सरिता बलामी
१) अराजकताको परिणाम
बने ऐनकानुन अब्बल ग्रन्थका पाना भरी
धकेल्दै छन् राष्ट्र अराजकतातर्फ घुसखोरी
बढ्दै गए संसारमा दुराचारी र अत्याचारी
न्याय गए हराउँदै ती अन्यायीका वश परी।
दुःखी-पीडितका अश्रुले धरती नै गल्ने भए
अब्बल ऐन खालि किताबमै सीमित रहे
रुँदै छन् आमाबाबु पीडितका बन्धुवान्धव
सहन नसकी प्रकृतिले गर्न लागिन् ताण्डव।
धरती क्षतविक्षत भए मौन भए सगर
व्याकुलित भए जीवजन्तु सम्पूर्ण चराचर
हाहाकार मच्चियो त्यसैले सारा संसारभरि
फैलिन थाल्यो बाढी पहिरो भूकम्प महामारी।
प्रकृतिको कोप पनि बाध्य भए सहन जन
उसैमाथि झन् थपियो क्रूर मानवको शासन
बढ्दै गए मनुष्यका मनभित्रका अहङ्कार
आसुरी प्रवृत्ति बढ्दै जाँदा जग भो अन्धकार।
२) नाट्यशाला
भवरूपी सागरको यो जग हो नाट्यशाला
मनु हुन् चरित्र निभाउने नटनटी सारा
सुख र दुःख जीवनका हुन् एक पटाक्षप
क्षणभंगुर जिन्दगी आखिर नियतिको वश।
मनु हिंड्छन् अभ्यन्तरमा नाना सपना सजाई
स्वप्न पूरा गर्न पथ हिंड्छन् कैयौं दृष्टि फिराई
अर्थ पाउने लालसामा फस्छन् कुलतमा मानिस
एउटा गल्ती छोप्न हजारौं गल्ती गर्छ मानिस।
व्यर्थ ती अकिञ्चन ठगी पाएका सुख सम्पत्ति
सेवा धर्म सम्झी साम्य भाव जगाऔं सबैप्रति
पञ्च तत्त्वले निर्मित देह यही धर्तीमै मिल्नु छ
अहं, वैभव र धनजन यहीं त्यागी जानुछ।
लोभ, क्षोभ मोहका वश परेका मनुष्य सारा
गर्नु हुन्न ज्ञानरुपी चक्षु खोल्न अब अबेला
जाग्नुपर्छ अब नभका काला बादल हटाई
लाग्नुपर्छ अन्यायका विरुद्ध आवाज उठाई।
प्रकाशित: ७ मंसिर २०७९ ०४:०७ बुधबार