प्रविधि

सोनीको फोरके टिभी सस्तियो, साढे चार लाखमै पाइने

न्युयोर्क, चैत २६ (एजेन्सी) - सोनीले बजारमा ल्याएको नयाँ प्रविधिको फोरके टिभी रुचाउने तर साह्रै महँगो भएर धान्न नसक्नेहरुलाई खुसीको खबर - यसको मूल्य सस्तिएको छ। तर अझै पनि अन्तर्राष्ट्रिय बजारमा यो करिब साढे चार लाख रुपियाँ घटीमा पाइन्न।

सोनीले ८४ इन्चको फोरके टिभीको मूल्य २५ हजार डलर राखी बजारमा ल्याएको थियो। त्यसलाई धेरैको गोजीले धान्न नसक्ने भएपछि सोनीले ५५ इञ्चको ५ हजार डलर र ६५ इन्चको ७ हजार डलर पर्ने फोरके अल्ट्रा एचडी एलइडी टिभी बजारमा ल्याउने घोषणा आज गरेको हो। यी टिभीहरु अप्रिल २१ तारिखदेखि अर्डर गर्न सकिनेछ।

जनवरीमा भएको कन्जुमर इलेक्ट्रोनिक्स शोमा सार्वजनिक प्रदर्शनीमा राखिएका यी टिभी अहिले न्युयोर्क, लस भेगास, हुस्टन, पाओ आल्टो, सेन्चुरी सिटी र कोस्टा मेसास्थित सोनी स्टोरहरुमा राखिएका छन्।

प्रकाशित: २५ चैत्र २०६९ २२:५३ आइतबार