'विश्वका सबै मान्छेहरुलाई एक अर्कासँग जोड्न सजिलो होस भनेर हामी काम गरिरहेका छौं', ट्विटरका प्रवक्ताले भनेका छन्- 'हामी टेक्स ट्विटको अनुवाद परीक्षण गर्दैछौं।' माइक्रोसफ्टको बिङ सर्च इन्जिनसँगको साझेदारीमा ट्विटरले ट्रान्सलेसन परीक्षण गरिरहेको हो।
आधिकारिक रुपमा सुरु नभइ सकेको ट्रान्सलेसन टुलले अनुवाद गरेका सामग्री सत्प्रतिशत शुद्ध भने छैनन्। अरबिक भाषा अघि ट्विटरले युरोपका इटालियन, फ्रेन्च तथा स्पेनिस भाषामा यसको परीक्षण गरेको थियो। एक महिनाअघि गरिएका ती परीक्षाहरुमा पनि केही गल्ती पाइएको ट्विटरले जनाएको छ।
फेसबुकले यसअघि नै बिङसँगको सहकार्यमा ट्रान्सलेसन सुविधा दिँदै आएको छ भने सर्च इन्जिन गुगलले पनि गुगल ट्रान्सलेसन सेवा चलाइरहेको छ। ट्विटरको यो सेवाले पत्रकारहरुको स्रोत अझ विस्तार हुने अनुमान गरिएको छ। 'यसले ब्लगर तथा स्वतन्त्र व्यक्तिहरुको आवाजलाई बिस्तार गर्ने ठूलो मौका दिनेछ', रोयटर्स इन्स्टिच्युट फर द स्टडी अफ जर्नलिज्मका पत्रकार फेड्रिको जुरेनी भन्छन्। समाचार स्रोत तथा ब्रेकिङका लागि ट्विटरको लोकप्रियताले परम्परागत माध्यमहरुलाई आछुआछु पार्दै लगेको अवस्थामा ट्रान्सलेसन सेवाले त्यसको क्षेत्र अझ फराकिलो पार्ने विश्वास लिइएको छ।
प्रकाशित: २० असार २०७० २२:११ बिहीबार