आस्था कोपिला
भर्खरै अतित बल्झाएर गएको छ
तिमीलाई छुँदै आएको
बेसुर हावाको झोक्काले
असंख्य टुक्राएर आफ्नै मुटु
घाइते छु म।
सम्झन्छु,
एउटा बन्दी खामसँगै
सपनाको फूल सिरानीमा राखिदियौ
त्यो समय हिंड्नको निम्ति
आफ्नै जीवनको राजमार्ग दिए
थकाइको समय
मनको शीतल चौतारी दिए
रहरका बैजनी खित्काहरू सुम्पिएथे।
आफ्नै मुटु जस्तो तिमी
सनाखत गर्न नपाउँदै हरायौ
हृदयको उज्यालो बाली खोजेथे
कतिखेर आखाको जून पनि निभिसकेछ।
पीपलको हाँगामा सधैं बस्ने
एक जोडी चखेवा छुटेपछि पो थाहा भयो!
बिहान नहुँदै
हाम्रा साझा सपना पनि छुटी हिंडेछ
झोलामा गरूँङगो उदासीनता बोकी।
बाँधेर निष्ठुर साङ्लाले
पखाले स्मृतिको गंगा आँखाबाट
फर्किएर कहिल्यै नआउने सर्तमा
सिमाना कटाए-यादको तस्वीर।
ऐना अघिल्लतिर
उहीं एक्लो साँझ
आफूजस्तै रोइरहेछ...
रित्याएर आफैंलाई
क्रमशः निभाइरहेछु-म
परन्तु!
तिमी हुने छनौ कहिल्यै
अब मेरा सम्झनाहरूमा।
प्रकाशित: १२ मंसिर २०७९ ०५:२६ सोमबार