कला

संयोग संयुक्त लघुकथासंग्रहको नालीबेली

डा. हिमलाल श्रेष्ठ

उठान

सम्पादक खेमराज पोखरेलद्वारा सम्पादित १८ जना कथाकारको तीन-तीन लघुकथा समेटेर २०७९ वैशाखमा प्रकाशन गरिएको ‘संयोग’ लघुकथासंग्रहले कथाकारहरूको सम्मिलनको संयोगलाई पनि मुखरित गरेको छ। त्यो संयोग उसै जुर्दैन-कसै न कसैले जुराउनुपर्छ-समयले या कर्ताले। यहाँ कथाकारहरू जुट्नु-सम्पादकीयमा लेखिएझैं हाम्रो लघुकथा पाठशालाले आयोजना गरेको कथाकार मधुसुदनप्रसाद घिमिरेको जन्मदिनको भेटघाट रहेछ। त्यही भेटमा विमुन्स पौडेल र श्रीराम राईको प्रस्तावले ‘संयोग’को संग्रह तयार भएको रहेछ।

नौलो प्रयोग

यस संग्रहले अन्य आम लघुकथा संग्रहहरूभन्दा दुई कुरामा भिन्न प्रयोग गरेको छ। एक-यो एकल कथाकारको संग्रह नभएर विभिन्न विषयमा कलम चलाउँदै आएका १८ जना कथाकारको संयुक्त संग्रह हो। यो राम्रो र अनुकरणीय प्रयोग हो भन्ने लागेको छ।

दुई-संग्रहले कथाकारहरूको वैयक्तिक सम्पर्क सूत्र सहितको नालीबेली पनि छापेको छ। त्यो साहित्यको उज्यालो पाटो पनि प्रयोग गरेको छ।

लघुकथाको गठन

लघुकथा लेखनका केही विधिविधानमाथि पनि आजकल छलफल हुने गरेको पाइन्छ। लघुकथाको आकार कत्रो हुनु बेस, लघुकथाको उठान, मध्य भाग र निचोडको कुरा कस्तो उत्तम हुने अनि लघुकथाले कथाले झैं या उपन्यासले झैं व्याख्या कस्तो गर्ने, छोटो हुने हुँदा छरितो भाषाको कुरा, सटिक शब्दहरूको प्रयोग अनि सारसंक्षेपमा व्यक्त भावना, चोटिलो तर सन्देशमूलक, अन्त्य अलिक आश्चर्यजनक, जादुमयी, आकस्मिक आदि लघुकथाका गुण हुन्।

यस पक्षमा पनि यस लघुकथा संग्रहमा विविधता देखिन्छ। कसैको गहकिलो विषयवस्तु गहकिलो प्रस्तुति छ भने कसैको गहकिलो विषय सामान्य प्रस्तुति छ र कुनै-कुनैमा सामान्य लाग्ने विषयवस्तु सामान्य ढंगले प्रस्तुत भएका छन्। छोटो र चोटिलोदेखि लामो र व्याख्यात्मक लाग्ने लघुकथाहरूसम्म छन्। संग्रहले सिकारु कथाकारदेखि सिद्धहस्त कथाकारसम्मका लघुकथाहरू समेटेको छ।

मूल विषयवस्तु

स्वभावैले धेरै कथाकारको संग्रह भएकाले विषयवस्तुका हिसाबले यताउता छिरलिनु यो संग्रहको विशेषता नै हो। कथाकार कात्यायनको ‘अन्तरक्रिया’ शीर्षकको लघुकथाले सर्वसुलभ चिजबिजको मूल्य, स्वाद र चाह नभएर मानिसहरू आफूले पूर्ण समय नहुँदै टिप्न, खान र लुट्न पाए स्वादिलो ठान्ने प्रवृतिलाई उजागर गरेका छन्।

त्यस्तै ‘आकांक्षा’ लघुकथामा उनले मुटुको शल्यक्रिया गर्दासम्म नभेटिएका मनभित्र बसेको व्यक्तिको उजागर गरेका छन्।

‘सूर्यमुखी फूल’मा अहिले विश्वमा व्याप्त युद्ध विभीषिकाको उजागर गर्दै रुसी सेना र युक्रेनी जनताको सम्वाद पस्केका छन्-चुनौतिको रूपमा सूर्यमुखी फूलको बिउ दिएका छन्।

कथाकार डा. पुष्करराज भट्टका ‘अमर पात्र’, ‘खै कोरोना’ र ‘रोग या भोक’ लघुकथा समेटिएका छन्।अमर पात्रको रूपमा सामाजिक सञ्जालमा मृत्युपछि छाएका भरियाको दुख-दर्दको कुरा गरेका छन्। खै कोरोना भनेर स्वास्थ्य मापदण्डको अपहेलना गर्दाको परिणाम गजबबहादुर आफ्नो जीवनको ज्योति आफै समाप्त गर्दछन् र जसको जीवनमा भोक, ऋण र आवश्यकताले घेरेको छ उसले कोरोना जस्तो कहरमा पनि सबै मापदण्ड भुलेर काममा खटिनुपर्ने बाध्यताको उजागर गरेका छन्।

कथाकार निर्मला बरालका आफ्ना ‘इन्द्रेनी’, ‘निडर’ र ‘श्रमको मूल्य’ गरी तीन लघुकथा छन्। विधवालाई अपसकुन मान्ने समाजको मान्यताले सानी छोरीले समेत चिन्तित बनेर समाजको नजरमा अपहेलित भएर बाँच्नु र भनाइ खानुभन्दा अर्को बिहे गर्नुस् भनेर उपाय सुझाएकी छन्, इन्द्रेनीमा भने निदारमा उनले झुत्रीझाम्री भनेर अपहेलना गर्ने आयोजकको चालामाला देखेर निडर बालकले हजुरआमालाई ओढाएको माला, खादा र बिस्कुटलाई प्रोत्साहनको रूपमा व्यक्त गरेका छन्।

उनले श्रमको मूल्यमा भरियाले आफ्नो परिश्रमको मूल्य नछाड्ने तर बढी नलिने तर देशका नेताहरूले राज्यको ढुकुटीको दोहन गरेको दृष्टान्त पस्केका छन्।

कथाकार वन्दना घिमिरेका ‘म के हुँ’ भन्ने लघुकथामा बुहारी मेसिन होइन भन्ने, ‘लैंगिक हिंसा’ मा पनि श्रीमतीलाई घरायसी कामको बोझ थप्ने श्रीमानको दोहोरो भूमिका र ‘रक्सी’ मा लत लागेपछि नशामा बस्नुलाई पनि आफ्नो कमाइको शान छाड्ने पात्रको चित्रण छ।

कथाकार शान्त तिम्सिनाका ‘प्रशंसा’ लघुकथाले प्रशंसाले मानिसलाई कसरी एक अर्काप्रतिको आशक्तिमा अड्काइराख्छ भन्ने, ‘बानी’ मा उनले कुरा काट्ने बानी र ‘चोखो माया’ मा उनले साँचो मायामा छ भने प्रेमी र प्रेमिकाले समयमा उचित निर्णय गर्न पाउनुपर्छ भन्ने भाव व्यक्त गरेका छन्।

कथाकार श्रीराम राईका ‘कोरोना राहत’, ‘गिलो भात’ र ‘घमण्डको पराकाष्ठा’ मा सरकारको ठेगाना खोज्ने सोझो जनता जसले कोरोना कालमा समेत राहत पाउन सकेनन्, कथनी र करनीमा भेद देखिने राजनीति जिविप्रतिको व्यंग्य, एक अर्काप्रतिको निर्भरता बिर्सेर घमण्ड गर्नु ठिक होइन जस्ता सन्देश पस्केका छन्।

कथाकार ललिता दोषीका ‘रक्सीको गन्ध’ मा मजबुरीले मानिस गलत काम र तर्कको सहारा लिन पुग्छ, ‘मौन ओठ’ मा उनले अरूको असल कामले वाहवाही पाउँदा आफ्नो खराब नियतको सम्झनाले हुने छटपटी र ‘भगवान्’ लघुकथामा भगवानको असली रूप त असल मनका धनी मानिसमा भेटिन्छ भन्ने गहकिलो सन्देश दिएका छन्।

कथाकार शारदा दाहाल भण्डारीका ‘व्यवसाय’, ‘गलत कामको नतिजा र ‘भंग शील’ मा उनले देखावटी आध्यात्मिक गुरुमाको चालामाला र ‘पुरुष दिवस’ मा महिला दिवस मनाउनु भनेको पुरुषलाई हेप्नु र प्रतिशोध साध्नु होइन भन्ने संदेश दिएकी छिन्।

कथाकार सत्या अधिकारीका ‘राहत’ मा ससानो आश्वासनले दिएको ढाडस, ‘तापक्रम’ ले परिवेश हेरी तापक्रममा देखिएको भिन्नताले सोचको भिन्नता र ‘बोर्डिङ स्कुल’ लघुकथाले नेपाली बोल्दा जरिवाना लगाउने बोर्डिङ स्कुलको प्रवृतिप्रतिको व्यंग्य कसेका छन्।

मिसु श्रेष्ठका ‘बालमैत्री’ विरोधाभाषपूर्ण अवस्थामा रहे पनि सो अवस्थाबाट निस्कन नसक्ने परिबन्दमा रहेका आम बालबालिकाबारे, ‘बितेको जवानी’ ले विदेश पसेका श्रीमानलाई पर्खंदा-पर्खंदा बितेको समय र जवानीलाई फाटेको जुत्ता र सारीको बिम्व उजागर गरेकी छिन्। ‘मैले नजन्माएकी छोरी’ मा उनले सौतेनी आमा र छोरीको अन्तर्मनमा भएको फरक-फरक भाव व्यक्त गरेकी छिन्।

लता केसीका ‘दिग्भ्रम’ले व्याप्त औषधोपचारको बेथितिबारे, ‘मान्यता’ ले सही मान्यतामा चल्नुपर्ने  र ‘आफन्त’ ले आफ्नाहरू बीच निरन्तर सम्वाद र सम्पर्कको खाचो औंल्याएको छ।

मधुसूदनप्रसाद घिमिरेका ‘म मरेको दिन’ मा कथाले सपनाको मर्नु पनि रमाइलो भन्ने भावलाई सपना देखेर जुनी बित्ने भो भन्ने कटाक्ष भावले काटेको छ। ‘सहयोगी’ मा अभर परेको बेला बजारभाउ उकासेर मौकामा चौका हान्ने प्रवृत्तिबारे र ’साथीकी स्वास्नी’ मा समाजमा बढ्दो विकृतिलाई उजागर गरेका छन्।

विमुन्स पौडेलका ‘गाउँको विकास’ मा ग्रामीण परिवेश छाडेर शहरको बाटो तताएकाहरूको मौन समयको अवस्था, ‘नजरको दोष’ मा दृिष्टदोष एउटा मनोरोग हो र त्यसको समयमा उपचार जरुरी छ भन्ने  र ‘अपराधी लुक्ने ठाउँ’ मा असावधानीका कारण घरपरिवार नै अपराधी लुक्ने ठाउँ बन्न सक्ने सम्भावनाको प्रसंग उठाइएको छ।

डा. शेखरकुमार श्रेष्ठका ‘म’ लघुकथामा आफू चिसिएर अरूलाई न्यानोले बेर्ने हिमाल र हिमालको चिसो मनमा बोकेर न्यानो खोज्दै जिउने नेपाली मनको कुरा, ‘भौतिक दुनियाँ’ मा आत्मिक संसार र भौतिक संसार एकाकार हुँदा मात्र जीवन सम्भव छ र प्रकृतिसँग नजिक हुन सकिन्छ भन्ने भावना र ‘चेतनाको खोज’ मा जबसम्म घर पोलेको खरानी बेच्ने र मृत्युले थालिएको समाजमा लासको व्यापार गर्ने दृष्टि हावी बनेर चेतना शून्य हुन्छ तबसम्म पृथ्वीमा रुवाबासी चल्छ भन्ने सन्देस पस्केका छन्।

सङ्गीता ढुंगाना दाहालका ‘भिष्म प्रतिज्ञा’ मा छुटेको मायालाई अर्को जुनीमा पाउने आशामा बाँचेका जोडीको प्रसंग, ‘चातुर्य’ मा चतुर कोइलीको प्रसंग र ‘भय’ मा आमाबुवाको बिछोडले बालबालिकाको मन-मस्तिष्कमा पार्ने नकारात्मक असर र त्यसको भयको प्रसंग उजागर गरिएको छ।

मन्दिरा चापागाईका ‘घृणा’ मा उनले शारीरिक आकर्षणमा प्रेममा पर्ने र त्यो नपाउँदा त्यो नदेख्दा घृणा कर्ममा उत्रने प्रवृत्तिप्रतिको घृणा, ‘नेपथ्यभित्र’ मा बहुपति प्रथाको कथा व्यथा र ‘मोहनी’ मा भित्रभित्रै काम-कुरा मिलाउन सिपालु व्यवसायी र अनुगमनकर्ताको मनोभाव पस्किएकी छिन्।

गंगा आचार्य सापकोटाका ‘नियति’ मा नियतिमा परेर भवितव्य परेको विषयलाई लिएर बुहारीमाथि आक्षेप लागाउने विषय, ‘ईर्ष्या’ मा मानवीय दुर्गुणमाथि कसिलो व्यंग्य र ‘अरिंगाल’ मा अप्राकृतिक दोहन मानव समाजको समस्याको रुपमा देखिएको प्रसंग पस्किएकी छिन्।

खेमराज पोखरेलका ‘फाटेको जुत्ता’ मा उनले अन्धविश्वासी चिन्तनलाई चिर्न गाह्रो छ भन्ने र मनभित्रको विरोधाभास, ‘मातृभाषा प्रेम’ मा भाषा प्रयोगको विरोधाभास र ‘भोक’ मा पनि रोग लागेर थलिएका बिरामीको उपचारको नाममा मंसाएर अन्न नास गर्ने र भोक लागेर रन्थनिएकाहरूले भोक मेट्ने विरोधाभासको कुरा गरेका छन्।

निचोड

समग्रमा हेर्दा उन्नत र स्तरीय जीवनयापन अनि असल आचारविचार र आनीबानीले समुन्नत समाज निर्माणमा टेवा पुर्‍याउँछ, जसले सकारात्मक भावना पनि आदान-प्रदान गर्दछ। सोका लागि लेखकीय धर्म निर्वाह गरेर साहित्यकार अझ भनौ लघुकथाका सर्जकहरूले समाजको असली ऐना देखाएर समाज सुधारमा योगदान गरेका छन्।

सबै कथाकारलाई मुरीमुरी बधाई एवं धन्यवाद। लघुकथाको गठन, ढाँचा, आकार र लेखन शैलीमा धेरै बहस चलेका छन् र धेरै प्रयोग हुँदै गरेका छन्-सोमध्ये समकालिक उच्चतम बुनौटलाई समेट्दै जानु श्रेयस्कर देखिन्छ।

प्रकाशित: ३० पुस २०७९ ०३:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App