कला

मुक्तककार पारखीको मनको मन्दिर सार्वजनिक

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा मुक्तककार केबी पारखीको मनको मन्दिर मुक्तकसंग्रह लोकार्पण भएको छ।

नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल,नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार किशोर पहाडी, प्रतिष्ठानका महासचिव रमेश पौडेल, अनेसास पोर्चुगल अध्यक्ष सावी श्रेष्ठ, मुक्तककारहरू: सुनिल अधिकारी, निशा केसी लगायतले  संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए।

प्राज्ञ विवश पोखरेलले मनको मन्दिर मुक्तकसंग्रहले मानव जीवनका आरोह-अवरोह, प्रेम-बिछोड, जीवन दर्शन, वैदेशिक रोजगारका पीडा, रेमिट्यान्स, सामाजिक विकृति-विसंगति लगायतका धेरै विषयवस्तु समेटिएकाले मुक्तकसंग्रह नेपाली मुक्तक साहित्यमा एक उत्कृष्ट कृति भएको विश्वास गरे।

मुक्तककार सुनिल अधिकारीले कृतिको सम्पादनको भूमिका निर्वाह गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै मुक्तक अझ ओजिलो बनेको बताए। साहित्यकार किशोर पहाडीले मुक्तक लेखनमा पारखीको जस्तो युवाको उपस्थितिले मुक्तकमा नयाँ आयाम थपिने बताउँदै निरन्तर लेखनको शुभकामना दिए। प्रतिष्ठानका महासचिव रमेश पौडेलले रेडियो कार्यक्रम सञ्चालनको दौरानमा पारखी जस्ता मुक्तककार पाउन सफल भएकोमा गर्व गर्दै मुक्तकिलो बधाई दिए।

त्यस्तै प्रतिष्ठानका सदस्य साहित्यकार राधेश्याम लेकालीले आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै मुक्तककार पारखीलाई बधाई दिए। अर्की अतिथि मुक्तकसागर सम्पादक निशा केसीले पारखीको मुक्तक लेखन र समग्र मुक्तक विधाप्रतिको लगाव उत्साहप्रद रहेकामा खुसी व्यक्त गर्दै शुभकामना दिइन्।

कार्यक्रममा मुक्तककारद्वय सावी श्रेष्ठ र अमृत भट्टराईले कृतिका आफूलाई मनपरेका मुक्तक वाचन गरेका थिए।

मुक्तककार पारखीले यसरी मुक्तक प्रतिष्ठानको आयोजनामा  कृति विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताए। उनले मुक्तक लेखनको अनुभव सुनाउँदै सकेसम्म मुक्तकमा आफ्नोपन दिएको र पाठकबाट पाएको सुझाव आत्मसात् गर्दै मुक्तक लेखनमा लागिरहने बताए।

कार्यक्रमका सभापति तथा मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले कार्यक्रममा उपस्थिति महानुभावलाई धन्यवाद दिंदै जापानलाई कर्मथलो बनाएर लामो समयदेखि मुक्तक लेखनमा सक्रिय पारखीको कृति ढिलो आए पनि उत्कृष्ट आएको भन्दै कृतिगत सफलताको शुभकामना व्यक्त गरे।

प्रकाशित: १५ मंसिर २०७९ ०३:१५ बिहीबार

अक्षर