स्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना निर्माण गरेर त्यहाँ उपग्रह तथा अन्य आवश्यक सामग्री उत्पादन गर्ने योजना अघि सारेको छ। कम्पनीका प्रमुख एलन मस्कका अनुसार यस काममा रोबोटको ठूलो भूमिका हुनेछ।
मस्कले स्पेसएक्सको पहिलो त्रैमासिक आम्दानीसम्बन्धी छलफलमा कम्पनीले चन्द्रमामा धेरै टन सामान पुर्याउने र त्यसपछि त्यहाँ कारखाना निर्माण गर्ने योजना रहेको बताए।
‘हामी चन्द्रमामा धेरै टन भार अवतरण गर्नेछौं’, उनले भने,‘हामी चन्द्रमामा कारखानाहरू निर्माण गर्नेछौं। रोबोटहरू त्यसमा सहयोगी हुनेछन्।’
उनका अनुसार चन्द्रमामा उत्पादन बढाउन रोबोटको प्रयोग गरिनेछ। अहिले यो योजना विज्ञान कथाजस्तो लागे पनि भविष्यमा वास्तविकतामा परिणत हुने उनको दाबी छ।
चन्द्रमामै उपग्रह बनाउने लक्ष्य
स्पेसएक्सले भविष्यमा चन्द्रमामा निर्माण गर्ने कारखानाबाट आफ्ना स्टारलिंक उपग्रहका लागि आवश्यक सामग्री तथा उपग्रह उत्पादन गर्ने दीर्घकालीन योजना बनाएको छ।
कम्पनीको योजनाअनुसार चन्द्रमामा सौर्य प्यानल र रेडिएटरजस्ता महत्वपूर्ण सामग्री पनि उत्पादन गर्न सकिनेछ। सौर्य प्यानलले उपग्रहलाई ऊर्जा दिनेछन् भने रेडिएटरले अन्तरिक्षमा उपग्रहबाट उत्पन्न हुने ताप बाहिर निकाल्न मद्दत गर्नेछन्।
मस्कले अझ महत्वाकांक्षी योजना पनि सुनाएका छन्। चन्द्रमामा आवश्यक पूर्वाधार बनेपछि त्यहाँबाट उपग्रह वा अन्य सामग्री अन्तरिक्षमा पठाउन इलेक्ट्रोम्याग्नेटिक मास ड्राइभर निर्माण गर्न सकिने उनको विश्वास छ। यो प्रविधि शक्तिशाली रेलगनजस्तै काम गर्ने अवधारणामा आधारित हुनेछ।
‘चन्द्रमामा उत्पादन बढाउन चन्द्रमामा रोबोटहरू प्रयोग अहिले सुपर साइन्स फिक्सन जस्तो सुनिन्छ, तर यो हुन गइरहेको छ। हामीलाई चन्द्रमामा मास एक्सेलेरेटर निर्माण गर्न सक्षम बनाउनेछ,’मस्कले भने।
मस्कका अनुसार यस्तो प्रणाली विकास गर्न सके पृथ्वीबाट अन्तरिक्षमा सामान पठाउने लागत र निर्भरता निकै कम गर्न सकिन्छ।
रोबोटले गर्नेछन् भारी काम
चन्द्रमामा निर्माण हुने कारखानामा मानिसभन्दा पहिले रोबोटले काम गर्ने सम्भावना बढी छ। मस्कले स्पेसएक्सले कस्ता रोबोट प्रयोग गर्ने भन्ने विस्तृत जानकारी भने दिएका छैनन्।
तर उनले टेस्लाले विकास गरिरहेको ओप्टिमस रोबोटलाई भविष्यमा अन्तरिक्षमा प्रयोग गर्ने संकेत यसअघि नै दिइसकेका छन्। स्पेसएक्सले यस्ता रोबोटलाई भविष्यमा मंगल ग्रहमा समेत पठाउने योजना बनाएको छ।
यी सबै अभियानका लागि स्पेसएक्सको नयाँ पुस्ताको विशाल रकेट स्टारसिप महत्वपूर्ण हुनेछ। स्टारसिप अहिले परीक्षणको चरणमा छ र कम्पनीले यसलाई पृथ्वीको कक्षाभन्दा बाहिरका अभियानका लागि समेत प्रयोग गर्ने लक्ष्य राखेको छ।
हजारौं स्टारसिप उडाउने तयारी
स्पेसएक्सका प्रमुख वित्तीय अधिकारीका अनुसार स्टारसिपले फाल्कोन ९ को तुलनामा धेरै ठूलो पेलोड बोक्न सक्नेछ र प्रक्षेपण लागत पनि उल्लेख्य रूपमा घटाउने लक्ष्य राखिएको छ।
‘स्टारशिपले हाम्रो फाल्कन ९ रकेटको तुलनामा पेलोड क्षमता चार गुणा बढाउने र प्रक्षेपण लागत १० गुणा घटाउने लक्ष्य राखेको छ , जसले हाम्रा सबै व्यावसायिक क्षेत्रहरूमा महत्त्वपूर्ण क्षमताहरू अनलक गर्दछ,’ स्पेसएक्सका प्रमुख वित्तीय अधिकारी ब्रेट जोनसेनले भने।
कम्पनीले भविष्यमा वर्षमा हजारौं स्टारसिप उडान सञ्चालन गर्न सक्ने पूर्वाधार निर्माण गरिरहेको जनाएको छ। यसका लागि रकेट इन्जिन उत्पादन बढाउने, नयाँ निर्माणस्थल तयार गर्ने र थप प्रक्षेपण प्याड सञ्चालनमा ल्याउने काम भइरहेको छ।
मस्कको चन्द्रमा कारखानाको योजना स्पेसएक्सको पृथ्वीबाहिर उत्पादन र अन्तरिक्ष अर्थतन्त्र विस्तार गर्ने ठूलो योजनाको एउटा हिस्सा हो।
यदि योजना सफल भयो भने भविष्यमा चन्द्रमा केवल अनुसन्धान गर्ने ठाउँ मात्र नभई उपग्रह, ऊर्जा प्रणाली र अन्तरिक्ष अभियानका लागि आवश्यक सामग्री उत्पादन गर्ने महत्वपूर्ण केन्द्र बन्न सक्छ।
प्रकाशित: २४ श्रावण २०८३ १३:०६ आइतबार



