प्रविधि

संसदीय गतिविधि अब प्रविधिमैत्री बन्दै

संघीय संसद् सचिवालयले संसदीय सूचना, सेवा र अभिलेखलाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सञ्चालन सुरु गरेको छ।

बुधबार सिंहदरबारमा आयोजित एक विशेष कार्यक्रमबिच यसको शुभराम्भ गरिएको हो। डिजिटल पार्लियामेन्ट परियोजना समन्वय तथा सहजीकरण समितिको आयोजनामा भएको उद्घाटन कार्यक्रममा यस परियोजनाको अवधारणाबारे विस्तृत जानकारी गराइएको थियो।

प्रणाली कार्यान्वयनमा आएसँगै दुवै सदन र समितिका बैठकमा बायोमेट्रिक र एनएफसी प्रविधिमार्फत सांसदहरूको उपस्थिति, अनुपस्थिति र बिदाको विवरण स्वचालित रूपमा अभिलेख हुनेछ।संसद् सचिवालयले दिएको जानकारीअनुसार सरकारी तथा गैरसरकारी विधेयकहरू अब डिजिटल माध्यमबाटै दर्ता गरिनेछन् भने विधेयक प्रस्तुत भएदेखि पारित हुने चरणसम्मको प्रगति अनलाइनबाटै अनुगमन गर्न सकिनेछ।

नागरिकले सार्वजनिक पोर्टलमार्फत सदन र समितिका बैठकका कार्यसूची, छलफलका विषयवस्तु, प्रतिवेदन तथा सांसदले संसद्मा उठाएका प्रश्न र तिनको सम्बोधन सहजै हेर्न सक्नेछन्। सांसदका लागि छुट्टै मोबाइल एपको व्यवस्था गरिएको छ, जसबाट उनीहरूले व्यक्तिगत विवरण, पूर्ण प्रोफाइल, हाजिरीको अवस्था र बैठकसम्बन्धी सूचना प्राप्त गर्नेछन्।

संसद्को सबै सूचना र डेटालाई सुरक्षित राख्न सरकारी एकीकृत डेटा व्यवस्थापन केन्द्र र ‘मिररिङ सेन्टर’ मार्फत अत्याधुनिक सुरक्षा प्रणालीसहित डेटा भण्डारण गरिनेछ।

हाल परीक्षणको चरणमा रहेको यस प्लेटफर्मलाई थप परिस्कृत र प्रभावकारी बनाउन संसद् सचिवालयले सांसद, पत्रकार तथा सर्वसाधारण सबैलाई आवश्यक सुझाव र प्रतिक्रिया दिन आग्रह गरेको छ।

पहिलो चरणमा यो व्यवस्था निश्चित कर्मचारी र केही सांसदका लागि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ।प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा उक्त प्लेटफर्मको शुभारम्भ गरेका थिए।  

प्रकाशित: १ आश्विन २०८३ ११:३४ बिहीबार