प्रविधि

टेलिकमले सेयरधनीलाई दिने लाभांस बढाउने

काठमाडौं, पुस २८ (नागरिक) - गत बर्ष २५ प्रतिशत लाभांस दिएको नेपाल टेलिकमले यो बर्ष कम्तिमा ३० प्रतिशत दिने तयारी गरेको छ। ढिलोमा फागुनको पहिलो साताभित्र साधारण सभा गर्ने तया समेत टेलिकमले गरिरहेको छ। 'यो बर्ष कम्तिमा ३० प्रतिशत लाभांस दिने हाम्रो योजना छ,' टेलिकम अर्थ विभाग प्रमुख रामेश्वर कर्माचार्यले भने।

सर्वसाधारणलाई सेयर विक्री गरेपछि टेलिकमले गत चैतमा पहिलो पटक साधारण सभा गरेको थियो। गत बर्ष प्रति सेयर २५ रुपैयाँ लाभांस दिएको टेलिकम प्रति सेयरधनीको गुनासो छ।

'नाफा समेत बढेकोले हामी सेयरधनीलाई बढी प्रतिफल दिन सक्षम भएका हौं,' कर्माचार्यले भने। गत आर्थिक बर्ष २०६५/६६ मा टेलिकमले नौ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ।

टेलिकमले चालु आबको पहिलो तीन महिना (साउन-असोज) मा दुई अर्ब ३४ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको यही अवधिमा टेलिकमको नाफा एक अर्ब ८३ करोड रुपैयाँ थियो।

साधारण सभाको लागि टेलिकमले लेखापरिक्षण सम्पन्न गरिसकेको छ। 'अब केही दिनमै प्रतिवेदनलाई सञ्चालक समितिबाट पास गरेर महालेखा परिक्षकबाट परिक्षण गराउने योजनामा छौं,' कम्पनी सचिव बुद्धिप्रसाद आचार्यले भने।

टेलिकमको ९३ प्रतिशत सेयर सरका स्वामित्वमा छ। सरकारको बढ्ता स्वामित्व भएकोले लाभांस वितरणको लागि अर्थ मन्त्रालयको सहमति आवश्यक पर्छ।

महालेखाले परिक्षण गरिसकेपछि सञ्चालक समितिले लाभांसको प्रस्ताव गरेर अर्थ मन्त्रालयमा पठाउँछ।

प्रकाशित: २८ पुस २०६६ ०७:५१ मंगलबार