प्रविधि

किन परिवर्तन गर्‍याे फेसबुकले आफ्नो नाम?

सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ। कम्पनीको मुख्य रि–ब्रान्ड गर्ने क्रममा फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी 'मेटा' राखेको हो।

फेसबुकले राखेको आफ्नो नयाँ नाम ‘मेटा’ ग्रिक शव्द हो जसको अर्थ ‘पर’ भन्ने हुन्छ। मेटाभर्स स्थापना गर्ने योजना सार्वजनिक गर्ने क्रममा फेसबुक संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक कम्पनीको नयाँ नाम घोषणा गरेका हुन्। मेटाभर्स भनेको एउटा यस्तो अनलाइन संसार हो जहाँ मानिसहरु भर्चुअल रियालिटी हेडसेट लगाएर भर्चुअल वातावरणमै गेम खेल्न, काम गर्न तथा सञ्चार गर्न सक्नेछन्।

कम्पनीले हाल गरिरहेका कामहरु नयाँ नामले राम्रोसँग समेट्ने फेसबुकले जनाएको छ। हाल फेसबुकको उपस्थिति सोसल मिडिया प्लाटफर्मसँगै भर्चुअल रियालिटी लगायतका क्षेत्रमा पनि फैलिएको छ। नाम परिवर्तनसँगै फेसबुकले नयाँ चिह्न (लोगो) पनि सार्वजनिक गरेको छ जस अन्तरगत बुढी औंला उठाएको अर्थात् थम्ब्स् अप वाला लाइकको लोगोलाई निलो इन्फिनिटी आकारको लोगोले विस्थापित गर्नेछ।

बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिक गरियो फेसबुककी एक पूर्व कर्मचारीले सार्वजनिक गरेका विभिन्न गोप्य दस्तावेजहरुमा आधारित नकारात्मक समाचारहरुको श्रृंखलासँगै कम्पनीको प्रतिष्ठामा दाग लाग्ने अवस्था आएपश्चात् फेसबुक कम्पनी आफ्नो नाम परिवर्तन गर्ने निर्णयमा पुगेको थियो।

फेसबुक कम्पनीको नयाँ नाम परिवर्तन भएर मेटा राखिएको भएपनि यसले सोसल मिडिया प्लाटफर्महरु फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको नामलाई असर गर्ने छैन। केवल यी प्लाटफर्महरुको मातृ कम्पनीको नाम परिवर्तन भएर अबदेखि मेटा रहनेछ।

प्रकाशित: १२ कार्तिक २०७८ ०५:५२ शुक्रबार

सामाजिक सञ्जाल कम्पनी फेसबुक कम्पनीको मुख्य रि–ब्रान्ड कम्पनीको नाम परिवर्तन गरी 'मेटा'