२०१८ पछिका प्रत्येक मोबाइलमा जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) अनिवार्य राखिनुपर्ने नियमसमेत सञ्चार तथा प्रविधि मन्त्रालयले सोमबार बताएको छ।
अब आइन्दा भारतमा रहँदा कुनै समस्या परे सिधा पाँच वा नौ नम्बर थिच्यो भने सो कल आपतकालीन मानिनेछ। त्यसैगरी 'पावर बटम'लाई तीन पटक थिचेको खण्डमा त्यसलाई 'इमर्जेन्सी कल' मानिने समेत मन्त्रालयले जनाएको छ।
यसपछि महिला हिंसा हुँदा तत्काल प्रहरी र आफन्तलाई खबर हुने र महिला हिंसा रोक्न सकिने विश्वास लिइएको छ। भारतभर २०१४ मा महिला हिंसाका घटना ३ लाख ३७ हजार ९ सय २२ दर्ता भएका थिए। तीमध्ये ३६ हजार त बलात्कारका घटना मात्र थिए।
पछिल्लो समय बलात्कार घटना रोक्न आत्मरक्षाका तालिम दिने काम गरिएको थियो। जसमा अभिनेता अक्षय कुमारले समेत त्यस्तो तालिम निःशुल्क दिएका थिए।
चीनपछि भारत संसारकै सबैभन्दा ठूलो मोबाइल बजार हो। भारतभर १ अर्बभन्दा बढी मोबाइल फोन प्रयोगकर्ता छन्। यस्ता फोनका अधिकांश प्रयोगकर्ता भने पुरुष छन्। पछिल्लो समय गुजरातका कतिपय गाउँले क्षेत्रमा महिलालाई मोबाइल फोन प्रयोग गर्नबाट प्रतिबन्ध लगाइएको समाचारसमेत आएका छन्।
प्रकाशित: १६ वैशाख २०७३ २३:३४ बिहीबार