काठमाडौं– सातौं संस्करणको सुविसु क्यान सफ्टटेक २०१४ बिहीबारदेखि त्रिपुरेश्वरमा सुरु भएको छ। २९ गतेसम्म चल्ने सफ्टटेकमा १ सय ४२ स्टल राखिएका छन्।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विकास भएका नवीनतम सफ्टवयेर, सर्भिस र कम्युनिकेसनका प्रविधि र उपकरण, बजारमा उपलब्ध स्मार्टफोन र एप्लिकेसन, नयाँ जेनेरेसनका ल्यापटप र त्यसमा प्रयोग हुने सेवा तथा मोबाइल एप्सहरू एकै ठाउँमा सफ्टटेकमा अवलोकनका लागि राखिएका छन्।
सफ्टटेक उद्घाटन गर्दै सभामुख सुवास नेम्वाङले प्रविधिको क्षेत्रको विकास, विस्तार तथा प्रवर्द्धनका निम्ति आफू र संविधानसभाले सक्दो सहयोग गर्ने बताए।
'सुशासनका निम्ति डिजिटल प्रविधिमा आधारित आर्थिक कारोबारलाई प्रोत्साहन गर्नुपर्छ,' उनले भने, 'समुदायमा आधारित ई–एग्रिकल्चर, ई–हेल्थ, ई–टुरिज्म, ई–लाइब्रेरी, ई–एजुकेसनलगायत देशले मागेका विकासका मोडलहरू ल्याउन अहिलेको सरकारले कन्ज्युस्याइँ गर्न हुन्न।'
सफ्टटेकमा सफ्टवेयर, कम्प्युटर शिक्षा, कम्प्युटर सुरक्षा, बैंकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस, अस्पताल व्यवस्थापनलगायत सफ्ट्वेयर छन्। सेवासम्बन्धी क्षेत्रमा इन्टरनेट सेवा, केबल तथा टेलिभिजनसम्बन्धी सेवा, त्यस्तै सोलुसन्सको क्षेत्रमा सेक्युरिटी सोलुसन्स, वायरलेस सोलुसन्स, प्रिन्टिङ सोलुसन्स, पावर सोलुसन्स र विभिन्न एप्लिकेसन सहितका ट्याब्लेटहरूसँग सम्बन्धित स्टल छन्। कम्प्युटर र सूचना तथा सञ्चारप्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाइल र ल्यापटप सहितका स्टल यसपटक थप गरिएका छन्। सफ्टटेक अवलोकन गर्न सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैयाँ र विद्यार्थीहरूलाई २५ रुपैयाँ तोकिएको छ।
प्रकाशित: २६ भाद्र २०७१ ०७:२७ बिहीबार