राजकुमार कार्की
१) गुन
शिव ‘विष्णु,भस्मेले मार्यो,बचाऊ मलाई बचाऊ’ भन्दै आउँदै थियो।
त्यो देखेर विष्णु हतारिंदै शेष शयनबाट बाहिर आउँछ र सोध्छ, ‘शिव, के भयो? किन दौडेको?’
‘यसले साहै्र तेल घस्यो। लु संघीय दिक्पाल भएस् भनेर वरदान दिएको अहिले मलाई नै...!’ भन्दै डराएर शिव भस्मेतिर हेर्छन्।’
विष्णु भन्दै थियो, ‘कलियुगमा कुखुरालाई नुन मान्छेलाई गुन पच्तैन भनेर तिमीलाई थाहा छैन!
२) बाटो
आ–किन हो ‘अ’ टोलाएर बसेको?
अ–के गर्नु समस्यै समस्या छ।
आ–समस्या जिउँदाको त हुन्छ। मुर्दाको हुन्छ र!
अ–केही गर्न खोज्यो,सबै बाटो छेक्छन्।
आ–बाँचेकाको त बाटो त छेक्छन्। मरेकाको त बाटो छोड्छन्।
३) चेपारे
सपना कपडा हुत्याउँदै झर्किंदै थिइन्, ‘आफ्नो लुगाफाटाको कहिल्यै ठेगान नहुने। सधैं मैले खोजिदिनुपर्ने।’
यो हर्कत हेरिरहेको महेश टोलाइरहन्छ। दुई साताअघि हातमा तलब थमाइदिंदा मीठो मुस्कानका साथ चिया-चमेना र अफिस जान लाग्दा कोट पहिराउने श्रीमतीको आज यो चन्डी रूप देखेर ऊ छक्क पर्यो।
महेश भन्दै थिए, ‘सपना, यो पैसा राख त अस्ति चुनावमा खटेको भत्ता।’
त्यसपछि पैसा दिएर ऊ अफिस जान लाग्छ।
बाजले चल्लो टिपे झैं पैसा टिप्तै सपना एकाएक चेपारो घस्न थाली, ‘कस्तो सिकुटे भैस्यो हजुर! एक गिलास दूध पिएर गैस्यो है!’
३) प्रतिप्रश्न
राजनीति फोहोरी खेल हो। यसमा लागेर समय खेर फाल्नु हुन्न। जताततै भ्रष्टाचार, महँगी,अत्याचार र हत्याहिंसा ...!
एउटा सडक अन्तर्वार्ता सुनिरहेको असीम टिभी बन्द गरेर ठुस्किंदै आमासँग सोध्छ, ‘आमा,राजनीति साँच्चै फोहेरी खेल हो त!’
आमा भन्छिन्, ‘भाँडो हिराकै भए पनि के गर्नु, त्यसमा फोहोर हालेपछि।’
असीमले सोध्यो, ‘के भन्नुभएको हो? मैले त बुझिन। प्रष्टसँग भन्नूस् न।’
आमा: ह्या यो केटा पनि अनेक सोधेर हैरान गर्छ। सोध तेरै बाउलाई।
असीम डराईडराई बुवाछेउ पुग्छ। साहस गरेर सोध्छ,‘बा, राजनीति फोहोरी खेल हो त?’
बा, ‘होइन, नीतिमा उत्तम नीति राजनीति हो छोरा...।
असीमको अनुहार उज्यालो भयो।
बाले काखमा तान्दै फेरि भन्नुभयो, ‘राजनीति मानव सेवा हो। यो फोहोरी खेल भए गान्धी,मन्डेला र लिंकनले यो खेल किन खेल्थे?’
४) भय
घुरन भाइलाई कराउँदै थियो,‘हाम्रो तराईको चलन हो। यत्रो इञ्जिनियर भएको छोरालाई रित्तो हात बिहे गर्ने तँ।’
पुरन दाइलाई सम्झाउँदै थियो, ‘अर्काले दिएकाले कति दिन पुग्छ र? बुहारी गतिली छन्, त्यही नै ठूलो सम्पत्ति हो दाइ।’
आफ्नो ससुराको कुरा सुनेर दुलही मिना खुसी भइन्। पछि फेरि कतै दाइजोको भूत चढेर यो हाँसो आँसु त बन्दैन भन्ने डर उनलाई लागिरहेको थियो।
भोज-भतेर सकियो। पाहुना बिदा भएपछि मिनालाई दुलहाको कोठामा लगियो। दुलहा आएका थिएनन्। मिनाले कोठाका एकएक चिज नियालिन्। अन्तमा एउटा ठूलो पेट्रोलको ड्रममा आएर उनको आँखा अडियो।
उनी छाँगाबाट खसे जस्ती भइन्। उनको ओठ-मुख सुक्यो। कतै यसैबाट आफू जल्नुपर्ने त होइन।
एक्कासि ससुरा र दुलहाको कोठामा प्रवेश हुन्छ। मिना सम्हालिएर बस्छिन्। ड्रम देखाउँदै ससुरा भन्दै थिए, ‘तँ पेट्रोलको चिन्ता नगर, छँदै छ। बुहारी स्कुटर चढेर भोलि नै कलेज जान्छिन्। बरु चलाउन नआए तैंले सिकाउनू।’
प्रकाशित: ११ मंसिर २०७९ ०५:२१ आइतबार