प्रविधि

सफ्टवेयर ठगी अभियोगमा सात पक्राउ

काठमाडौं - सोर्स कोड चोरी गरी नक्कली सफ्टवेयर बनाएर ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना सफ्वेयर कम्पनीका सञ्चालक र अन्य डेभलपर्स छन्। सहकारी संस्थाको दैनिक कारोवारको विवरण राख्ने सक्कली सफ्वेयरको चोरी गरी कारोबार गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार देवेन्द्र खत्री, उमेश खत्री, पालसकुमार घोष, प्रमनराज शाक्य, मनोज यादव, सुनिल पोटे र सरोज सुवाललाई पक्रेको हो।ब्युरोका अनुसार उनीहरुले इन्फोडेभलपर्स प्रालिले बैकिङ तथा सहकारीसम्बन्धी कामका लागि बनाएको सफ्वेयरको सोर्सकोड चोरी गरेर आफ्नो कम्पनीको नाम राखी विभिन्न सहकारीलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ। 
प्रहरीका अनुसार सुविधानगरमा रहेको एसिएम इन्फोटिच नेपाल, बनेपाको नेटलिंक आइटी सोलुसन प्रालि र कलेज अफ आइटी संसारमा संलग्नहरु ठगीमा संलग्न देखिएका छन्। 
एसिएममा काम गरेका उमेश खत्रीले इन्फोडेभलपर्समा काम गर्ने देवेन्द्र खत्रीबाट सफ्टवेयरको कोड लिएर परिमार्जन गरी नयाँ नाम राखेको खुलेको अनुसन्धान अधिकारीले बताए। 
ब्युरो अधिकारीका अनुसार उनीहरुलाई सफ्टवेयरको सोर्सकोड फेर्न भारतीय नागरिक पालसकुमार घोषले सहयोग गरेका थिए। उनले सफ्टवेयरको सोर्सकोड अनधिकृत रुपमा परिमार्जन र परिवर्तन गरी प्रमनराज शाक्यले कोम्यान नाम राखेर १५ देखि १५ हजारसम्ममा विभिन्न सहकारीलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ। 
एसिएम इन्फोमा काम गर्ने मनोज यादवले समेत कोड लिएर अनधिकृत परिमार्जन र परिवर्तन गरी नेटलिंकका सञ्चालक सुनिल पोटेलाई फाइनसफ्टको नाममा दिएका थिए। पोटे र उनको ऐजेन्ट कलेज अफ आइटी संसारका सञ्चालक सरोज सुवालले सोही सफ्टवेयर विभिन्न सहकारीलाई बिक्री गरेको ब्युरोको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। 
ब्युरोका अनुसार उनीहरुले विभिन्न कम्पनीसँग सफ्टवेयरको वार्षिक नवीकरण शुल्कका रुपमा ५ देखि १५ हजारसम्म लिने गरेका थिए। अनुसन्धानक्रममा उनीहरुले सफ्टवेयरको स्वामित्व रहेको कम्पनीलाई करिब ६० लाख ठगी गरेको देखिएको अनुसन्धानरत अधिकारीले बताए। ब्युरोले पक्राउ परेकालाई विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ।

प्रकाशित: २४ श्रावण २०७० २२:१५ बिहीबार