प्रविधि

एनसेलको सुपरनेट योजना

काठमाडौ– एनसेलले प्याक खरिद नगरी इन्टरनेट प्रयोग गर्ने ग्राहकको सुविधाको लागि सुपरनेट नामक योजनालाई सहज बनाएकोे छ, यो योजना अन्तर्गत ग्राहकले अब पहिलो एमबी बाटै ५० प्रतिशत छुट दरमा र थप इन्टरनेट प्रयोग गर्दै जाँदा १ रुपैयाँ प्रति एमबीसम्मको दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन्।सरलीकृत सुपरनेट यही मंसिर २३ गतेबाट सुरु भई तीन महिनासम्म लागु हुने कम्पनीले जनाएको छ। यसमा इन्टरनेट भल्युमलाई जम्मा ३ वटा ब्लकमा विभाजन गरिएको छ। ग्राहकले जति इन्टरनेट प्रयोग गर्दै जानेछन्। त्यहीअनुरुप स्वतः यी खुड्किला चढ्दै जानेछन् र प्रत्येक खुड्किलामा इन्टरनेटको मूल्य पहिलेको भन्दा कम हुँदै जाने एनसेलले विज्ञप्तिमा उल्लेख गरेको छ। 
प्याकबिना इन्टरनेट चलाउँदा, प्रत्येक एमबी इन्टरनेटको शुल्क ६ रुपैयाँ लाग्दै आएकोमा अब नायाँ सुपरनेटमा ग्राहकले शून्यदेखि २० एमबीसम्म ३ प्रति एमबीको दरमा इन्टरनेट चलाउन सक्नेछन्। थप इन्टरनेट प्रयोग गर्दा २० एमबीदेखि १०० एमबी २ रुपैयाँ प्रति एमबी र १०० एमबी भन्दामाथि १ रुपैयाँमा इन्टरनेट प्रयोग गर्न सक्नेछन्। यी दरहरु करबाहेक भएको कम्पनीले जनाएको छ। 
‘सुपरनेटको छुट र सुलभ दरले प्याकबिनै डाटा चलाउन रुचाउने ग्राहकलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ,' एनसेलकी कर्पोरेेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन्। ‘प्याक लिने ग्राहकले ३० पैसा प्रति एमबीसम्म इन्टरनेट चलाउन सक्ने व्यवस्था यथावत छँदैछ,' कोइरालाले थपिन्।

प्रकाशित: २३ मंसिर २०७१ २२:०५ मंगलबार