कला

बालवाङमय सम्मान समर्पण

बालवाङमय तथा अनुसन्धान केन्द्रद्वारा आयोजित कार्यक्रममा वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरलाई ‘साहित्य सृष्टि बालवाङमय साधना सम्मान’ र सुश्री अनुज्ञा नेपाललाई ‘राकुपा बालवाङमय बालप्रतिभा पुरस्कार’ प्रदान गरिएको छ।

प्रमुख अतिथि केके कर्माचार्यले सम्मानपत्र प्रदान गरेका थिए। ‘साहित्य सृष्टि बालवाङमय साधना सम्मान’ २५ हजार रुपैयाँ र ‘राकुपा बालवाङमय बालप्रतिभा पुरस्कार’ १० हजार रुपैयाँको छ।कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले उपयुक्त व्यक्तिको चयनले पुरस्कार आफैं सम्मानित भएको बताए। उनले बालवाङमय तथा अनुसन्धान केन्द्रले पुरानो र नयाँ दुवै पुस्तालाई पुरस्कृत गरेर उदाहरणीय काम गरेको बताए।

सम्मानित स्रष्टा शान्तदास मानन्धरले नयाँ पुस्तामा अत्यधिक विदेशमोह देखिनुमा अभिभावकहरूकै कमजोरी रहेको र यो डरलाग्दो प्रवृत्ति भएको बताए।

वरिष्ठ साहित्यकार रामकुमार पाँडेले नयाँ पुस्तामा संस्कार, संस्कृति, भाषा र साहित्य प्रेम बढाउन कार्यलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरेको बताए।

कार्यक्रममा केन्द्रका अध्यक्ष प्रमोद प्रधानले अग्रज पुस्तालाई सम्मान, समकालीन पुस्तासँग सहयात्रा र आउने पुस्तालाई प्रोत्साहन नै संस्थाको उद्देश्य भएको उल्लेख गरे।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले सम्मानित र पुरस्कृत स्रष्टालाई बधाई दिंदै केन्द्रले महत्त्वपूर्ण कार्य गरेकोमा प्रशंसा गरे।

सो अवसरमा केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्वागत भाषण, कोषाध्यक्ष शान्ति सापकोटाले सम्मानित र पुरस्कृत व्यक्तिहरूको योगदानको चर्चा र सदस्य नेत्र तामाङले धन्यवाद भाषण प्रस्तुत गरेका थिए।

साहित्य सृष्टि बालवाङ्मय साधना सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उनकी श्रीमती ब्युटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले ५ लाख  रुपैयाँको अक्षयकोष राखिदिएका छन्।

यस्तै ‘राकुपा बालवाङमय बालप्रतिभा पुरस्कार’ का लागि वरिष्ठ साहित्यकार रामकुमार पाँडेले २ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष राखिदिएका छन्। दुवै पुरस्कार पहिलोपटक वितरण गरिएको हो।

प्रकाशित: २६ मंसिर २०७९ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App