विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटको प्रयोग बढ्दै जाँदा यस क्षेत्रको बजार प्रतिस्पर्धा पनि तीव्र बनेको छ। ओपनएआईको च्याटजीपीटी अझै सबैभन्दा धेरै प्रयोग हुने एआई च्याटबोटका रूपमा कायम रहे पनि गुगलको जेमिनी र एनथ्रोपिकको क्लोडले आफ्नो बजार हिस्सा उल्लेख्य रूपमा बढाएका छन्।
सिमिलरवेबको तथ्यांक उद्धृत गर्दै भिजुअल क्यापिटलिस्टले सार्वजनिक गरेको विवरणअनुसार सन् २०२६ को सेप्टेम्बरमा विश्वभरका एआई च्याटबोट वेबसाइटमा भएका कुल भ्रमणमध्ये च्याटजीपीटीको हिस्सा ५६.४ प्रतिशत थियो। उक्त महिना च्याटजीपीटीको वेबसाइटमा करिब पाँच अर्ब ९० करोड पटक भ्रमण भएको थियो।
गुगलको जेमिनी २५ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा छ। सेप्टेम्बरमा जेमिनीको वेबसाइटमा दुई अर्ब ६१ करोड पटक भ्रमण भएको थियो। च्याटजीपीटी र जेमिनीले मात्रै विश्वव्यापी एआई च्याटबोट वेबसाइटको कुल भ्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।
यसैबीच, एनथ्रोपिकको क्लोड ९.६ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थानमा उक्लिएको छ। सन् २०२५ को अक्टोबरमा २.३ प्रतिशत मात्रै बजार हिस्सा रहेको क्लोडले एक वर्षभन्दा कम अवधिमा आफ्नो उपस्थिति उल्लेख्य रूपमा विस्तार गरेको हो। सेप्टेम्बर २०२६ मा यसको वेबसाइटमा करिब एक अर्ब पटक भ्रमण भएको तथ्यांकमा उल्लेख छ।
सन् २०२५ को अक्टोबरदेखि २०२६ को सेप्टेम्बरसम्मको अवधिमा जेमिनी र क्लोडले मात्रै बजार हिस्सा बढाउन सकेका छन्। गुगलले सन् २०२५ को अन्त्यतिर जेमिनी ३ सार्वजनिक गरेपछि र आफ्नो ठूलो प्रयोगकर्ता आधारको लाभ उठाएपछि यसको मासिक वेबसाइट भ्रमण एक अर्ब १० करोडबाट बढेर दुई अर्ब ६० करोडभन्दा माथि पुगेको थियो।
त्यस्तै, कोडिङ र ज्ञानमा आधारित कार्यमा प्रभावकारी प्रदर्शन, विज्ञापनरहित सेवा तथा सन् २०२६ को सुरुवातमा गरिएको बजारीकरणले क्लोडको विस्तारमा योगदान पुर्याएको विवरणमा उल्लेख छ। यस अवधिमा यसको मासिक वेबसाइट भ्रमण १५ करोड ७० लाखबाट बढेर एक अर्ब पुगेको थियो।
अन्य प्रमुख एआई च्याटबोटको बजार हिस्सा भने घटेको छ। चौथो स्थानमा रहेको डीपसिकको हिस्सा ३.४ प्रतिशत छ। यसको वेबसाइटमा ३५ करोड ६० लाख पटक भ्रमण भएको थियो। एक्सएआईको ग्रोकले २.३ प्रतिशत अर्थात् २४ करोड १० लाख, माइक्रोसफ्टको कोपाइलटले १.५ प्रतिशत अर्थात् १५ करोड ७० लाख र पर्प्लेक्सिटीले ०.९ प्रतिशत अर्थात् नौ करोड ४० लाख भ्रमण हिस्सा ओगटेका छन्।
यी चारवटै प्लेटफर्मको संयुक्त बजार हिस्सा ११.४ प्रतिशतबाट घटेर ८.१ प्रतिशतमा झरेको छ। यो हिस्सा तेस्रो स्थानमा रहेको क्लोडको एकल बजार हिस्साभन्दा पनि कम हो।
यद्यपि, च्याटजीपीटीको बजार हिस्सा घट्दैमा यसको प्रयोग घटेको भने होइन। सन् २०२६ को जनवरीमा पाँच अर्ब ७० करोड रहेको यसको मासिक वेबसाइट भ्रमण सेप्टेम्बरमा बढेर पाँच अर्ब ९० करोड पुगेको छ। तर, जेमिनी र क्लोडजस्ता प्रतिस्पर्धी प्लेटफर्मको विस्तार तीव्र भएकाले एआई च्याटबोट बजारमा च्याटजीपीटीको वर्चस्वमाथि चुनौती थपिँदै गएको देखिन्छ।
प्रकाशित: ११ कार्तिक २०८३ २०:११ बुधबार