्त्र र मानव अधिकारको अपूर्व लहर चल्नेवाला छ। यो अवसरलाई समय छँदै उपयोग गरिएन भने हामी पछि पर्नेछौं।

 उहाँले आफ्नो विश्लेषणको निष्कर्ष निकाल्नुभयो– ‘प्रजातन्त्रको लहर आउँदै छ। केही समयभित्रै आउँछ, आउँछ।’ यही कुरालाई विस्तृत व्याख्या गर्दै गणेशमानले आफ्नो निष्कर्ष सार्वजनिक गर्नुभयो– ‘अहिले फेरि जताततै प्रजातान्त्रिक आन्दोलनको विजयको लहर चल्न थालेको छ। द्वितीय विश्वयुद्धपछि उपनिवेशवादविरोधी लहर चलेको थियो। नवस्वतन्त्र देशहरूमा प्रजातन्त्रको स्थापना भएको थियो। साठीको दशकमा प्रजातन्त्रविरोधी लहर चल्यो। साना स्वतन्त्र देशहरूमा प्रजातन्त्रको हत्या भयो। तानाशाहीको चकचकी फैलियो। त्यस्ता तानाशाहहरूलाई प्रजातान्त्रिक देशहरूले नै सहयोग र टेवा दिए। प्रजातान्त्रिक सरकारले भन्दा तानाशाहले पिछडिएको देशमा छिटो विकास गर्न सक्छ भन्ने विश्वास उनीहरूको थियो। अब उनीहरू त्यो भ्रमबाट मुक्त भएका छन्। अमेरिका, ब्रिटेन, क्यानडा, जर्मनी आदि प्रजातान्त्रिक देशहरू जनताको हक, अधिकारको पक्षमा अब उभिन थालेका छन्। उनीहरूको आँखा खुलेको छ। यही बेला हो हामी पनि सक्रिय हुने।’

जनआन्दोलन–२०४६ को डिजाइन (प्रारूप)

गणेशमान सिंहले अठोट गर्नुभयो– ‘विश्वपरिस्थिति अनुकूल छ। अब आन्दोलनका निम्ति आवश्यक अन्य अवयवहरू दुरुस्त राख्न सकियो भने जनआन्दोलनको सिर्जना र त्यसलाई सफल परिणतिसम्म पुर्याउन सकिन्छ। त्यसकारण उहाँले सङ्कल्प गर्नुभयो– जनआन्दोलन गर्ने।

जसरी एउटा वास्तुविद् अर्थात् आर्किटेक्चर इन्जिनियरले कुनै घरको प्रारूप (डिजाइन) तयार गर्दा घरको प्रत्येक अवयवहरूको सूक्ष्म अध्ययन गर्दै यथास्थानमा सबै अवयवहरूलाई टक्कटक्क राखेर एउटा आकर्षक सग्लो घर तयार पार्छ, ठिक त्यसै गरी गणेशमानजीले प्रस्तावित आन्दोलनको एउटा स्केच (मार्गचित्र) तयार पार्नुभयो। उहाँले तयार पार्नुभएको स्केचमा निम्न अवयवहरूको व्यवस्था मिलाइएको थियो।  

१. सर्वस्वीकार्य नेतृत्व छनोट  

जनआन्दोलन जस्तो व्यापक र बृहत् सङ्घर्षलाई सफलताको बिन्दुसम्म पुर्याउन नभई नहुने प्राथमिक तŒव भनेको सर्वस्वीकार्य नेतृत्व नै हो। सबै पक्षको विश्वास आर्जन गर्न सक्ने व्यक्ति नै सर्वमान्य नेता हो। यस्ता सर्वस्वीकार्य नेताको अभावमा त्यस्ता आन्दोलनहरूलाई जनताले विश्वास गर्दैनन्। २००७ सालको क्रान्तिपूर्व पनि यस्तै अवस्थाको सिर्जना भएको थियो। तिनताका गणेशमान सिंह मुस्किलले ३५ वर्षको मात्र हुनुहुन्थ्यो। उमेर सानै भए तापनि राणाशासन विरुद्धको विद्रोहले उहाँलाई महानायकझैं स्थापित गरिसकेको थियो।  

२. वामपन्थीसँग सहकार्य

बिपी कोइराला बरु आवश्यक पर्दा राजासँग मिल्न परहेज गर्नुहुन्नथ्यो तर कम्युनिस्टहरूप्रति चाहिँ उहाँ छोइछिटो गर्नुहुन्थ्यो। बिपीको नीतिले नेपाली जनताबीच नै विभाजनको रेखा कोरिदिएर राजालाई शासन गर्न सजिलो बनाइदिएको थियो। यो स्थितिलाई तोड्नैपर्छ भन्ने कुरामा गणेशमानजी दृढ हुनुहुन्थ्यो।  

उहाँले बडो सुझबुझका साथ पाइला चाल्न थाल्नुभयो। नरम कम्युनिस्टहरूसँग अब मिलेरै अघि बढ्नुपर्छ। कम्युनिस्टहरूले भौतिक रूपमा प्रत्यक्ष सहयोग गरेनन् भने पनि सहकार्यको हल्लाले देशैभरका आमजनताबीच सकारात्मक भाव पैदा गराउन सकिन्छ भन्ने विश्वास थियो गणेशमान सिंहलाई! तर तिनताका सबै कम्युनिस्टहरूलाई एकै ठाउँमा जम्मा गर्नु भनेको ‘भ्यागुतोको धार्नी’पुर्याउनु जत्तिकै कठिन काम थियो। तथापि विभिन्न सूत्रहरूकोे प्रयोग गरेर दर्जनौं खेमामा विभक्त कम्युनिस्टहरूसँग गणेशमानजीले भेट गर्नुभयो। यस्तो भेटको चाँजोपाँजो मिलाउने कार्यमा गणेशमानजीले वाम बुद्धिजीवी मानिनुहुने प्रा. माणिकलाल र पद्मरत्न तुलाधरको सहयोग लिनुभयो। नेपालका कम्युनिस्टहरू एकआपसमा कुकुर–बिरालोझैं झगडा गरिरहने भए तापनि गणेशमान सिंहप्रति चाहिँ सबैजसो घटक वा नेताहरू सकारात्मक नै थिए। कांग्रेसका अरू कुनै नेतालाई उनीहरू ‘घाँस’ हाल्दैनथे। तर गणेशमानप्रति चाहिँ उनीहरू श्रद्धा गर्थे। नभन्दै पहिलो छलफल लाजिम्पाटस्थित पद्मरत्न तुलाधरको घरमा भयो। त्यो बैठकमा तुलसीलाल, मनमोहन, कृष्णलाल बर्मालगायत मालेका नेताहरू झलनाथ खनाल र आरके मैनाली आदि संलग्न थिए। आगामी जनआन्दोलनबारे त्यो बैठकमा गणेशमानजीले लामो प्रवचन नै दिनुभयो। उहाँले कम्युनिस्टहरूलाई भन्नुभयो–‘तपार्इंहरू यो आन्दोलनमा सहभागी हुन सक्नुहुन्छ भने आउनुहोस्, होइन सहभागी हुन सक्नुहुन्न भने कम से कम हाम्रो विरोधचाहिँ कृपया नगर्नुहोला। राजासँग नेपाली जनताको यो अन्तिम लडाइँ हो। यो आन्दोलनमा जनताले हार्नुपर्यो भने यो देश रहन्छ कि रहँदैन त्यसै भन्न सक्ने अवस्था छैन। त्यसकारण देश बचाउने कि नबचाउने भन्ने आन्दोलन हो यो। यो राष्ट्रिय आन्दोलनलाई सहयोग नगर्नेलाई इतिहासले माफ गर्नेछैन।’ प्रत्युत्तरमा कम्युनिस्टहरूले भने– ‘कांग्रेसको विश्वास हामी गर्न सक्दैनौं। उसले मझधारमा पुर्याएर हामीलाई निःसहाय छोडिदिन सङ्कोच गर्दैन। त्यसकारण ऊप्रति हामी सशङ्कित छौं।’ कम्युनिस्टहरूको सबै कुरा सुनेपछि गणेशमानजीले भन्नुभयो– ‘ठिक छ। मलाई त विश्वास गर्न सक्नुहुन्छ?’ तुरुन्तै मनमोहन अधिकारीले भन्नुभयो– ‘तपार्इंंकै कारण त हामीले २०४२ सालमा तपार्इंंहरूको सत्याग्रहलाई सहयोग गरेका थियौं। आज पनि म मेरो पार्टीको तर्फबाट भन्छु– ‘तपाईंको आन्दोलनप्रति हाम्रो समर्थन रहनेछ।’ मनमोहनजीको समर्थनपछि प्रायः सबैले कांग्रेसप्रति होइन, गणेशमानप्रति समर्थन रहेको व्यहोरा व्यक्त गरे। जातेजाते गणेशमानजीले वामपन्थी मित्रहरूलाई थप सल्लाह दिँदै भन्नुभयो–‘तपार्इंहरूले मलाई साथ दिने वचनबद्धता त व्यक्त गर्नुभयो तर, जनआन्दोलनजस्तो कुराको सञ्चालनका क्रममा सबैसँग सधैं सम्पर्क गर्न कठिन हुन सक्छ, त्यसकारण तपार्इंंहरू सबै पार्टी मिलेर एउटा सानो कार्यकारी समिति अथवा मोर्चा बनाउनुभयो भने मलाई संयोजन गर्न सजिलो हुन्थ्यो। कृपया त्यसतर्फ पनि सोच्नुहोला।’

यो सुझावअनुसार सात पार्टीहरू मिलेर एउटा गठबन्धन बनाए। कालान्तरमा त्यही गठबन्धन कम्युनिस्ट पार्टी एकीकरणको कारक बन्न पुग्यो।  

३. राजालाई स्मरणपत्र  

यसक्रममा सर्वप्रथम राजालाई जानकारी दिनु उपयुक्त हुने ठानेर देशभरिबाट ५ लाख हस्ताक्षर भेला गरी श्री ५ महाराजाधिराज सरकारसमक्ष एक स्मरणपत्र दर्ता गराइयो। उक्त स्मरणपत्रमा भनिएको थियो– ‘शान्तिपूर्ण ढङ्गबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना समय छँदै गरिएन भने नेपाली कांग्रेसले निकट भविष्यमै एउटा बृहत् राष्ट्रिय जनआन्दोलन छेड्नेछ। त्यस जनआन्दोलनले कसलाई कहाँ मिल्काउने हो थाहा छैन। तसर्थ समय छँदै राजनीतिक सुझबुझको प्रदर्शन गरियोस्।’ नेपाली कांग्रेसको नेतृत्वमा भेला गरिएका ५ लाख नेपालीको हस्ताक्षरयुक्त त्यो मेमोरेन्डमको ‘गुञ्ज’ ले राजाको कानमा महिनौंसम्म बतास लगाउन सकेन।

४. भारतसँग सम्बन्ध विस्तार  

गणेशमानजीले छिमेकी मुलुक भारतसँग सम्पर्क बढाउनुभयो। भारतीय कांग्रेस नेपाली कांग्रेसप्रति नकारात्मक थिएन। नेपाली नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत वामपन्थी नेता मनमोहन अधिकारीहरूले भारतको स्वतन्त्रताको निम्ति गरेको योगदान र भोगेको गोताले ऊ बेला भारतीय नेताहरू महात्मा गान्धी, जवाहरलाल नेहरू, जयप्रकाश नारायण, वल्लवभाइ पटेललगायतका समाजवादी दलका नेताहरूसमेत नेपालप्रति कृतज्ञ नै थिए। तर के कारण पर्यो कुन्नि, २०१७ सालको राजा महेन्द्रले गरेको ‘कू’ लाई भारतले मद्दत गर्यो। परिणामतः नेपालको प्रजातन्त्रले तीन दशकसम्म प्रतिकूलता बेहोर्नुपर्यो।

नेपालका राजा र भारतका प्रधानमन्त्री राजीव गान्धीबीच उत्पन्न भएको असमझदारीका कारण दुई देशबीच व्यापार तथा पारवहन सन्धि हुन नसकेपछि परिस्थिति बदलिएको थियो। यो असहज परिस्थितिले सिर्जना गरेको दुई देशबीचको आगोलाई घिउ थप्ने काम भइरहेको थियो। यो परिस्थितिलाई प्रजातन्त्रवादीको अनुकूल बनाउन गणेशमान सिंहले एउटा पनि कसर छोड्नुभएन। फलतः भारत सरकारलाई राजा र पञ्चायत व्यवस्थासँग टाढिन र प्रजातन्त्रवादीसँग नजिकिन बाध्य हुनुपर्ने अवस्थाको निर्माण गणेशमानजीले गरिदिनुभयो।

नेपालका प्रजातन्त्रवादीको आन्दोलनलाई भारतको समर्थन आकृष्ट गर्न भारतीय कांग्रेसकै क्रियाकलाप आफै पनि अनुकूल हुँदै गएको थियो। कुरा के भने, भारतको सत्तारूढ दल, भारतीय राष्ट्रिय कांग्रेसले आफ्नो स्थापनाको हीरक जयन्ती बम्बई सहरमा धुमधामका साथ मनाउँदै थियो। संसारभरिबाट राजनीतिक पार्टी र सरकार प्रमुखहरूको बम्बईमा जमघट गरिएको थियो। नेपालबाट पनि सरकार प्रमुखका तर्फबाट प्रधानमन्त्री मरिचमान सिंह सहभागी थिए। साँच्चै भन्नुपर्दा यो समारोह विश्वकै राजनीतिक ‘कुम्भ मेला’ झैं थियो। यही क्रममा नै भारतीय राष्ट्रिय कांग्रेससँग पनि नेपाली कांग्रेसको सम्बन्ध दर्बिलो हँुदै गयो। भारतका प्रभावशाली अन्य नेताहरू चन्द्रशेखर, जर्ज फर्नान्डिज, मधु डण्डवते, शरद यादवजस्ता हस्तीहरू र पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति वसुसँग बसेर गणेशमानजीले छलफल गर्नुभयो। परिणाम सकारात्मक रह्यो। प्रस्तावित आन्दोलनका निम्ति सबैले सहयोग दिने वचनबद्धता व्यक्त गरे।  

५. पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध विस्तार  

यही राजनीतिक ‘कुम्भ मेला’ लाई आफ्नो प्रस्तावित जनआन्दोलनप्रति विश्वको ध्यानाकृष्ट गर्ने माध्यम बनाउनुभयो गणेशमानजीले। पश्चिमी राष्ट्रहरू बेलायत, जर्मनी, फ्रान्सलगायत अमेरिका, इजरायल र तमाम अन्य पश्चिमा मुलुकहरूका साथै ‘सोसलिस्ट इन्टरनेसनल’सँग आबद्ध देशहरूका नेताहरूसँग गणेशमानजीले आफ्नो कुरा राख्ने अवसर प्राप्त गर्नुभयो। यसरी स्थापित सम्बन्धलाई दिगो बनाउनका निम्ति युरोप तथा अमेरिकामा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई जिम्मा दिनुभयो।

६. अनुकूल प्रेस-मिडिया  

झट्ट हेर्दा सबै अनुकूल देखिए तापनि गणेशमानजी ढुक्क हुनुहुन्थेन। आफ्नो आन्दोलनलाई नकारात्मक प्रभाव पार्न सक्ने सानोभन्दा सानो छिद्र पनि टाल्दै हिँड्ने गर्नुहुन्थ्यो उहाँ। यसै क्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडियाहरूलाई आफ्नो अनुकूल बनाउन व्यापक प्रयत्न गर्नुभयो। आफ्नो बुताले नभ्याउने व्यक्ति र संस्थाहरूसँग सम्पर्क बढाउन उहाँले आफ्नो अनुकूलका राष्ट्रिय अन्तर्राष्ट्रिय संवाददाताहरूलाई नै प्रयोग गर्नुभएको थियो। तिनताका नेपालमा दैनिक अखबार र टिभीहरू एकाधवटा मात्र थिए। ती पनि सरकारी नियन्त्रणमा थिए। प्राइभेट मिडियाहरू छन त थिए तर त्यति प्रभावकारी थिएनन् भने पनि हुन्छ। तिनताका जनमत निर्माण गर्ने काम ‘साप्ताहिक’हरूले मात्र गर्थे। अधिकांश लोकप्रिय साप्ताहिक पत्रिकाहरू सरकारको विरोध नै गर्ने भएका हुनाले उनीहरूको सहयोग स्वाभाविक हिसाबले आन्दोलनले नै पाइराखेको थियो।

राजाको प्रतिक्रिया जान्ने गणेशमानजीको उत्कट अभिलाषा थियो। यसैबीच एक दिन एकाबिहानै प्रधानमन्त्री मरिचमानले भेट गर्न चाहेको सूचना आयो। भोलिपल्ट गणेशमानजीसँग भेट्न उहाँकै छेत्रपाटीस्थित निवासमा स्वयं प्रधानमन्त्री मरिचमान आए।

सामान्य भलाकुसारीपछि तत्कालीन प्रधानमन्त्री मरिचमानले भने– ‘वर्तमान राजनीतिका सम्बन्धमा श्री ५ ले यहाँसँग भेट गर्ने इच्छा गरिबक्सेको छ। समय मिलाउनुपर्यो।’ गणेशमानजीले भन्नुभयो–‘भइहाल्छ नि!’गणेशमानजी स्वयं पनि राजासँग भेटेर उनको कुरा बुझ्ने फिराकमा हुनुहुन्थ्यो। भेट्ने प्रबन्ध चाँडै मिल्यो। भेटका क्रममा राजाले गणेशमानजीलाई आफ्नो हजुरबुबाको साथी भन्दै सम्बोधन गरेर यथोचित सम्मान पनि गरे। तर कांग्रेसले बुझाएको मेमोरेन्डमबारे एक शब्द पनि राजाले उच्चारण नगरेपछि स्वयं गणेशमानजीले नै कुरा उक्काउँदै भन्नुभयो– ‘सरकार! देशको अवस्था अत्यन्त नाजुक छ। सरकारबाट समयमै सुधार हुन सकेन भने निकट भविष्यमै जनआन्दोलन गर्न हामी गइरहेका छौं। बृहत् आन्दोलन गर्नु हाम्रो रहर होइन, बाध्यता हो। प्रजातन्त्रको अभावमा राष्ट्रियता र सार्वभौमसत्ताको जगेर्ना गर्न सकिँदो रहेनछ भन्ने कुरा त प्रमाणित भइसक्यो। त्यसैले राष्ट्रियता जोगाउन पनि प्रजातन्त्र चाहिन्छ, चाहिन्छ। अब हुने आन्दोलनले व्यापक रूप लिने हुनाले त्यसले कसलाई कहाँ पुर्याउने हो त्यसै भन्न सकिन्न। त्यसैले आवश्यक सुधार गरेर आन्दोलनलाई टार्न सक्नु बुद्धिमानीको काम हुन्छ। सरकारबाट पञ्चायतको अन्त्य र प्रजातन्त्रको स्थापना भएको घोषणा भयो भने सबै कुरा समाधान हुन्छ। यो कुरा समय छँदै सरकारले बुझिदिनुपर्यो। परिस्थितिको संवेदनशीलता श्री ५ मा जाहेर गर्ने इच्छा थियो, त्यसैले भेट गर्न आएको हुँ, सरकार!’ राजा वीरेन्द्रले बडो धैर्यका साथ सबै कुरा सुने र अन्त्यमा भने ‘ठिक छ, गणेशमानजी! म अवश्य खबर गर्नेछु।’ त्यसपछि राजाको खबर कहिल्यै आएन। गणेशमानजीले पनि राजाको खबरको इन्तजार गरेर व्यर्थमा आफ्नो मूल्यवान् समयलाई खेर फ्याँक्न चाहनुभएन। बरु जनआन्दोलनको तयारीमा अझ बढी एकाग्र हुनुभयो।  

७. आखिरमा जनता  

सबै तयारी सकिएपछि गणेशमानजीले आफूलाई जनतामा केन्द्रित गराउन थाल्नुभयो। यस क्रममा जनताको मनबाट ‘भय’वा ‘डर’भगाउने मनोवैज्ञानिक अभियान प्रारम्भ गर्नुभयो। गणेशमानजीले आफ्नो राजनीतिक जीवनको प्रारम्भमा आफ्नै मनभित्रको ‘डर’भगाउन एक प्रकारको तपस्या नै गर्नुभएको थियो। त्यसैले गणेशमानजीले जनताको मनबाट शासकको ‘डर’हटाउन आफैले राजा विरुद्ध आगो ओकल्न थाल्नुभयो। गणेशमानजीले निर्भयतापूर्वक भन्न थाल्नुभयो–‘यो राजतन्त्र नेपालीका निम्ति ज्यादै महँगो साबित भइसक्यो। अब यो राजशाहीलाई देशले धान्न सक्दैन। हामी १५–१६ सालतिर मन्त्रीमण्डलमा छँदा हालका राजाका बाबु र बाजेले दुई लाख रूपैयाँ मागिपठाउँदा हामी इन्कार गर्थ्याै। त्यस्तो राजा आज संसारको सबैभन्दा धनी मान्छेमध्ये परेको छ भनिन्छ। यो कसरी सम्भव भयो? जनताचाहिँ गरिब हुँदै जाने अनि राजाचाहिँ विश्वकै धनीमध्येको पनि धनी!’ गणेशमानजीको यस्तो अभिव्यक्ति सुन्दा जनता आफ्नै जिब्रो टोक्दै भन्थे– ‘होइन, यो गणेशमान कस्तो महसुर हँ। यसको मनमा त डर नामको चिजै छैन कि के हो?’ केही दिनपछि नेहरू शतवार्षिकीको सन्दर्भमा काठमाडौंमा एउटा कार्यक्रम भएको थियो। त्यस कार्यक्रममा पुनः पहिलाको भन्दा कडा शब्दमा गणेशमानजीले राजाप्रति कटाक्ष गर्दै प्रस्ट शब्दमा भन्नुभयो–‘देशमा यत्रो समस्या छ, उसलाई वास्तै छैन। भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले भन्नुभएको थियो नि, मैले राजालाई (नेपाल–भारत समस्याबारे) भेट्न खोज्दा, सरकार त सिकारमा होइबक्सन्छ भन्ने जवाफ आयो।’पुनः भन्नुभयो–‘जुन बेला रोम जलिरहेको थियो, त्यस बेला निरो (राजा) बाँसुरी बजाइरहेका थिए भनेजस्तै ऊ नागर्जुनको टुप्पामा बसेर ‘रोम’जलिरहेकोमा रमाइरहेको थियो।’यसरी सबैले बुझ्ने गरी व्यङ्ग्य गर्न समेत चुक्नुभएन। उहाँले भन्नुभयो–‘अब पञ्चायतको समाप्ति र प्रजातन्त्रको पुनःस्थापनाका लागि निर्णायक जनआन्दोलन गर्ने निर्णय हामीले लिइसकेका छौं। यो सबैको साझा आन्दोलन हो। यो आन्दोलनमा सके सबैले मद्दत गर्नुहोस्, सक्नुहुन्न भने पनि विरोध चाहिँ नगर्नुहोला। पहिले हामी (कांग्रेस–कम्युनिस्ट) हरूलाई आपसमा लडाएर फाइदा उठाउने बकुल्ला भगत (राजा) बसेको थियो। त्यसले सधैं फाइदा लिँदै आयो, अब त्यस्तो स्थिति आउनेछैन। हामी सबै राजनीतिक शक्तिहरू सचेत छौं। त्यसकारण सबै जना ढुक्क भए हुन्छ। जनआन्दोलन अवश्यमेव सफल हुनेछ।’

‘आज संसारभरि नै परिवर्तन र प्रजातन्त्रको अपूर्व लहर चलेको छ। तानाशाहीका पर्खालहरू धमाधम भत्किरहेका छन्।’लौहपुरुषले व्यक्त गर्नुभएको यो निर्भीक एवं मर्मान्तक स्पष्टोक्तिले नेपाली जनतालाई मुलुकको तानाशाही शक्तिका विरुद्ध खडा गर्न ठुलो मनोवैज्ञानिक आधार, साहस र शक्ति प्रदान गर्यो। बाहिर प्रकट गर्न नसकिने आम नेपाली जनताको अन्तव्र्यथा र अन्तरआवाजले गणेशमान सिंहबाट यसरी वाणी पाएकाले जनमानस जनआन्दोलनको पक्षमा एकाएक तीव्र गतिमा आन्दोलित हुन पुग्यो।  

लौहपुरुषको यस्तो सिंहगर्जनाले एकै पटक एकातर्फ नेपाली जनतामा साहस भरियो भने अर्कोतर्फ शासक र स्वयं राजालाई समेत भयाक्रान्त तुल्याइदियो। परिणामतः राजा वीरेन्द्रले आफ्नो सरकारलाई आदेश दिए– ‘गणेशमानलाई थुन्नू।’ नभन्दै सरकारले २०४६ साल मङ्सिर १५ गते गणेशमान सिंहलाई उहाँकै निवासबाटै पक्रेर भृकुटीमण्डपको पुलिस क्लबमा लगेर राख्यो। गणेशमानजीलाई गिरफ्तार गरेको खबर जङ्गलमा डढेलो लागेझैं देशव्यापी फैलियो। देशभरिबाट कार्यकर्ता एवं हजारौंहजार प्रजातन्त्रप्रेमी काठमाडौं ओर्लिए र नेपाल पुलिस क्लब जहाँ गणेशमानजीलाई राखिएको थियो, त्यसलाई चारैतिरबाट घेरे। आफूलाई पक्रेर लैजान लाग्दा गणेशमानजीले पत्रकारहरूलाई भन्नुभयो–‘आगामी आन्दोलनबाट तर्सिएर सरकारले मलाई पक्रिएको हो। यो आन्दोलन गणेशमानको मात्र होइन भन्ने सरकारलाई थाहा छैन। म रहूँ वा नरहूँ यो आन्दोलन नेपाली जनताले गरिछाड्नेछन्। मलाई थुन्दैमा नेपाली जनताले आन्दोलन गर्दैन भन्ने सोच्नु शासकको मूर्खता हो। यो आन्दोलन न मेरो हो, न त मेरो पार्टी नेपाली कांग्रेसको मात्र हो। नेपाली जनताले आफ्नो हक र हितका लागि गर्ने आन्दोलन हो यो। राष्ट्रलाई मसान बनाउन खोज्नेहरूले बेलैमा चेतून् भनेर मैले सावधान गराएको हुँ। राष्ट्र नै रहेन भने हामी कोही पनि रहनेछैनौं। राष्ट्रलाई कसरी जोगाउने भन्ने मात्र मेरो चिन्ता हो। औषधि तितो हुन्छ, औषधि खानु–नखानु रोगीको कुरा हो। डाक्टरले त औषधि खाने सल्लाह दिनैपर्छ। त्यसैले प्रजातन्त्र नरहे राष्ट्र रहन्न भनेर मैले भनेको हुँ र त्यस कुरामा म अझै दृढ छु।  

प्रकाशित: २५ चैत्र २०७९ ००:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App