प्रविधि

विमानभित्र निःशुल्क वाइफाइ इन्टरनेट

न्युयोर्क, असोज २६ (नागरिक) अमेरिकाको युनाइटेड एयरलाइन्सले यात्रुलाई जहाजभित्र निःशुल्क इन्टरनेट चलाउन दिनका लागि वाइफाइ सुविधा उपलब्ध गराउन थालेको छ। यो सुविधा तत्कालका लागि न्युयोर्क र क्यालिफोर्निया उडानमा मात्र उपलब्ध गराइएको एयरलाइन्सले जनाएको छ। वाइफाइ सुविधाका कारण यात्रुले युनाइटेडका जहाजभित्र ल्यापटप र मोबाइल फोनमा इन्टरनेट चलाउन पाउँछन्।

युनाइटेडले आफूसँग रहेका १३ बोइङ ७५७ मध्ये एउटामा यो सुविधा दिएको र बाँकीमा आगामी नोभेम्बर दोस्रो सातासम्ममा वाइफाइ जडान गरिसक्ने जानका प्रवक्ता रोबिन उर्बान्स्कीले दिए। एयरसेल कम्पनीको गोगो वाइफाइ जडान गरेको हो। 'वाइफाइ सेवापछि यात्रुको सुझाव र टिप्पणी बुझ्ने काम भइरहेको छ,' उनले भने, 'सेवा प्रभावका भए सबै जहाजमा वाइफाइ जडान गर्छौं।'
गोगोले युनाइटेडको न्युयोर्क र क्यालिफोर्निया उडानमा वाइफाइ सेवा प्रयोग गर्दा प्रतिल्यापटप १२ दशमलव ९५ र मोबाइलका लागि ७ दशमलव ९५ अमेरिकी डलर लिने गरेको छ। यात्रुले मोबाइलमा कुराकानी वा इन्टरनेट कल गर्न भने पाउँदैनन्।

अमेरिकाकै एयर ट्रानले १ सय ३६ जहाजमा वाइफाइ सेवा दिइरहेको छ। डेल्टा एयरलाइन्स र अमेरिकन एयरलाइन्सले सयौं जहाजमा केही वर्षभित्र यो सेवा उपलब्ध गराउने योजना बनाएका छन्। साउथवेस्ट एयरलाइन्सले भने आफ्ना जहाजमा वाइफाइ परीक्षण गरिरहेको छ। 

प्रकाशित: २५ आश्विन २०६६ २२:५६ आइतबार