कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी विकासबाट नेपालले कसरी लाभ लिन सक्छ भन्ने विषयमा बहस गर्न आगामी कात्तिक २१ गते काठमाडौंमा तेस्रो राष्ट्रिय एआई सम्मेलन आयोजना हुने भएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय विज्ञ, नीतिनिर्माता, अनुसन्धानकर्ता तथा प्रविधि उद्यमी सहभागी हुनेछन्।
डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘नेसनल एआई समिट २०२६’ को मूल नारा ‘फ्रम प्रमिस टु प्रोग्रेस : अपस्केलिङ नेपाल्स एआई क्यापासिटी’ अर्थात् सम्भावनाबाट प्रगतितर्फ नेपालको एआई क्षमता विस्तार भन्ने रहेको छ। सम्मेलनमा एआईको विकास र प्रयोग, आवश्यक पूर्वाधार, दक्ष जनशक्ति उत्पादन तथा नीतिगत प्राथमिकताबारे छलफल हुनेछ।
सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरमा कार्यरत एआई तथा प्रविधि क्षेत्रका विज्ञ सहभागी हुने आयोजकले जनाएको छ।
संयुक्त राष्ट्रसंघको डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा एआई र साइबर सुरक्षा नीतिविज्ञ निक एस्टन–हार्टले सम्मेलनमा अन्तर्राष्ट्रिय मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। उनले विश्वव्यापी एआई प्रतिस्पर्धा, प्रविधिमा बढ्दो शक्ति केन्द्रीकरण र नेपालजस्ता विकासशील मुलुकले अवलम्बन गर्न सक्ने रणनीतिबारे धारणा राख्नेछन्।
‘द न्यु एआई ल्यान्डस्केप : ग्लोबल सिफ्ट्स, नेपाल्स स्ट्राटेजिक च्वाइसेस’ शीर्षकको अन्तर्राष्ट्रिय सत्रमा बेलायतको युनिभर्सिटी अफ योर्कका पूर्वप्राध्यापक तथा वाइजयाकका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. सुरेश मानन्धर र सिंगापुरस्थित एआई एसिया प्यासिफिक इन्स्टिच्युटका बोर्ड अध्यक्ष डा. पिटर ब्रिम्बल सहभागी हुनेछन्।
उक्त सत्रमा एआई विकासका विश्वव्यापी प्रवृत्ति, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको स्थान, प्रविधिमा परनिर्भरता घटाउने उपाय तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे विमर्श हुनेछ।
जलविद्युत् र एआई पूर्वाधारलाई जोड्ने लक्ष्य
सम्मेलनले नेपालको जलविद्युत् क्षमतालाई एआई पूर्वाधार विकाससँग जोड्ने विषयलाई विशेष प्राथमिकता दिएको छ। जलविद्युत्को उपलब्धतालाई उच्च क्षमताका कम्प्युटिङ प्रणाली र डेटा सेन्टर विकासमा उपयोग गर्न सके नेपालले डिजिटल अर्थतन्त्रमा नयाँ अवसर सिर्जना गर्न सक्ने सम्भावनाबारे छलफल गरिनेछ।
‘पावरिङ नेपाल्स एआई एम्बिसन : फ्रम हाइड्रोपावर टु हाई–पर्फर्मेन्स कम्प्युटिङ’ शीर्षकको सत्रमा अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइना ग्रिन्सबोरोका प्रा. डा. निर क्षेत्री, पूर्वऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) की कार्यकारी निर्देशक सन्ध्या सिटौलालगायतले विचार राख्नेछन्।
सत्रमा उच्च क्षमताका कम्प्युटिङ प्रणाली, डेटा सेन्टर, जलविद्युत्को उपयोग, क्लाउड सेवा, डिजिटल पूर्वाधारमा लगानी र अन्तर्राष्ट्रिय बजारमा नेपालको सम्भावनाबारे छलफल हुनेछ।
त्यस्तै, ‘फ्रम लर्निङ टु अर्निङ : एआई एजुकेसन, स्किल्स, इनोभेसन एन्ड फाइनान्सियल ट्रान्सफर्मेसन’ शीर्षकको सत्रमा एआई शिक्षा, सीप विकास, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन र वित्तीय क्षेत्रको रूपान्तरणका विषय समेटिनेछन्। यस सत्रमा जापानको वासेदा विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विकास लम्साल र एक्वोर एलएलसीका सहसंस्थापक सन्दीप आचार्यलगायत सहभागी हुने कार्यक्रम छ।
नेपाली एआई नवप्रवर्तनलाई प्राथमिकता
सम्मेलनमा नेपालमै विकसित एआई प्रविधि र नवप्रवर्तनलाई पनि विशेष स्थान दिइनेछ। ‘मेड इन नेपाल : सोकेसिङ होमग्रोन एआई इनोभेसन्स’ शीर्षकको प्रस्तुतिमा नेपाली अनुसन्धानकर्ता तथा प्रविधि विकासकर्ताले आफ्ना परियोजना, तिनको व्यावहारिक उपयोग र विस्तारका सम्भावनाबारे जानकारी गराउनेछन्।
डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदीका अनुसार नेपालमा एआईको सम्भावनाबारे चर्चा बढे पनि त्यसलाई आर्थिक तथा सामाजिक उपलब्धिमा रूपान्तरण गर्न आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र संस्थागत क्षमता विकासमा पर्याप्त लगानी हुन सकेको छैन।
यस वर्षको सम्मेलनले एआईसम्बन्धी नीतिगत छलफललाई व्यावहारिक कार्यान्वयनसँग जोड्ने लक्ष्य राखेको सुवेदीले बताए। उनका अनुसार नेपालको आफ्नै प्रविधि क्षमता विकास, नवप्रवर्तनलाई प्रोत्साहन र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना पहिचान गर्नु सम्मेलनको मुख्य उद्देश्य हो।
डिजिटल मिडिया फाउन्डेसनले सन् २०२४ देखि राष्ट्रिय एआई सम्मेलन आयोजना गर्दै आएको छ। पहिलो सम्मेलनमा सञ्चारमाध्यम, सार्वजनिक सेवा र सुशासनमा एआईको प्रयोगबारे छलफल गरिएको थियो। सन् २०२५ मा आयोजित दोस्रो सम्मेलनमा भने एआई र विकास, वित्तीय सेवा, स्वास्थ्य, मिथ्या सूचना तथा प्रविधि नीतिलगायतका विषय समेटिएका थिए।
सम्मेलनमा सहभागी हुन इच्छुकले आयोजकको वेबसाइटमार्फत दर्ता गर्न सक्नेछन्।
प्रकाशित: १३ कार्तिक २०८३ १६:४० शुक्रबार