कला

बन्न बाँकी रहेको ‘मातृभूमि सजावट योजना’

हाम्रो प्यारो मातृभूमि नेपालको सुन्दरता हेरेर कहिल्यै अघाइँदैन। यसको सम्पूर्ण बयान गर्न कविकल्पना पनि सक्षम होलाजस्तो लाग्दैन।

हिमाल, पहाड, तराई, भित्री मधेस, खोँच, कछाड, बेंसी, उपत्यका, गल्छी, टार, भञ्ज्याङ ! असङ्ख्य वनजङ्गल, खोलानाला र झरनासहितको रमणीय संसार ! वर्षभरिमा छवटा ऋतुको आगमन ! केही किलोमिटरको फरकमा फरक-फरक अनुभव गर्न सकिने मौसम ! मन्त्रमुग्ध पार्ने जमिनको यो बहुरूपी बनावट र वातावरण विश्व-प्रकृतिको अनुपम वरदान नै हो।

अन्य देशको मरुभूमिमा कोही बटुवाले बाटो भुल्यो भने त्यहाँ ऊ भोकले भन्दा पनि पहिले प्यासले मर्छ होला। तर हाम्रो देशको कुनै पनि अनकन्टार ठाउँमा कसैले बाटो बिरायो भने कैयौं दिनसम्म पनि ऊ भोकप्यासले मर्दैन। किनभने त्यहाँ कतै न कतै पानी त हुन्छ नै। पानीका साथै त्यहाँ जुनसुकै मौसममा पनि कुनै न कुनै फलफूल पाकिरहेका हुन्छन्।

यस्तो स्वर्गभूमिका बासिन्दा हौँ हामी।

प्राकृतिक हिसाबले नेपाल एउटा स्वर्गको बगैंचा नै हो। त्यस्तै जातीय, धार्मिक तथा सांस्कृतिक हिसाबले यसलाई ‘चार वर्ण छत्तीस जातको साझा फूलबारी’ पनि भन्न सकिन्छ। हो, बगैंचा निश्चय नै राम्रो हुन्छ। त्यहाँ फुलेका फूलहरू धेरै राम्रा हुन्छन्। तर रोपिने विभिन्न जातका फूलका बोटहरू अलि मेहनतका साथ मिलाएर रोपियो भने त्यो बगैंचा झनै राम्रो देखिन्छ।

विश्वमा कतिपय मरुभूमिमय देशलाई पनि हराभरा बनाउने प्रयास गरिएको पाइन्छ। तर हाम्रो देशचाहिँ प्राकृतिक रूपमै आफैमा अनुपम सुन्दर भईकन पनि यसको सुन्दरता रक्षा गर्ने र यसलाई अझ सुन्दर बनाउने सम्बन्धमा अहिलेसम्म कुनै योजना नै बनाइएको छैन, अलिकति पनि मेहनत नै गरिएको छैन। जति जे भएको छ, आफै भएको छ। आफै हुनु अवश्य पनि राम्रो हो। तर त्यसमा थोरै हामीले पनि मिहिनेत गर्ने हो भने सुनमा सुगन्ध हुन्छ भन्ने कुरा किन बिर्संदै छौँ? यो हामी देशभक्त नेपालीका लागि निकै दुःखको कुरो हो।

मान्छे सभ्य र विवेकी प्राणी पनि भएको हुँदा, शृङ्गारप्रिय हुनु स्वाभाविकै हो। तर यो अत्याधुनिक समयमा आइपुग्दा यसले खर्चिलो रूप लिएको छ। अस्थायीरूपमा मान्छे सिँगार्नकै लागि महँगो रकम खर्च गर्ने गरी जटिल रासायनिक तरिकासहितको ‘ब्युटी पार्लर’ खोलिएको पाइन्छ। यो अनिवार्यभन्दा पनि विलासी आवश्यकता र देखौवा जीवनशैलीका रूपमा लोकप्रिय भइआएको छ।

अब यसलाई पनि सुन्दरताकी प्रतीक हाम्रा आर्यमाता, देवीजीहरूका लागि अनिवार्य नै मानौं। तर यसै सन्दर्भमा मातास्वरूपा नेपाल आमालाई सिँगार्ने कुरामा चाहिँ किन कसैको पनि ध्यान जाँदैन? हामी आम नेपालीको बानी नै गुणमा भन्दा रूपमा ध्यान दिने खालको भएर नै होला, नेपाल आमालाई सुन्दर बनाउने नाममा जताततै कृत्रिम टावर ठड्याइँदै छ। यो भनेको कमिसन पाउनका लागि, ‘बनाउने र बिगार्ने अनि फेरि बनाएको स्वाङ रच्ने’ खालको ‘विकासको नयाँ मोडल’ लाई निरन्तरता दिइएको हो भन्ने कुरा नबुझ्ने अब पनि कोही बाँकी होलान् र !

भनिन्छ, ईश्वरभन्दा पनि माथि देश हुन्छ। त्यसपछि मात्र मातापिता र गुरुको क्रम आउँछ। यस्तो सर्वाधिक महत्त्वको देश सिँगार्नका लागि सस्तो र सरल प्राकृतिक तरिकाको ‘मातृभूमि सजावट योजना’को सोचचाहिँ किन कसैको मनमा आउँदैन ? किन यससम्बन्धी योजना बनाएर कार्यान्वयन गरिँदैन? जब कि यहाँ केन्द्रमा राष्ट्रिय योजना आयोग, प्रदेशैपिच्छे योजना आयोग र अधिकारसम्पन्न स्थानीय सरकारहरू पनि छन्। विकास र समृद्धिका ठुलाठुला गफचाहिँ जहिल्यै छाँटिएका छन्। बेलाबखत कागजी योजना पनि बनाइएका छन्। तर समग्र देशलाई सुन्दर बनाउनेसम्बन्धी योजनाचाहिँ कहिल्यै र कतै पनि सुन्न पाइएको छैन। त्यसैले यो प्यारो देशको सुन्दरता संरक्षण गरेर र सम्हालेर यसलाई अझै सुन्दर बनाउने काम आजसम्म थालिएकै छैन भन्दा पनि हुन्छ। आज यसैबारेमा सामान्य चिन्तन गर्न मन लागेको छ।

हाम्रो राष्ट्रिय फूल लालीगुराँस हो। यो पाइने हिमाली क्षेत्र र पहाडी क्षेत्रको माथिल्लो भाग पूर्वदेखि पश्चिमसम्म ठाउँठावैं यसको संरक्षण गरी कुशल बगैंचे लगाएर ‘लालीगुराँस क्षेत्र’का रूपमा सजाउने काम बाँकी नै छ।

आँप, पीपल, वर, पाखर र डुम्री वा शमीलाई समष्टिमा ‘पञ्चपल्लव’ भनिन्छ। यिनको बहुगुणी विशेषता र विशेष महत्त्व, छुट्टै खोज र चर्चाको विषय हुनसक्छ। सडकको भूगोल अनुसार यी पाँच जातका रूखमध्ये आँप र पीपलको सङ्ख्या बढाएर प्रत्येक पाँचदश किलोमिटरमा लगातार पाँचपाँच वा दशदश बोटका दरले मिलाएर रोप्न सके कति राम्रो हुन्थ्यो होला ! अनि त्यो सडक खण्डको नामै त्यो ठाउँसँग जोडेर ‘पञ्चपल्लव मार्ग’ राखिदिने।

सजावटका लागि रोपिने अनेक जातका रुख, फलफूल र वनस्पतिमध्ये एउटा धुपी पनि हो। मसलाका रूपमा खाइने सिन्कौलेको बोट आकर्षक पनि हुन्छ। ठाउँको उपयुक्तता हेरेर यी दुवैलाई मिलाएर रोप्ने काम पनि बाँकी नै छ। चिउरीको फूल मौरीले अति मन पराउँछ। यसको बिरुवा रोपेर जङ्गलै चिउरीमय बनाइदिने हो भने मौरीपालनबाट फाइदा लिन सकिन्छ। मौरीले परागसेचनमा विशेष भूमिका निर्वाह गर्ने भएको हुँदा कृषिबाली उत्पादनमा पनि वृद्धि हुने भयो।

बाँस एउटा बहुउपयोगी वनस्पति हो। यसका धेरै प्रजातिहरू हुन्छन्। अन्य देशमा यसबाट धेरै किसिमका सामान बनाएर निर्यात गरिन्छ। हामीकहाँ भने बाँसबाट निर्मित चपिङ बोर्ड र दाँत कोट्याउने सिन्का समेत उल्लेख्य रूपमा आयात गरी प्रयोग गर्ने गरिएको छ। त्यसैले, बाँच्दा मात्र होइन मर्दा पनि चाहिने बहुउपयोगी बाँसको जङ्गल बनाउन आवश्यक छ। यसलाई, सडकको दायाबाया दुवैतिर टन्नै रोपेर सजाउन सके सडकलाई पहिरोबाट र सवारी साधनलई थप दुर्घटना हुनबाट जोगाउन सकिने थियो।

सहरका सडकपेटी र सडकसँगै जोडिएका सानातिना टुक्रेजग्गामा कतैकतै दुबो रोप्ने त गरिएकै छ। तर ती ठाउँमा सजावट र बार सँगसँगै काम गर्ने तथा छिटै बढ्ने, नास्पाती र लप्सीका बिरुवा रोप्न सकिएको छैन। नेपालमा मात्र पाइने भनिएको लप्सीलाई पाँचछ फिट जति सुरिलो हुन दिएर त्यसभन्दा माथि पुगेपछि हाँगिलो हुन दिने हो भने फल खान पाइनुका अतिरिक्त त्यसबाट बार र सजावटका काम पनि हुने थियो। पदयात्राका हिसाबले सुन्दर र रमाइला मानिएका हिमाली प्रदेशका धेरै ठाउँहरू विकट छन्। ती ठाउँका ठाउँठाउँमा पदयात्री बास बस्न मिल्ने टहरासम्म बनाएर सजाइदिन सके पदयात्रीहरूले दुःख पाउँथे। त्यसो भएमा उक्त ठाउँको पर्यटकीय महत्त्व नै अर्कै हुने थियो।

हाम्रा थुप्रै सुख्खा पाखाहरूलाई पनि पानी कम चाहिने बेगमबेली फूल लगाएर आकर्षक बनाउन सकिन्छ। हात्तीबार रोपेर सजाउन सकिन्छ। कपास खेती गरेर फाइदा लिन सकिन्छ। उपायहरू कति छन् कति !

शमी झम्म परेर बढ्ने सदाबहार जातको रूख हो। हिन्दु संस्कार र संस्कृतिमा यसको विशेष महत्त्व छ। यही बुझेरै पनि होला, उपत्यकामा पनि धेरै ठाउँमा यसको रूख देख्न पाइन्छ। ओसिला खोंच तथा रमाइला बेंसीका बाटाहरूमा लहरै शमी रोपिदिने हो भने त्यसको शीतलमा बसेर बटुवाहरूले स्वर्गीय आनन्द लिन सक्छन्।

बाटो खन्ने क्रममा धेरै ठाउँमा ठुलाठुला वरपीपलका रूख नष्ट पारिएका छन्। तर ती ठाउँमा फेरि वरपीपल लगाएर चौतारो बनाइदिने काम कसैले सम्झेकै छैन। वरपीपल रोप्ने कामलाई एउटा अभियानकै रूपमा देशव्यापी गर्नुपर्ने हो। आफै भएका ठाउँमा त संरक्षण गर्नु छँदै छ। नभएका पनि डाँडाडाँडामा सिमल रोप्नुपर्छ भन्ने ज्ञान कसैलाई पनि भएको देखिएन।

भनिन्छ, सिमल जातको रूखवरिपरि पलाइ आएको पानीको मूल सुक्दैन र नभएको ठाउँमा नयाँ मूल फुट्छ। फूल फुल्ने मौसममा त्यसमा फुल्ने राता रङका ठुलाठुला फूल र ती फक्रेपछि उड्ने कुहिरोसरिका सेता भुवाले त्यसवरपरको वातावरण धेरै रमाइलो बनाउँछ।

सजाउनका लागि रूख हुने जातका विभिन्न फूलका बोटहरू पनि रोप्न सकिन्छ। पारिपट्टिको पाखामा आरुबखडा, पारिजात, पैयुँ यसरी मिलाएर रोप्ने जसमा एउटा जातको फूल फुल्दा ठुलो अक्षरमा त्यस क्षेत्रको नामै लेखियोस्। मौसम अनुसार अर्को जातको फुल्दा अर्कोले नाम लेखोस्। हवाईजहाजबाट यात्रा गर्दा पनि, नचिनेको मान्छेले समेत आकाशमार्गबाटै त्यो ठाउँको नाउँ थाहा पाओस्। वारिपट्टिको पाखालाई पनि त्यसै गरी सजाउने। यसै गरी हाम्रा गाउँपालिका, प्रदेश र देशकै नाम फूल, वनस्पति र रूखबाट प्राकृतिक रूपमै लेखेर राख्न सके ‘प्राकृतिक सुन्दरतामा कहलिएको देश, नेपाल’ सार्थक हुने थियो। हाम्रा माटोको स्वरूप र बनोट फरकफरक छ। ठाउँअनुसार सप्रने अलगअलग जातका रूखहरू-ओखर, उत्तिस, चिलाउने, साल, साज, आँप, खयर, क्यामुनु, जामुनु मिलाएर रोप्ने योजना किन नबनाउने?

खासगरी रक्तचाप नियन्त्रण गर्ने प्राकृतिक औषधिका रूपमा खाइने सिस्नो, सहरका ‘डिपार्टमेन्ट स्टोर’मा धुलोका रूपमा किन्नुपर्छ। महँगो मूल्यमा किन्नुपर्ने तर गाउँघरमा झाडीका रूपमा जताततै पाइने सिस्नोलाई फाँडेर नष्ट गर्नुपरेको छ। त्यसलाई व्यवस्थित रूपमा खेती नै गरेर सजाउने कामको थालनी भएकै छैन। अल्लो जस्तो बहुउपयोगी वनस्पतिबाट फाइदा लिन सकिएकै छैन। सिस्नो र अल्लो दुवै वनस्पतिलाई ‘गुणकारी खाना र राम्रो नाना’का रूपमा सजाएर व्यावसायिक खेती गर्न कहिलेदेखि सुरु गरिएला? खासगरी हिमाली र पहाडी क्षेत्रमा पाइने अनेक थरीका मृतसञ्जीवनी जडीबुटीलाई संरक्षण गरेर खेतीका रूपमा सजाउने काम थालिएकै छैन। यसो नहुँदा कतिपय जडीबुटी लोप भइसकेका र कतिपय हुने अवस्थामा रहेका छन्।

हाताहाती नगद पाउने हिसाबले मूल्याङ्कन गर्दा, पछिल्ला वर्षमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ निकै लोकप्रिय भएको थियो। तर उक्त कार्यक्रमअन्तर्गत गल्लीका झार टिप्ने, चौरको वल्लो छेउमा रहेको माटो पल्लो छेउमा पुर्‍याउने र कान्लाका स्याउला उखेल्नेजस्ता काम गराइए। त्यसको साटो, थोरै भए पनि देशलाई सजाउने र दिगो विकासको काममा प्रयोग गर्न सकिएको भए साह्रै राम्रो हुने थियो।

केही वर्षयता आएर हाम्रो देशका धेरै सामुदायिक जङ्गललाई अनावश्यक झारबुट्यानले ढाक्न थालेको छ। ठूलाठूला वनजङ्गल मात्र होइन, उपत्यकाका सानातिना खाली जग्गा पनि त्यस्ता मिचाहा प्रजातिका झार-वनस्पतिले ढाकिएर कुरूप हुन थालेका छन्। त्यस्ता झार-वनस्पतिमध्ये एउटा वनमारा पनि हो। यसलाई कतै लहरे वनमारा/सेतो वनमारा पनि भन्छन्।

वनमाराले आफ्नो नामैअनुरूप वनलाई मार्दै लगेको छ। यसका विभिन्न प्रजाति जताततै फैलिएका कारण भुइँमा घाँस र बिरुवा उम्रन छाडेका छन्। जडीबुटीका विरुवा उम्रिन र फस्टाउन नसकी मासिँदै गएका छन्। त्यसैले मिचाहा प्रजातिका झारको बढ्दो उपस्थिति र यसले सिर्जना गरेको नचाहिँदो कुरूपतालाई हटाएर अरू सुन्दर र उपयोगी वनस्पतिलाई सजाउने काम स्थानीय तहहरूले गर्न बाँकी नै छ।

हाम्रा सहरबजारहरू पनि मानवनिर्मित सुन्दरताका प्रतीक हुनुपर्नेमा मानवसिर्जित कुरूपताका सूचक बन्दै छन्। फोहोर विसर्जनमा देखिएको लापर्बाहीले सुकिला मानिसका फोहोरी चेतना बताउँदै छन्। एक त अव्यवस्थित बसाइ, त्यसमा पनि धुवाँधुलो फ्याँक्ने खालका केही उद्योगधन्दा पनि सहरमै भएकाले तिनले मानव स्वास्थ्यमा नराम्रो असर पार्दै छन्। यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा निम्तिएको कुरूपता निकै भयावह देखिन्छ।

‘माल पाएर के गर्नु चाल पाए पो !’ भन्ने उखान छ। हामीसँग संसारकै सुन्दर देश भएर पनि यहाँ प्रशस्त पर्यटक भित्र्याउन सकेका छैनौं। उनीहरूमध्ये कतिपय किन हाम्रातिरका नदी, पहाड, जङ्गल, मन्दिरभन्दा भारततिरका मन पराउँछन्? किनभने हामीले हाम्रा चीजलाई थोरै सजाउने प्रयास गरेर मूल्यवान् बनाउन सकेकै छैनौं। त्यसैले हाम्रा घर, गाउँ, सहर, सडक, बाटाहरू, पाटाहरू, बजार सजाउनु छ। जङ्गल, पहाड, खोला, नदी सजाउनु छ।

यो विश्वकै सुन्दर देशलाई अझै सुन्दर बनाउन स्थानीय तहैपिच्छे ‘कन्ट्री ब्युटी पार्लर’को योजना बनाउनु छ। यहाँका युवा शक्ति विदेश सिँगार्दै छन्। तिनलाई यही देश सिँगार्नका लागि यहीं टिकाउने काम गर्न बाँकी नै छ। दक्ष जनशक्तिलाई यहीं बिकाउने योजना बनाउन बाँकी नै छ। यस विषयमा काम गर्न अब वनस्पतिविद्, भूगोलविद् र नेपालविद्हरू जुर्मुराउनुपर्छ। अन्य अनावश्यक मन्त्रालयलाई कटाएर र जनप्रतिनिधिको सङ्ख्या घटाएर भए पनि एउटा ‘मातृभूमि सजावट मन्त्रालय’ बनाउनुपर्छ। 

प्रकाशित: १० मंसिर २०७९ ०१:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App