प्रविधि

प्रविधिको निगरानीमा केटाकेटी

हामीमध्ये धेरैको दैनिकीको एक भाग आफ्ना केटाकेटीलाई स्कुल बस आइपुग्ने स्ट्यान्डसम्म पुर्यावउँने हुन्छ। विकसित मुलुकमा आफुसँगै नगएर केटाकेटीको साथ रोबोटलाई लगाउने प्रविधिको विकास भइसकेको छ। यसमा रोबोट वरपर फुटबल आकारको ड्रोन घुमिरहेको हुन्छ भने बच्चाको झोलामा राखिएको डिभाइसले अभिभावको मोबाइलमा भिडियो पठाइरहन्छ।केही अभिभावक यसरी केटाकेटीलाई निगरानी गर्न चाहन्छन्। प्रविधिप्रति अनभिज्ञहरु पनि यस्तो उपायलाई नकारी हाल्दैनन्। अमेरिकाको भेरमोन्टबाट सन २००३ मा केटाकेटीको नाडीमा घडीजस्तै बाँधिने ह्वेरिफाई आएको थियो। सजिलै हराउन र खतरामा पर्न सक्ने सुस्त मनस्थितिका बालबालिकामा यो उपकरण धेरै उपयोगी देखिएको थियो। त्यस्तै क्यानडामा ठुल्ठूला मेसिनसँगै काम गर्ने अभिभावकका बालबच्चा वरपरै छन भन्ने सुनिश्चित गर्ने ‘डिभाइस' पनि प्रयोगमा ल्याइएको थियो। 
लामो आयु भएका ब्याट्रीयुक्त र आकारमा साना यस्ता उपकरण प्रयोगमा सजिला छन्। प्रयोगमा सजिलो मात्रै होइन सस्तो भएकोले लोकप्रिय बन्दै गएका छन्। स्मार्टफोनबाटै निगरानी सम्भव भएपछि अभिभावक आकर्षित नहुने कुरै भएन्। दूरसञ्चार सेवा प्रदायकले थप शुल्क लिएर यस्तो सेवा दिन थालेसँगै सेवाग्राहीको संख्या बढेको छ। यस्तै सेवा दिने लाइफ थि्र सिक्टीका सेवाग्राही २०१० मा १० लाख भएकोमा अहिले दुई करोड ६० लाख पुगेका छन्। अनुसन्धान संस्था बर्ग इन्साइटका अनुसार २०१६ मा युरोप र अमेरिकामा यस्ता सेवाग्राहीको संख्या ७ करोड पुग्नेछ। 
मोबाइलमार्फत निगरानी सेवा लिने सेवाग्राहीले केटाकेटी कहाँ छन् भन्ने सूचना पाउँछन् नै केटाकेटीहरुका अस्वाभाविक व्यवहार, उनीहरु कहिले घर फर्कदैछन्, तोकिएको ठाउँ भन्दा बाहिर पो गएका छन भन्ने सन्देश पनि बेलाबेलामा पाइरहन्छन्। हालसम्मका कुनै पनि निगरानी उपकरण पूर्ण छैनन्। सवारीले गति सीमा तोड्यो कि तोडेन भन्ने सन्देश यस्ता उपकरणले दिए पनि रोकिराखेको सवारीभित्रको गतिविधि बारे केही बोल्दैन्। एम्बर एलर्ट जिपिएसले भने केटाकेटीले के कुरा गर्छन भन्ने सुन्न समेत सकिने सुविधा दिएको छ। सेक्युरा ट्राकले सवारी चलाइरहेको अवस्थामा फोन, इमेल वा टेक्स्ट नै गर्न नसकिने गरी प्रयोगकर्तालाई सुरक्षा प्रदान गर्छ। लाइफ थि्र सिक्स्टीले यौन अपराधीहरुको ठेगाना बताएर सतर्क रहन सचेत गराउँछ। 
जापानी र अमेरिकी अभिभावक यस्ता उपकरण उपयोगमा समान रुचि देखाउँछन्। युरोपेली भने केटाकेटीको सुरक्षामा बढी ढुक्क देखिन्छन। युरोपको जटिल गोपनीयता सम्बन्धी कानुनले पनि त्यस्ता उपकरण प्रयोगमा तगारो पनि हाल्छन्। केही युरोपेली मुलुकमा त त्यस्ता उपकरण उपयोग गर्ने बेला अभिभावकले केटाकेटीको सहमति लिनुपर्छ। अपहरण, लागुऔषध व्यापारलगायत सामूहिक अपराधको जालो व्याप्त दक्षिण अमेरिकी मुलुकहरुमा पनि अभिभावकहरुको चासो त्यस्ता उपकरणमा हुने गरेको छ। 
विद्यालयहरुले यसमा चासो देखाएका छन्। ओसाकाको एक विद्यालयले २००४ मा आफ्ना विद्यार्थीहरुमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) को प्रयोग गरेको थियो। विद्यालय परिसरमा रहेको सेन्सरले विद्यार्थीको हाजिरी लिने तथा कहाँ छन भन्ने पत्ता लगाउने कार्य गर्छ। दुबईमा पनि यस्तै प्रविधि प्रयोगमा ल्याइयो जसले विद्यार्थी विद्यालयमा कतिबेला भित्रिए र बाहिरिए भन्ने जानकारी अभिभावकलाई पनि दिने गरेको छ। ब्राजिलको भिक्टोरिया डा कोन्किस्टामा २० हजार विद्यार्थीको पोसाकमा आरएफआइडी जोडिएको छ। अमेरिका, टेक्सासका दुई विद्यालयले २०१२ मा ४ हजार दुई सय विद्यार्थीको परिचयपत्रमा यस्तै उपकरण जडान गरिदिएका थिए। यसले विद्यालय प्रशासनलाई यकिन हाजिर विवरण राख्न सहयोग पुर्या उँछ। राज्यले दिने अनुदान हाजिरीसँग जोडिएकोले पनि यस्तो हिसाब पारदर्शी बनाउन मद्दत गरेको छ। 
व्यक्तिगत स्वतन्त्रता र गोपनियताको कुरा गर्नेहरुले वर्जित ठहर गरे पनि आगामी दिनमा यस्ता उपकरणहरुको प्रयोग बढ्दै जानेमा दुईमत हुन सक्दैन। यस्ता उपकरणका पक्षधरले स्वतन्त्रतालाई कुण्ठीत नगरेर झन प्रवर्द्धन गर्ने तर्क गर्छन्। केटाकेटीहरुलाई अपरिचितभन्दा चिनेजानेकै बाट खतरा हुने भएकाले यस्ता उपकरण सुरक्षामा कुनै सहयोगी नहुने तर्क पनि बलियो छ। प्रविधिले मान्छेलाई अमानवीय बनाउँदै लगेको चिन्ता गर्नेहरु पनि थुप्रै छन्। यी चुनौतीहरु असाध्य होइनन्। प्रविधिलाई मानव उपयोगी र संवेदनशील बनाउन सकिन्छ। (द इकोनोमिस्ट)

प्रकाशित: १४ माघ २०७१ ००:१४ बुधबार