प्रविधि

पोखरामा टेलिकमको ‘हटस्पट इन्टरनेट'

पोखरा– नेपाल टेलिकमले पोखरामा ‘वाइफाई हटस्पट इन्टरनेट' सेवा सुरु गरेको छ। रानीपौवास्थित टेलिकम कार्यालय आसपासका बासिन्दालाई लक्षित गरी आइतबार राति यो सुरु गरेको हो।अब त्यस क्षेत्रका बासिन्दाले तार वा डिभाइसबिना इन्टरनेट चलाउने सक्छन्।
परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क दिइने यो सेवा पोखराका अन्य क्षेत्रमा पनि विस्तार गरिने टेलिकमले जनाएको छ। टेलिमकले सोमबार दिउँसो पोखरा विमानस्थल र महेन्द्रपुलमा पनि यसलाई विस्तार गरिसकेको छ। टेलिकम पोखराका प्रमुख प्रकाशमान प्रधानका अनुसार अहिलेका लागि वाइम्याक्स प्रविधिबाट सेवा दिन थालिएको छ। 
‘यो सेवा उपलब्ध भएको ठाउँका बासिन्दाले कम्प्युटर वा मोबाइलमा निःशुल्क वाइफाई चलाउन सक्ने छन्,' उनले भने, ‘यसलाई पोखरा र आसपासका अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ।' टेलिकमले काठमाडौंका विभिन्न ठाउँलाई हटस्पट बनाएर यसअघि नै सेवा दिन थालेको छ। पोखरा दोस्रो हटस्पट सहर बनेको छ। 
गण्डकी र धवलागिरीका विभिन्न जिल्लामा यो सेवा बिस्तार गरिने उनले बताए। ‘मान्छेको बढी भीड हुने क्षेत्र, विमानस्थल, अस्पताल, कलेज, सपिङ मललाई आधार बनाएर यो सेवा विस्तार गर्ने हो,' उनले भने। केही समयपपछि सेवा शुल्क लाग्ने तर तोक्न बाँकी रहेको उनले बताए। 
टेलिकम पोखराका आइटी प्रमुख नरकाजी गुरुङका अनुसार उसले यो वर्ष देशभरका ५ सय स्थानमा इन्टरनेटको हटस्पट राख्ने तयारी गरेको छ। 
बागलुङमा प्रविधि थप
टेलिकमले बागलुङको उत्तरी गाउँ ताराखोलामा जिएसएम प्रविधिको मोबाइल सेवा विस्तार गरेको छ। लामो समयसम्म मोबाइल सेवा विस्तार नहुँदा सञ्चारको पहुँचभन्दा टाढा रहेको उक्त क्षेत्रमा नयाँ बिटिएस टावर खडा गरेर सेवा विस्तार गरेको हो। 
टेलिकम बागलुङका प्रमुख तिलक शर्माका अनुसार सदरमुकारबाट करिब ६० किलोमिटर टाढा पर्ने ताराखोलामा यसअघि सिडिएमए प्रविधिको मोबाइलले आक्कलझुक्कल काम गर्दै आए पनि त्यो सेवा भरपर्दो थिएन। करिब ३ हजार ग्राहक क्षमताको नयाँ टावर जडान गरिएको उनले बताए।
‘यसअघि ताराखोलामा सिडिएम सेवा त्यति प्रभावकारी थिएन। त्यसैले जिएसएम प्रविधिको टावर नै राखेर सेवा विस्तार गरेका हौं,' उनले भने, ‘अब त्यहाँका बासिन्दालाई सञ्चार सम्पर्कमा सहजता ल्याउँछ। ताराखोला सञ्चार सुविधाबाट निकै नै टाढा थियो। अब सहज भयो।' टेलिकमले यसबाहेक बागलुङकै हटिया, हरिचौर र थाना क्षेत्रमा थि्रजी सेवा बिस्तार गरेको छ। 
टेलिकम बागलुङका इन्जिनियर घनश्याम पाठकका अनुसार बुर्तिबाङ क्षेत्रमा ल्यान्डलाइन सेवा विस्तार पनि सुरु गरिएको छ। ल्यान्डलाइनका लागि आवश्यक उपकरण जडान गरेर परीक्षण गरिसकिएको पाठकले जानकारी दिए। पाठकका अनुसार बुर्तिबाङमा ३ सय ५० लाइन क्षमताको उपकरण राखिएको छ। ‘केही दिनभित्र बुर्तिबाङमा ल्यान्डलाइन सेवा विस्तार हुन्छ,' उनले भने।

प्रकाशित: १० चैत्र २०७० २१:५९ सोमबार