कला

पुष्पित बनून् पुष्पाहरू

ओहो ! कति दुःख कति? समाज जति जति स्वतन्त्रताको उपयोगमा लालायित भइरहेको छ उतिउति दुःख पनि सप्रँदो छ। दुःखसँगै निम्तिएको विकृति त झन् दिन दुगुना रात चौगुनाका दरले बढ्दो छ। गत हप्ता सुनेको अनि आफ्नै आँखाले देखेको घटनाले यतिखेर मनलाई आक्रोशित तुल्याइरहेको छ। अब त समाज जसोतसो शिक्षित हुँदै गैरहेको छ, जागृतपन बढेको छ, विकृति ओरालो लाग्दै छ, यस्तो वातावरणमा छोरी चेलीको पनि उन्मुक्त हाँसो देख्न पाइने छ भन्ने लागेको थियो। विडम्बना, त्यो सोच सपनाबाट विपनामा परिणत हुन पाएन। मनमा लाग्नुमै मात्र सीमित भयो। उफ् ! अझै पनि घरेलु हिंसाले थिचिएका छन् नारी। चौतर्फी बन्धनबाट उम्कनै गाह्रो छ, जता गयो उतै छेकबार। न्याय माग्दा ज्यानै गुमाउनुपर्ने अवस्था।

अनायासै हिजो मात्रै मेरो कार्यालयमा आइपुगेकी एकजना बहिनी अहिले पनि मानसपटलबाट हट्न सकेकी छैनन्। आएको कारण सोध्न नपाउँदै उनका आँखाबाट खसेका अविरल आँसुले केही दुर्घटना निम्तिएको बुझ्न कुनै गाह्रो थिएन। केहीबेरको आँसु बगाइ रोकिएपछि सुँक्क सुँक्क गर्दै भनिन्- ‘ममाथि घरेलु हिंसा भयो। मलाई न्याय दिलाइदिनुपर्‍यो दिदी।’

घर सबभन्दा सुरक्षित स्थल हो मानिसका लागि। तर उनी आफ्नै ठानिएको घरमा पनि सुरक्षित भइनन् रे। उनले एकै सासमा बताएका बिलौनाको निष्कर्ष यही थियो।

यति मात्र के भनेकी थिइन्, फेरि बग्न थाले आँसुका सहस्र धारा। मलाई भने निकै अप्ठ्यारो भयो। कुरा सुनौं, बोल्नै सक्दिनन्। नसुनी हिँडौं, एउटा मानवका नाताले त्यसो गर्ने हिम्मत ममा पटक्कै थिएन।

सोचें-एकछिनलाई प्रसङ्ग बदल्नुपर्‍यो। अनि चिया मगाएँ। नजिकको पत्रिकाको समाचार पढेर सुनाएँ। त्यसपछि उनको मन अलिकति अन्यत्र रूपान्तरण हुन पुग्यो।

केही समयपछि बिस्तारै आफै कोट्याएँ उनको घाउ। उनी भन्न थालिन्-‘म मास्टर्स अन्तिम वर्ष पढ्दै थिएँ। हुनेवाला श्रीमान् इन्जिनियर। ससुरा सरकारी बैंकमा अफिसर। नन्द डक्टर। काठमाडौंको बानेश्वरमा चारतले घर। बाहिरबाट हेर्दा सबै शिक्षित अनि सम्पन्न। त्यसैले उनैसँग विवाह गरें।’

उनले थप्दै गइन्-‘तर दिदी, जब म त्यो घरभित्र पसें, केही समय बसें, त्यसपछि पो थाहा भयो त्यो घरको असली रूप। मेरा माइतीले दिएको दाइजो उनीहरूलाई पुगेन रे। यही कारण सधैं करकर। एकातिर मेरा माइती छोराछोरीलाई पढाएर आफ्नै खुट्टामा उभिने बनाउनुपर्छ भन्ने सोचाइका। अर्कोतर्फ घर परेछ अर्काको सम्पत्तिमा मोज गर्नुपर्ने। यी दुई विचारबीचको टक्करमा खप्नै नसक्ने भयो जिन्दगी।’

म उनको कुरा एकोहोरो सुनिरहेकी थिएँ। उनी भने आफ्नै तालमा भनिरहेकी थिइन्-‘हिजो पनि फेरि दाइजो कम भएको निहुँ निकालेर मलाई कचकच गर्न थाले। त्यसपछि अब बरु मास्टर्स सिध्याउँछु र कुनै व्यवसाय गरेर ज्यान पाल्छु भनेर ओछ्यानतर्फ लागें। भोलिपल्टदेखि पढ्न जान थालें। पढ्न जान थालेपछि पनि सुख पाइनँ। घरको काम छल्न हिँडी भन्न थाले। यही कारण परिवारका अन्य सदस्यले श्रीमान्लाई समेत कचकच गर्न थाले। घरमा तलमाथि गर्दा पनि ‘ऊ महारानी आई, ऊ महारानीले यसो गरी, उसो गरी’ भनेर छेडखान गर्न थाले। कहिलेकाहीं त धेरै कचकचका कारण टाउको नै दुख्थ्यो। तर पनि के गर्नु ? जस्तो परे पनि सहनुको विकल्प थिएन मसँग।

आफू कलेज जानुपर्ने। घरमा सफा सुग्घर गर्ने मानिस राखूँ न त भन्दा सासू र नन्द नमान्ने। अनि गालीचाहिँ मैले खानुपर्ने। त्यो पनि सधैं-सधैं।’ उनी थप्दै गइरहिन्, म एउटा हात गालामा राखेर आज्ञाकारी विद्यार्थीले गुरुको प्रवचन सुनेझैं सुन्दै बसिरहें।

‘दिदी, कति झिना-मसिना कुरा गरी भनेजस्तो लाग्ला तर म मेरो पीडा कसलाई सुनाऊँ? सबै एक्लैले गर्दा धान्नै नसक्ने भइसकें। बिहान तीन बजे उठ्यो, कुचो लगायो अनि भुइँ घोटी घोटी पुछ्यो। त्यो पनि हातैले। मफले सफा गर्न हुँदैन रे। अझ पूजाकोठा लिपपोत गरी सबै भगवान् पुछपाछ गरी पूजा सामानसमेत हाल्नुपर्ने त छँदै छ।

यति काम सकेपछि पनि कहाँ मुक्ति पाइन्थ्यो र ? दाल, तरकारी, अचार सबै बनाई चामल राइस कुकरमा हालेर ठिक्क पारिदिनुपर्ने। त्यति गरेपछि मैले स्याबास पाउनुपर्ने हैन त? ठीक उल्टो दिदी। नन्द र सासू मिलेर मलाई नै गाली गर्ने। मेरै कुरा काट्ने। अनि घरका अन्य सदस्य पनि त्यसैमा लहैलहै मिलाउने। हुँदा हुँदा तेरो माइती यस्तो, उस्तो भनेर मेरो माइतीको समेत उछितो काढ््ने। तँजस्ती बुहारी बेहोर्नुपर्ने हाम्रो कस्तो कर्म रैछ नि भनेर धारे हात लगाउने सधैं। कस्ता कस्ता धनी घरबाट छोरी दिन आएका थिए भनेर सुनाइरहने।

हुँदाहुँदा जति पछि भयो उति उति त्यो घरमा टिक्न गाह्रो हुन थाल्यो। अहिले त यो घरबाट तुरुन्तै निक्ली, गइहाल्, तेरो अनुहार पनि हेर्न मन छैन पो भन्न थालेका छन्। यस्तो अवस्थामा कुनचाहिँ नारी होलिन् शान्तसँग बस्न सक्ने? म मात्र कसरी अपवाद हुन सक्छु भन्नुस् त दिदी? आमाबाबालाई पनि यस्तो कुरा कसरी सुनाउनु भनेर चुप थिएँ। आफ्नो भाग्यमा यस्तै दुःख लेखेको रहेछ भनेर चित्त बुझाइरहें।

त्यो घरमा मलाई माया गर्ने र मेरो दुःख सुनिदिने एक मात्र मानिस हुनुहुन्थ्यो-फुपू सासू। जब जीवनदेखि विरक्तिएर सबै पीडा उहाँसामु छताछुल्ल पारिदिन्थें, त्यसपछि केही सन्तोष महसुस हुन्थ्यो। मेरो दुःख सुनेपछि फुपू भन्नुहुन्थ्यो-के गर्नु नानी, मेरी भाउजू पहिलेदेखि नै यस्तै हो। मेरी आमालाई पनि निकै दुःख दिनुभएको थियो। चित्त नदुखाऊ, सहनशील बन। बरु आफ्नो पढाइ सकिनेबित्तिकै कुनै उद्यमशील काम गर्नू। आफ्नो भविष्य बनाउनू। यस्तो घरायसी समस्या भनेको त दैनिक जीवनमा आइपर्ने कुरा हो। उनीहरूले जति दुःख दिए पनि सकेसम्म आफ्नो घर छाडेर बाहिर बस्न जानुहुन्न। राम्रा अनि असल कुरामा मन भुलाऊ। तैपनि म एकचोटि फेरि भाउजूलाई सम्झाउँला। केही सुनि पो हाल्नुहुन्छ कि। प्रकृति, तिमी मानसिक रूपमा बलियो बन, बाहिरीरूपमा त पूर्ण छँदै छौ।

उनी त गइन्, त्यसपछि मन अशान्त हुने पालो मेरो पो बन्यो। पुष्पा न्यौपानेले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्न कडैसँग उपस्थित भयो। एउटा मनले भन्यो– कति कायर रहिछन्। जाबो एउटा केटाले छाडेर गयो त के भयो? मान्छेले साठी वर्षको उमेरमा डिभोर्स गरेर त विवाह गर्छ। कसैले त चारचोटि डिभोर्स गरेर पनि विवाह गरेका छन्।

फुपूका कुरा सुनेपछि आनन्द आयो। घर फर्कें अनि आफूले जम्मा गरेको पैसा गनें। त्यसबाट एउटा बुटिक खोल्ने योजना बनाएँ र तयारीमा पनि लागें। झापामा हुर्किंदै गर्दादेखि फेसनसम्बन्धी काम गर्ने चाहना पलाएको थियो। त्यसैले आफ्नो इच्छाअनुसारकै काम गर्न पाएकीमा खुसी थिएँ।

एकदिनको कुरा हो। एक्कासि मेरो श्रीमान् प्रयास सरुवा भएर सुर्खेत जानुभयो। त्यसपछि म एक्लै भएँ घरमा। मेरा दुःखका दिनहरू झनै बढे। घर परिवारलाई आर्थिक सहयोग पनि गरेकी थिएँ। घरको सबै काम पनि मैले नै भ्याएकी थिएँ। मेरो माइती पनि झापामा राम्रै खानदानको हो। तर पनि किन यति धेरै दुःख दिएका मलाई? प्रश्न मनभरि आउँथे तर उत्तर कतै थिएन। अब त हुँदा हुँदा मेरो चरित्रहत्या पनि गर्न लागे परिवारका सदस्यले नै।’

जति उनी भन्दै जान्थिन्, उतिउति म भावविह्वल बनिरहेकी थिएँ। तर पनि उनलाई सुन्नुको विकल्प मसँग थिएन। उनले आफ्ना पीडा पोखिरहिन्-‘दुःख परेका बेला पोख्ने ठाउँ नै कहाँ थियो र? फेरि रुँदै रुँदै फुपूकै शरणमा पुगें। सोच्दै नसोचेका लाञ्छना लाग्न थालेकाले के गर्ने होला भनेर सोधिमागें। कहिले त आत्महत्या गरुँ कि जस्तो पनि नलागेको होइन। तर आमाबाबु र दाइभाइको अनुहार सम्झेर त्यसो गर्न पनि सकिनँ।

फुपूले व्यवसाय केही समयका लागि बन्द गर्न सुझाउनुभयो। भाइ भएको ठाउँमा जाऊ भन्नुभयो। मलाई पनि दिदीको सल्लाह ठीकै लाग्यो। अनि गएँ सुर्खेत। दिनहरू राम्रै बितिरहेका थिए। एउटी छोरी पनि जन्मिइन्। छोरीको पास्नीका लागि काठमाडौं आएँ। जब काठमाडौं आएँ, फेरि उही रडाको, उही अशान्ति, उही कचकच।

अब त ममाथि छोरीको लालनपालनको जिम्मेवारी पनि थपिएको थियो। त्यसैले अन्यथा सोच्न सक्ने कुरै भएन। प्रयास पनि बिस्तारै आफ्नो जिम्मेवारीबाट पछि हट्न थाल्यो। आफ्ना आमाबाको प्यारो छोरा प्रयासले आफू बाउ भएको पनि बिर्सियो। उल्टै मलाई बच्चा हेरेर मात्रै हुँदैन, घरको काम सबै गर् भन्ने आदेश दिन थाल्यो। पटकपटक ममाथि हातै उठाउने पनि गर्न थाल्यो। उसको पिटाइ खाँदा खाँदा म निकै शिथिल भइसकेकी थिएँ।

हेर्नूस् दिदी, यस्तो पढेलेखेर पनि मैले आफैंमाथिको हिंसाबारे खुलेर बोल्न सकिरहेकी छैन। मेरै घर परिवारमा भएको गलत कुरालाई मैले गलत भन्न सकिरहेकी छैन। म किन यति धेरै घरेलु हिंसा सहिरहेछु? आखिर कसका लागि? के हाम्रो समाजमा चेलीबेटीले जस्तो हिंसा पनि सहिरहनुपर्ने हो त? भन्नूस् दिदी, म यी प्रश्नको उत्तर कसरी पाउँछु? कोसँग पाउँछु? कहिले पाउँछु?

अब त प्रयास पनि घर छिटो आउँदैनथ्यो। ऊ आउँदा रातको १२–१ बज्थ्यो। एकदिनको कुरा हो-छोरी सुत्दै नसुतेर आत्तिइरहेकी थिई। निधार छाम्दा ज्वरो १०४ थियो। मैले धेरै फोन गरें तर पनि उसले मरिगए उठाएन। ऊ घर फर्कंदा रातको ३ बजेको थियो। छोरीलाई बढ्दै गएको ज्वरोले म आत्तिएकी थिएँ। ऊ आएपछि मैले भनें-अब त तिमी छोरा मात्र रहेनौ, मेरी छोरीको बाउ पनि हौ। आफ्नो जिम्मेवारी पनि नबिर्स। एकचोटि विगत फर्क। सम्झ त तिमीले मलाई मन पराएको क्षण। सम्झ त हाम्रो भविष्यका सपनाहरू बुनेको त्यो पल। सम्झ त सँगै जिउनेमर्ने अनि सुखदुःखमा साथ दिने वचन खाएको त्यो स्वप्निल समय। किन तिमीले यी सबै बिर्सियौ आज? प्रयास, प्लिज जिम्मेवार बन। हामी दुवैको मायाको चिनो छोरी संस्कृतिलाई हामी दुवै मिलेर हुर्काऔं। यसरी परिवारको समय बैरीलाई दिने प्रयास नगर। तिमी सुध्र...।

म भनिरहेकी थिएँ। उसको हात एक्कासि मेरो चुल्ठोतर्फ बढेको देखें। मादक पदार्थ पिएर आएको उसको हाउभाउ र गन्धबाटै प्रस्टिन्थ्यो। त्यसपछि चुल्ठोमा समाएर पिट्न थाल्यो। उसै त बिरामी छोरी, झन् आत्तिएर रुन थाली। तर पनि उसले रक्सीको सुरमा मलाई कुट्न छाडेन। लतार्दै तल ल्यायो र मुख्य ढोकाबाट बाहिर निकालिदियो। सासू पनि पछि पछि लागेर आउनुभयो। अनि भित्रबाट गेट ताल्चा मारिदिनुभयो। धेरैबेर रुँदै त्यहीं बसें। हल्ला गरुँ घरपरिवारको इज्जत जाला भन्ने पिर, नगरुँ कता जाने, कहाँ बस्ने, कसलाई भन्ने, आफ्नो दुःख आफैसँग छ भन्ने लाग्यो।

ज्वरोले छोरी आत्तिरहेकी थिई। मलाई निकालेर घरमा सबै आनन्दले सुतिरहेका थिए। यसो सम्झँदै जाँदा बुटिकमा आफैंले सफा गर्न राखेकी बैनीलाई सम्झें। ऊ त्यतै एउटा कोठा लिएर बसेकी थिई। उसको कोठामा गएँ। छोरीलाई तातो न्यानो बनाएर त्यहीं राखें। अहिले कीर्तिपुरमा छु। आमा पनि आउनुभएको छ। मलाई केही सोध्नुभएको त छैन तर उहाँको आँखाबाट अनायासै झर्ने आँसुबाट अनुमान लगाउन कुनै गाह्रो छैन कि उहाँले मेरो बाध्यता अवस्थाबाटै पढिसक्नुभएको छ।

दिदी, तपाईं उद्यमी संघमा हुनुहुन्छ। म पनि आबद्ध छु। हजुरका कुरा सधैं सुनिरहेकी हुन्छु। मेरो अभिभावक कोही पनि छैन। म कसरी अगाडि बढौं? सल्लाह दिनुस् दिदी प्लिज...।’

अब बोल्ने पालो मेरो थियो किनकि उनी मेरो मुखतर्फ हेरेर बसेकी थिइन् के आउँछ प्रतिउत्तर भनेर। उनको आशय बुझेपछि भनें-प्रकृति, मेरी स्कुले साथी कविता शर्मा नाम कमाएकी वकिल हुन्। उनीसँग सल्लाह माग्छु र तिमीलाई भन्छु।

यत्तिकैमा प्रकृतिले थपिन्- ‘बरु नगरपालिकामा कोही छ चिनेको? दुई वर्षसम्म मलाई माना चामल दिने व्यवस्था मिलाइदिए आमा छोरी पालिन्थ्यौं। त्यसपछि समयले प्रयासलाई हामीप्रति जिम्मेवारी बोध गर्न साथ दिन्छ कि? कुनै दिन फेरि हाम्रो परिवार सँगै पो भइहाल्छ कि?’

नभन्दै नगरपालिकामा कार्यरत एकजना साथीलाई फोन गरें। उनले न्यायिक समितिमार्फत प्रकृतिलाई न्याय दिलाउन सहयोग गर्ने आश्वासन दिइन्।

यसपछि प्रकृति घर फर्किन् एउटा आशाको किरण लिएर।

उनी त गइन्, त्यसपछि मन अशान्त हुने पालो मेरो पो बन्यो। पुष्पा न्यौपानेले आत्महत्या गर्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने प्रश्न कडैसँग उपस्थित भयो। एउटा मनले भन्यो-कति कायर रहिछन्। जाबो एउटा केटाले छाडेर गयो त के भयो। मान्छेले साठी वर्षको उमेरमा डिभोर्स गरेर त विवाह गर्छ। कसैले त चारचोटि डिभोर्स गरेर पनि विवाह गरेका छन्। अनि आफन्त ठानिएकै श्रीमान्, आमासरह पुजिँदै आएका सासू, बहिनीसरह मानिँदै आएका नन्द, सुखदुःखका सहयात्री ठानिँदै आएका घरपरिवारकै सदस्य किन हिंसामा उत्रन्छन्? प्रश्न एकपछि अर्को गरी आइरहे लाइनै लागेसरी। तर उत्तर ? अहँ, कतै थिएन।

अनि दिमागमा तँछाड मछाड गरी खेलिरहेका प्रश्नहरूलाई मिल्काएँ र अठोट गरें-हिंसापीडितलाई हिंसाको जरो चिनेर उपचार गर्न सघाउँछु। कानुनी उपचार खोज्न मद्दत गर्छु। पीडकलाई सजाय मात्र हैन, पीडितलाई न्याय पनि दिलाउन लागिपर्छु। अन्यायमा परेकालाई मर्न हैन, दृढ अठोटका साथ बाँच्न प्रेरित गर्छु।

अनि न पुष्पाझैं कोही मर्नुपर्छ, न पटक पटक मर्ने सोच बनाउँदै महिलाहरू हिंसाको आगोमा रापिएर बाँच्नुपर्छ। मात्र ढाडस आवश्यक छ यस्ता दिदीबहिनीलाई जो आशाको किरण लिएर फर्कन सकून्, प्रकृतिजस्तै।

प्रकाशित: २ पुस २०७९ ००:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App