प्रविधि

२६ ट्रिलियन डलरका टेक कम्पनीसँग ट्रम्पको एआई सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुल २६ ट्रिलियन डलरभन्दा बढी बजार पुँजीकरण भएका ठुला प्रविधि कम्पनीका प्रमुखसँग एआईलाई ‘आत्मनियमन’ गर्ने सम्झौता गरेका छन्।

एआईको तीव्र विकाससँगै यसबाट हुन सक्ने जोखिम कम गर्न थप सुरक्षा व्यवस्था आवश्यक रहेको बहस भइरहेका बेला यो सम्झौता भएको हो।

ट्रम्पले बुधबार ह्वाइट हाउसमा एआई कम्पनीका प्रमुखसँगको भेटपछि सम्झौताको घोषणा गरेका हुन्। बैठकमा ओपनएआईका ग्रेग ब्रोकम्यान, एन्थ्रोपिकका डारियो अमोदेई, मेटाका मार्क जुकरबर्ग, गुगलका सुन्दर पिचाई, एनभिडियाका जेन्सेन हुआङ, अमेजनका संस्थापक जेफ बेजोस र स्पेसएक्सका एलन मस्कलगायत सहभागी थिए।

सम्झौतामा कम्पनीहरूले एआई प्रणालीमा ‘बलियो आन्तरिक नियन्त्रण’ लागू गर्ने उल्लेख छ। ती नियन्त्रण प्रभावकारी छन् कि छैनन् भनेर जाँच गर्न स्वतन्त्र बाह्य लेखापरीक्षकसँग काम गर्ने र त्यसको समीक्षा गर्न कम्पनीका सञ्चालक समितिमा छुट्टै समिति बनाइनेछ।

कम्पनीहरूले आफ्ना एआई उपकरणले ‘अनावश्यक तरिकाले प्राविधिक प्रणालीमा प्रवेश वा ह्याक नगरुन्’ भन्ने सुनिश्चित गर्न काम गर्ने बताएका छन्। भविष्यमा यस्ता व्यवस्था कानुन र नियममा समेट्न सकिने पनि सम्झौतामा उल्लेख छ।

ह्वाइट हाउसले एआई कम्पनीहरूले आफ्ना प्रणालीको सुरक्षाका लागि पर्याप्त काम नगरेको भन्दै आलोचना भइरहेका बेला सम्झौता भएको हो। ओपनएआई र एन्थ्रोपिकका एआई प्रणाली अन्य कम्पनीका प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरेको घटनापछि एआई सुरक्षाबारे चिन्ता थपिएको थियो।

ह्वाइट हाउस बाहिर पत्रकारसँग कुरा गर्दै ट्रम्पले सम्झौतालाई ‘लगभग संविधानजस्तै’ भएको बताए। उनले भने, ‘म ठुलो आत्मनिरीक्षण देखिरहेको छु। उनीहरूले आत्मनिरीक्षण गर्नुपर्छ भन्ने बुझेका छन्।’ उनले एआईको सुरक्षाको निगरानी गर्न १० सदस्यीय बोर्ड बनाउने विषयमा पनि सोचिरहेको बताएका छन्। तर त्यसमा को-को रहने भन्ने कुरा भने खुलाएनन्। एआई नीतिको नेतृत्व गर्न चाँडै नयाँ अधिकारी नियुक्त गर्ने पनि उनले बताएका छन्।

ट्रम्पले एआई मोडेल सञ्चालन गर्न आवश्यक डेटा सेन्टर विस्तारको समर्थनसमेत दोहोर्‍याएका छन्। तर विद्युत्को माग, ऊर्जा लागत र स्थानीय प्रभावका कारण अमेरिकाका विभिन्न समुदायमा डेटा सेन्टर निर्माणको विरोध हुँदै आएको छ।

सेप्टेम्बर १७ देखि २० सम्म गरिएको एक सर्वेक्षणमा करिब ७३ प्रतिशतले एआई कम्पनीहरूले समाजमा गम्भीर क्षति हुन नदिन पर्याप्त काम नगरेकोमा चिन्ता व्यक्त गरेका थिए। ५५ प्रतिशतले एआई विकास केही सुस्त बनाउनु राम्रो हुने बताएका थिए।

यसैबिच, मंगलबार ट्रम्पले सरकारी निकायलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गर्न निर्देशन दिएका छन्। उनले अमेरिका एआई विकासमा चीनभन्दा अगाडि रहेको र यो प्रतिस्पर्धामा अमेरिका नेतृत्वमा रहने बताएका छन्।

एआई विज्ञ जेफ्री हिन्टनले भने ट्रम्पको एआईसम्बन्धी बुझाइमा प्रश्न उठाएका छन्। ट्रम्पको घोषणा हुनुअघि उनले भने, ‘मलाई लाग्छ डोनाल्ड ट्रम्पले वास्तवमा एआई बुझ्दैनन् र उनी एआईका विषयमा गलत सल्लाह दिइरहेका छन्।’

हिन्टनले एआई सुरक्षाको निगरानी खाद्य तथा औषधि प्रशासनजस्तै सरकारी निकायमार्फत हुनुपर्ने बताएका छन्। उनले एआईबाट उत्पन्न हुन सक्ने जोखिमलाई घरमा बाघको बच्चा पाल्नुसँग तुलना गरेका थिए।

ट्रम्पसँगको बैठकमा पालान्टिर, ओपनएआई, माइक्रोसफ्ट, अमेजन, एएमडी, एन्थ्रोपिक, ब्रोडकम, मेटा, एनभिडिया, एक्स, टेस्ला, स्पेसएक्स, अल्फाबेट, माइक्रोन, सर्भिसनाउ र पालो अल्टोलगायत कम्पनीका प्रतिनिधि सहभागी थिए।

यीमध्ये सार्वजनिक रूपमा कारोबार हुने कम्पनीहरूको कुल बजार पुँजीकरण २६ ट्रिलियन डलरभन्दा बढी रहेको छ। एजेन्सीको सहयोगमा

प्रकाशित: १४ आश्विन २०८३ ०७:०१ बुधबार