प्रविधि

मुलुकभर सिडिएमए फोन अवरुद्ध

काठमाडौं, फागुन २४- माइतीघर भद्रकाली सडक विस्तारको क्रममा प्रयोग गरिएको डोजरबाट अप्टिकल फाइबर काटिएर नेपाल टेलिकमको देशभरका सिडिएमए फोन अवरुद्ध भएको छ।

आज दिउँसो सडक विस्तारको क्रममा प्रयोग गरिएको डोजरले टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली नजिकै अप्टिकल फाइबर काटिदिएका कारण देशभरका सिडिएमएअन्तर्गतको ९७४१, ९७५१० लगायत प्रिक्स्ड सिडिएमए सेटअन्तर्गतको फोन सेवा अवरुद्ध भएको हो।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहले सडक निर्माणको क्रममा डोजर चालकले लापरवाहीपूर्वक काम गरेका कारण सिडिएमअन्तर्गतको सबै फोन सेवा अवरुद्ध भएको जानकारी दिए। सडक विस्तारको क्रममा ठेकेदारले टेलिकमसँग समन्वय नगर्दा अप्टिकल फाइबर काटिएको सिंहले बताए। दिउँसो २ बजेदेखि सेवा अवरुद्ध हुँदा लाखौँ रुपैयाँ क्षति भएको बताइन्छ।

नेपाल टेलिकम नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष सुनिल मिश्रले टेलिकमको उच्च नेतृत्वलाई थाहा हुँदाहुँदै पनि लापरवाही गरेका कारण अप्टिकल फाइबरमा क्षति पुगेको र लाखौं रकम टेलिकमलाई घाटा भएको बताए। रासस

प्रकाशित: २६ फाल्गुन २०६९ ११:४८ शनिबार