प्रविधि

एक अर्ब १५ करोडको फोन वार्ता

नेपालगन्ज, माघ २३- एकवर्षको अवधिमा मध्यपश्चिमाञ्चलका जनताले कुराकानीमा मात्र एक अर्ब १५ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन्। नेपाल टेलिकम क्षेत्रीय कार्यालय, नेपालगन्जका अनुसार सो अवधिमा यस क्षेत्रमा उक्त रकम बराबरको मोबाइल रिचार्जकार्ड बिक्री भएको छ।

नेपालगन्जस्थित अतारी ट्रेडर्सले मात्र रु.३७ करोड ८० लाख ३९ हजारको मोबाइल रिचार्जकार्ड बिक्री गरेको छ।

सोही अवधिमा नेपाल टेलिकमलाई आधारभूत टेलिफोन सेवातर्फ सबैभन्दा बढी शुल्क बुझाउने ग्राहकको बाजी भने दैलेखका कुलबहादुर विकले मारेका छन्। उनले एक वर्षको अवधिमा रु. एक लाख ४५ हजार ५६८ शुल्क बुझाएको बताइएको छ।

मध्यपश्चिमाञ्चलका १५ जिल्लामा नेपाल टेलिकमका चारलाख २८ हजार ८६८ ग्राहक छन्। तीमध्ये मोबाइल प्रिपेडका तीन लाख १० हजार, पोष्टपेडका सात हजार ३०० र स्काइ मोबाइल, प्रिपेड तथा पोष्टपेड गरी ६७ हजार १५५ जना रहेका छन्। -रासस

प्रकाशित: २३ माघ २०६६ ०५:२९ शनिबार