कला

भ्यालेन्टाइन डे

लघुकथा

बीस-बाइस वर्ष जतिका पाँच-छ जोडी हात हालाहाल गरेर चल्दै, हाँस्दै अगाडि बढिरहेका थिए। मैले मनमनै ती जोडीलाई चखेवा जोडीको संज्ञा दिएँ। एउटा युवकले अर्को युवकको जुत्ता कुल्चिँदा जुत्ता खुस्कियो। त्यसैले दुई युवक अलि पछि परे।

एउटा युवकले भन्यो, ‘यार प्रसुन, तिम्री प्रेमिका त अर्कै थिइन् हैन र! आज अर्कीसँग आएको देख्दा त म छक्कै परें।’

प्रसुनले बडो सहजताका साथ उत्तर दियो, ‘हो नि यार! उनी मामाघर गएकी छिन्। चार-छ दिन अझै नआउने रे। भ्यालेन्टाइन डे खल्लो हुन्छ भनेर पातलीलाई यस्सो कर्के नजर लगाएको त पट्टिहाली। बाटाको मादल बजायो, छोड्यो, हिंड्यो। आज एक दिनका लागि हो।’

अर्को युवकले झसंग झस्केझैं गरी पाउ रोक्दै भन्यो, ‘उफ, यार त्यसो भए आराधनाले पनि मलाई बाटाको मादल बनाएकी पो रहिछन्। आफ्नो प्रेमीले छोडेको नाटक गरिन्। म उनको घाउको मलम बन्न तयार भएँ। उफ,म पनि...!’

प्रसुनले युवकको हात तान्दै भन्यो,‘फेरि र्‍याक गर्न थाले हिंड् आजको भ्यालेन्टाइन डे एक्लै बसेर खेर जान नदेऊ। आराधनाले के सोच्लिन्?’

युवकले आँखाबाट आँसु झार्दै भन्यो, ‘यार मचाहिं भ्यालेन्टाइन डेको उपहास गर्न सक्दिनँ। प्रेम गर्छु त साँचो नत्र...।’ यसो भन्दै ऊ भुईमा थ्याच्च बस्यो।

‘यो कलियुगमा पनि राम बन्न खोज्छ मुल्ला’ भन्दै प्रसुन बाटो लाग्यो। मेरो आँखा पनि भरिएर आयो। सबै टाढा पुग्दा पनि त्यो युवक बाटाको छेवैमा बसेको बस्यै थियो।

प्रकाशित: ३ फाल्गुन २०७९ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App