कला

कवि जानुका धितालको छाउगोठकी आमा सार्वजनिक तथा अन्तरक्रिया

कवि जानुका धितालको कवितासंग्रह छाउगोठकी आमाको सार्वजनिक तथा अन्तरक्रिया भएको छ। नेपाल स्रष्टा समाज काठमाडौंद्वारा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा प्रमुख अतिथि नगेन्द्रराज शर्माले कृतिको सार्वजनिक गरेका हुन्।

प्रमुख अतिथि शर्माले ‘अभिव्यक्ति’मा कविको कविता छाप्दादेखि नै उनको काव्यिक क्षमताबाट प्रभावित भएको बताए। उनले भने, ‘मैले उनको ‘अभिव्यक्ति’मा धेरै कविता छापेको छु। उनको कविता निकै राम्रो हुन्थ्यो। कवित्वपूर्ण जीवन बिताएका उनको मैले केही कथा पनि छापेको छु।’

कार्यक्रममा समालोचक डा. शान्तिमाया गिरीले कवितामा नारी चेतनाको आवाज सशक्त रूपमा उठाएको बताइन्। उनले भनिन्, ‘उनको कवितामा नारी चेतना सशक्त रूपमा आएको छ। समाजमा अझै प्रशस्त विभेद छन्। जैविक-प्राकृतिक प्रक्रियालाई धर्मसंस्कारसित जोडेर नारीमाथि दमन गरिएको छ। कविले त्यस्ताखाले विभेदविरुद्ध सशक्त आवाज उठाएकी छिन्।’

कवि स्नेही सायमीले कविले पाखण्डी प्रवृत्ति तथा सामाजिक विकृतिविरुद्ध प्रभावकारी रूपमा आवाज उठाएको बताए। उनले शैली, शिल्प र विचारको दृढताले पनि कविता उत्कृष्ट रहेको बताए।

समालोचक प्राडा भरतकुमार भट्टराईले समकालीन कवितामा देखिएको उग्रता र नाराबाट कवि निकै टाढा रहेको बताए।

समालोचक भट्टराईले उनको कवितामा प्रकृतिको मानवीकरण, पुरुष सत्ताप्रतिको कठोर प्रहार, लैंगिक असमानताप्रति कटाक्ष, पर्यायवरणीय दृष्टिले उच्च रहेको पनि बताए।

सो कार्यक्रममा लोकार्पित कृतिका कवि धितालले कविता वाचन गर्दै आफ्नो सिर्जना यात्रामा सहयोग पुर्‍याउने शुभेच्छुकप्रति धन्यवाद-ज्ञापन गरेकी थिइन्। उनले समकालीन विषयमा कविता लेखेकी पनि बताइन्।

कार्यक्रममा नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोकले कविलाई निरन्तर लेखन यात्राका लागि शुभकामना दिएका थिए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षता र समाजका निवर्तमान अध्यक्ष विधान आचार्यको सहजीकरणमा सम्पन्न कार्यक्रममा सचिव माधव बिडारीले स्वागत मन्तव्य राखेका थिए।

प्रकाशित: २९ माघ २०७९ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App