प्रविधि

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।गत महिना स्पेनको बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा प्रदर्शन गरिएको एस–फाइभ नेपालसँगै १ सय ५० देशमा सार्वजनिक गरिएको छ। आइएमएसका अध्यक्ष दीपक मल्होत्राले विश्वव्यापी रूपमा प्रतिक्षित एस–फाइभ स्मार्टफोन विश्व बजारसँगै नेपाली बजारमा ल्याएको जानकारी दिए।
एप्पलको ‘आइफोन फाइभ–एस'को प्रतिस्पर्धीका रूपमा हेरिएको यस मोबाइलमा त्यसमा भएको फिंगरप्रिन्ट स्क्यानर सुविधा उपलब्ध छ। १६ मेगापिक्सेलको क्यामरा रहेको मोबाइलमा अगाडि दुई मेगापिक्सेलको क्षमता छ। क्यामरामा फोटो सम्पादन, फोकस लगायत सुविधासमेत छ। ५.१ इन्च सुपर अमोलेड डिस्प्ले रहेको यो स्मार्टफोनमा मुटुको धड्कन नाप्ने उपकरण, पेडोमिटर, फिटनेस एप, २८ सय एमएएच क्षमताको ब्याट्रीलगायत सुविधा छन्। ब्याट्री निरन्तर कुरा गर्दा पनि २१ घन्टा चल्ने कम्पनीको दाबी छ।
मोबाइलमा ४.४.२ किटक्याट एन्ड्रोइड सुविधा छ। एस–फाइभमा वाईफाई मिमो सुविधा पनि राखिएको छ। नेपाली बजारमा यो स्मार्टफोनको मूल्य ७६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०७० २०:५२ शुक्रबार