विश्वको चर्चित प्रविधि कम्पनी एप्पलमा १५ वर्षपछि नेतृत्व परिवर्तन भएको छ।
टिम कुकको स्थानमा जोन टर्नसले मंगलबारदेखि कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका छन्। कुकको १५ वर्षे कार्यकालमा आईफोनको अत्यधिक लोकप्रियतासँगै एप्पलको बजार मूल्य बढेर करिब ४.६ ट्रिलियन अमेरिकी डलर पुगेको थियो।
टर्नसले एप्पलको नेतृत्व सम्हाल्दै गर्दा कम्पनी प्रविधि क्षेत्रको महत्त्वपूर्ण परिवर्तनको चरणमा छ। सन् २००७ मा तत्कालीन सीईओ स्टिभ जब्सले पहिलो आईफोन सार्वजनिक गरेयता कृत्रिम बुद्धिमत्ता (एआई) को विकासले प्रविधि उद्योगमा सबैभन्दा ठुलो परिवर्तन ल्याएको मानिन्छ।
तर एआईको क्षेत्रमा एप्पलले अपेक्षाअनुसार सफलता हासिल गर्न सकेको छैन। करिब दुई वर्षअघि घोषणा गरेका एआईमा आधारित केही नयाँ सुविधा समयमै उपलब्ध गराउन नसक्दा कम्पनी आलोचनामा परेको थियो।
यस वर्षको सुरुआतमा एप्पलले आफ्नो भर्चुअल सहायक सिरीमा सुधारसहित एआईसम्बन्धी नयाँ प्रगति सार्वजनिक गरेको थियो। कम्पनीले प्रयोगकर्ताको गोपनीयता र दैनिक जीवनमा उपयोगी सुविधालाई प्राथमिकता दिएको बताएको छ। एआईको प्रतिस्पर्धामा अन्य ठुला कम्पनीलाई पछ्याउने प्रयासमा एप्पल रहेको छ।
नयाँ सीईओ टर्नसका सामु एआईको प्रतिस्पर्धामा एप्पललाई अगाडि राख्नु मुख्य चुनौती हुनेछ। हार्डवेयर इन्जिनियरिङ क्षेत्रमा लामो अनुभव भएका उनले अब कम्पनीको आपूर्ति प्रणाली र राजनीतिक सम्बन्धसम्बन्धी चुनौती पनि सामना गर्नुपर्नेछ।
विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्ध व्यवस्थापन गर्नु पनि एप्पलका लागि महत्त्वपूर्ण विषय बन्न सक्छ। कुकले आफ्नो कार्यकालमा ट्रम्पसँग सम्बन्ध कायम राख्दै एसियाली देशमा केन्द्रित एप्पलको उत्पादन तथा आपूर्ति प्रणालीमाथि परेको व्यापार र भन्सार शुल्कसम्बन्धी चुनौती सामना गरेका थिए।
सीईओ पद छाडे पनि कुक अब कार्यकारी अध्यक्षको भूमिकामा कम्पनीसँग जोडिइरहनेछन्। उनले एप्पल र अमेरिकी सरकारबिच राम्रो सम्बन्ध कायम राख्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
टर्नसले कुकको नेतृत्वमा एप्पलका धेरै महत्त्वपूर्ण उत्पादनमा काम गरेका छन्। एप्पल वाच, एयरपड्स र एप्पल भिजन प्रोको विकासमा उनको महत्त्वपूर्ण भूमिका थियो।
उनले आगामी साता अमेरिकाको क्यालिफोर्नियास्थित कुपर्टिनोमा रहेको एप्पलको मुख्यालयबाट नयाँ आईफोन सार्वजनिक गर्ने कार्यक्रमको नेतृत्व गर्नेछन्। यससँगै एप्पलको नयाँ सीईओका रूपमा टर्नसको पहिलो ठुलो सार्वजनिक भूमिका देखिनेछ। एजेन्सी
प्रकाशित: १७ भाद्र २०८३ १२:५० बुधबार