प्रविधि

क्लाउडफ्लेयरमा विश्वव्यापी समस्या, एक्सदेखि नेपालका अनलाइनसमेत प्रभावित

प्रमुख इन्टरनेट पूर्वाधार प्रदायक कम्पनी क्लाउडफ्लेयरमा आएको प्राविधिक समस्याका कारण विश्वभरका साथै नेपालका पनि धेरै वेबसाइटहरू प्रभावित भएका छन्।

सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) जस्ता ठूला प्लेटफर्मदेखि विभिन्न नेपाली अनलाइन तथा सेवा प्रदायकका वेबसाइटहरूमा प्रयोगकर्ताले ‘इन्टरनल सर्भर इरर’ जस्ता समस्या सामना गर्नुपर्‍यो।

क्लाउडफ्लेयर एक प्रमुख इन्टरनेट पूर्वाधार सेवा प्रदायक हो। यसले वेबसाइटहरूलाई साइबर हमलाबाट बचाउने, ट्राफिक व्यवस्थापन गर्ने जस्ता महत्वपूर्ण प्रविधिहरू प्रदान गर्ने गर्छ। क्लाउडफ्लेयरमा हुने सानो गडबडीले पनि यसमा निर्भर रहेका हजारौं वेबसाइटहरूमा प्रत्यक्ष असर पार्दछ।

समस्या देखिएलगत्तै क्लाउडफ्लेयरले एक सूचना जारी गर्दै आफूहरूलाई समस्याबारे जानकारी भएको र अनुसन्धान गरिरहेको बताएको थियो।

कम्पनीले आफ्नो अपडेटमा भनेको छ, ‘क्लाउडफ्लेयरले धेरै ग्राहकहरूलाई असर गर्ने समस्याबारे अनुसन्धान गरिरहेको छ। हामी यसको पूर्ण प्रभाव बुझ्न र समाधान गर्न काम गरिरहेका छौं।’

समस्याका कारण वेबसाइटहरूको अवरोध निगरानी गर्ने चर्चित साइट ‘डाउन डिटेक्टर’ समेत केही समयका लागि प्रभावित भएको थियो।

यस समस्याका कारण नेपालका कयौं समाचार पोर्टल, इ-कमर्स साइट र अन्य अनलाइन सेवाहरू पनि केही समयसम्म पूर्ण वा आंशिक रूपमा प्रभावित भएका थिए। यद्यपि, क्लाउडफ्लेयरले समस्या समाधानका लागि काम सुरु गरेसँगै प्रभावित नेपाली वेबसाइटहरू क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन्।

प्रकाशित: २ मंसिर २०८२ १८:१२ मंगलबार