प्रविधि

वर्षका आकर्षक मोबाइल

काठमाडौं, पुस ७ (नागरिक)- सन् २००९ मोबाइल सेट उत्पादन गर्ने कम्पनीहरूका लागि प्रतिस्पर्धी वर्ष बन्यो। यही वर्ष एप्पल आइफोनको एक्लो दौडमा थुप्रै कम्पनी मिसिए, प्रतिस्पर्धी सेटको उत्पादनसहित। नेपाली बजारमा पनि विश्वका चर्चित मोबाइलहरू भित्रिए, लोकप्रिय पनि भए।

विश्वव्यापी आर्थिक मन्दीका कारण उपभोक्ताको खर्च गर्ने क्षमता घटे पनि यो वर्षभरि नै अति महँगादेखि अति सस्ता मोबाइल सेट उत्पादनमा होड चलिरह्यो। नेपाली बजारमा तुलनात्मकरुपमा महँगोभन्दा सस्तो सेटहरूको बिक्री राम्रो रह्यो। चिनियाँ सेटले यहाँको बजारको ठूलो हिस्सा ओगटेको भएपनि अन्तर्राष्ट्रिय ब्रान्ड लिनेहरू कम थिएनन्। यो वर्ष टचस्क्रिन सेटको उत्पादनले विशेष स्थान लियो। टचस्क्रिन कन आधारित स्मार्टफोन सन् २००९ को विशेषता बन्यो। यो वर्ष बजारमा भित्रिएका केही मोबाइल सेटका फिचरहरू आइफोनका भन्दा राम्रा रहे।

क्यानडाको व्ल्याकवे उत्पादक रिसर्च इन मोसनदेखि ताइवानको एचटीसी होस् या मोबाइल बजारका नेतृत्व गरिरहेको फिनल्यान्डको नोकिया, सबैले स्मार्टफोनमा ठूलै लगानी गरे। आइफोनले तेस्रो पुस्ताको आइफोन मोडल थ्रीजी-एस यसै वर्ष बजारमा ल्याउँदा यसका सामु थुप्रै प्रतिस्पर्धीहरू उत्रिसकेका थिए। विश्वको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता नोकियाले टचस्त्रि्कनमा आधारित एन-सिरिजमार्फत् बजार ततायो।

चर्चामा आइफोन नै
यो वर्ष पनि एप्पलको आइफोन थ्रीजी-एसले सबैभन्दा चर्चा बटुल्यो। २००९ को जुनमा बजारमा उतारिएको यो आइफोन एप्पलको अघिल्लो पुस्ताकोभन्दा ३ दशमलब ६ गुना छिटो काम गर्ने मोबाइल हो। तेस्रो पुस्ताको यो आइफोनलाई उत्पादक एप्पलले अहिलेसम्मकै शक्तिशाली मोबाइल भएको दावी गरेको छ। सुधारिएको ३ मेगापिक्सेल क्यमरासहितको यो मोबाइल भिडियो खिच्न, अटो फोकस सुविधासहित उपलव्ध छ। यो आइफोनबाट प्रयोगकर्ताले खिचेको भिडियो सम्पादन गर्न सक्ने र त्यसलाई बाढ्न सक्ने सुविधा पाए। मेल, म्यासेजका लागि यसका सुविधा अझै सुधारिएका छन्। सुधारिएको व्याट्रीले यो मोबाइललाई वर्षकै चर्चित उत्पादनमा समेट्न सक्यो।

नोकियाको बलियो नेतृत्व
मोबाइल उत्पादन क्षेत्रमा नेतृत्व लिँदै आएको नोकियाले हालै ई ७२ मोडल बजारमा ल्यायो। उसले यो वर्ष भित्राएका सेटहरूमा यो मोडल सबैभन्दा चर्चामा रह्यो। नोकियाकै ई ७१ लाई पछ्याउँदै तयार भएको यो मोबाइलमा अत्याधुनिक प्रविधिको उपयोग भएको छ। यो मोबाइलमा कुराकानीमा आउने अवरोध हटाउने प्रविधि नोइज क्यान्सिलेसन प्रयोग भएको छ। यसले कुराकानीलाई सहज बनाउँछ। यो मोडलको मोबाइलमा पाँच मेगापिक्सेल क्षमताको क्यामरा समेटिएको छ, जसले गुणस्तय भिडियो पनि खिच्न सक्छ। कम्पनीले यसलाई मल्टिमिडिया फोनका रुपमा चिना दिएको छ। ई ७२ ले बजारमा प्रतिस्पर्धा भने गर्न बाँकी नै छ। भर्खरै बजारमा उतारिएकाले यसले नोकियाकै अन्य मोबाइल सेट र प्रतिस्पर्धी कम्पनीका सेटहरूसँग बिक्रीमा तगडा प्रतिस्पर्धा गर्नुपर्ने छ।

सामसुङको सान ओम्निमा
कोरियन इलेक्ट्रोनिक्स कम्पनी सामसुङले यो वर्ष दोस्रो पुस्ताको ओम्निया बजारमा ल्यायो। आई ८००० ओम्निया पूर्ण टचस्क्रिन प्रविधिमा आधारित ३ दशमलब ७ इन्चको सेट हो। १ सय २५ ग्राम तौलको यो सेटमा ८ गिगाबाइट आन्तरिक मेमो छ। मोबाइलको अगाडि भागमा रहेका भिजिए क्यामराले यसलाई चर्चाको शिखरमा राख्यो। यही क्यामराले मोबाइलबाट भिडियो कन्फरेन्स गर्न सम्भव बनायो। माइक्रोसफ्ट विन्डोज अपरेटिङ सिस्टम रहेको मोबाइलमा पाँच मेगापिक्सेल क्यामरा उपलव्ध छ जसले गुणस्तय भिडियोसमेत खिच्न सक्छ। पछिल्ला प्रविधि थ्रीजी, वाइफाइजस्ता सुविधा रहेको मोबाइल सेटमा सुधारिएको व्याट्री छ जसले लामो समयसम्म कुराकानी गर्न सघाउँछ।

सशक्त साटियो
सोनी एरिक्सनले यो वर्ष सबैभन्दा सशक्तरुपमा उतारेको मोबाइल सेट हो, साटियो।
यसमा रहेको १२ मेगापिक्सेल क्षमताको क्यामराले यो सेट क्यमरासेटा या मोबइल सेट के हो भन्ने द्विविधा उठ्न सक्छ। १ सय २६ ग्राम तौलको यो सेट ३ दशमलब ५ इन्चको टचस्त्रि्कनमा आधारित छ। साटियोमा युएसवी पोर्ट, एफएम स्टेरियो, एचटीएमएल व्राउजर, जाभा लगायतका फिचर उपलव्ध छन्। ३२ गिगाबाइट क्षमतासम्मको मेमो राख्न सकिने मोबाइल सेटमा फ्लास समेत उपलव्ध छ। सोनीका कम्प्याक्ट क्यामरामा उपलव्ध हास्दा फोटो खिच्ने प्रविधि स्माइल डिटेक्सन यसमा पनि उपलव्ध छ। थ्रीजी आधारित मोबाइल हो। २००९ मा धेरै फिचर समेटिएका थोरै सेटमा यसले प्रमुख स्थान ओगट्छ।

एन सिरिज अझै बलियो
नोकियाले एन सिरिजको सफलतापछि यो वर्ष एन ९७ मिनी सेट बजारमा ल्यायो। यसलाई त कसैकसैले सानो मोबाइल कम्प्युट समेत भने। ३ दशमलब २ इन्चको टचस्त्रि्कन रहेको एन ९७ मिनीमा ८ गिगाहर्ज क्षमताको आन्तरिक मेमो छ जसलाई २४ गिगावाइटसम्म बढाउन सकिन्छ। पाँच मेगापिक्सेल क्षमताको क्यामरा उपलव्ध यो सेटमा एलइडी फ्ल्यास र भिडियो लाइट उपलव्ध छ। ४ एक्स डिजिटल जुम रहेको मोबाइल सेट तीन रङमा बजारमा ल्याइएको छ।

प्रकाशित: ६ पुस २०६६ २३:३७ सोमबार