प्रविधि

एनसेलले भित्र्यायो आइफोन

काठमाडौं-एनसेलले आफ्ना ग्राहकका लागि आइफोन सिक्स र आइफोन सिक्स प्लस लगायत एप्पलका प्रिमियम मोबाइल सेटहरु नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले एनसेलको सिम तथा डेटा अफरसँग बन्डल गरेर आइफोन ६ र आइफोन ६ प्लसका १६ जिबी, ६४ जिबी र १२८ जिबीका तिन फरक मोडलहरु नेपाली बजारमा भित्याएको विज्ञप्तिमा जनाएको छ। एनसेलले शुक्रबार आइफोनका नयाँ सेटहरु सार्वजनीक गरेको हो।‘आफ्ना ग्राहकका लागि डेटा बन्डलसँगै एप्पलका प्रिमियम ब्रान्ड आइफोन नेपालमै पहिलो पटक सार्वजनीक गर्न पाउँदा हामी हर्षित छौं। नेपाली तथा अन्तर्राष्ट्रिय टप ब्रान्डबिचको यो सहकार्यले हाम्रा ग्राहकका लागि विशेष मूल्य सिर्जना गर्ने विश्वास छ,' एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले भनिन्।
बन्डल अफरअन्तर्गत एनसेलले आइफोन ६ र आइफोन ६ प्लसका सेट खरिद गर्ने ग्राहकलाई सिमसँगै ६ महिनासम्म प्रत्येक महिना १ जिबी डेटा निःशुल्क उपलब्ध गराएको छ। 
ग्राहकले हाल आइफोन ६ को १६ जिबी सेट ८३ हजार ९ सय ९९ रुपैयाँमा, ६४ जिबी सेट ९४ हजार ४ सय ९९ मा र १२८ जी.बी. सेट १ लाख ७ हजार ९ सय ९९ मा खरिद गर्न सक्ने एनसेलले जनाएको छ। साथै आइफोन ६ प्लसको १६ जिबी सेट ९४ हजार ४ सय ९९ मा, ६४ जिबी सेट १ लाख ७ हजार ९ सय ९९ मा र १२८ जिबी सेट १ लाख २० हजार ९ सय ९९ मा खरिद गर्न सक्छन्। सेटको मूल्य अमेरिकी डलरको परिवर्त्य दर अनुसार फरक पर्न सक्ने एनसेलले जनाएको छ। 
ग्राहकले नेपाल इन्भेस्टमेन्ट बैंक, हिमालय बैंक र नबिल बैंकको सहज किस्तामा पनि सेट खरिद गर्न सक्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ। 
‘नेपालमै पहिलो पटक आधिकारीक रुपमा एप्पलको सेटहरु भित्याएकोले ग्राहकले अब बिक्री पश्चातका सेवा तथा एप्पलको विश्वव्यापी वारेन्टीको लाभ प्राप्त गर्नेछन्, एनसेलका बिटुबी निर्देशक प्रणयराज पाण्डेले भने।
एनसेलका ग्राहकले एनसेलको डेटा बन्डल अफर रहेका यि आइफोनका सेट कृष्ण टावर, दरबारमार्ग, महाराजगञ्ज, कुमारीपाटी, चाबहिल, कलंकी र बनेपा लगायतका सात एनसेल सेन्टरबाट खरिद गर्न सक्छन्। एनसेलको नम्बर प्रयोग गरिरहेका ग्राहकले यी सेटहरु खरिद गर्दा प्राप्त हुने डेटा अफर एनसेल सेन्टरबाट विद्यमान नम्बरमा पनि प्राप्त गर्न सक्छन्।
एनसेलको कृष्ण टावरस्थित एनसेल सेन्टरबाट आइफोन ६ प्लस खरिद गर्दा तिनकुनेका प्रकुल कुमार नेपालमै पहिलो आधिकारीक आइफोनका ग्राहक भएका छन्। उनी तथा नयाँ वानेश्वरका विशाल कार्की (दोस्रो आइफोन ६ प्लस खरिदकर्ता) लाई सेन्टरमै आयोजित एक कार्यक्रममा एनसेलकी ग्राहक सम्बन्ध निर्देशक सोमा थापाले आइफोन ६ प्लस सेट हस्तान्तरण गरिन्।

प्रकाशित: ५ पुस २०७१ २२:३९ शनिबार