प्रविधि

क्याबिन राखेर साइबर चलाउने सात सञ्चालक वीरगञ्जमा पक्राउ

वीरगन्ज, फागुन ७ - कानुनविपरीत क्याबिन बनाएर साइबर सञ्चालन गर्ने सात सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्जका अधिकांश साइबरमा क्याबिन रहेको र त्यसमा विद्यार्थीहरुले अश्लील साइट हेर्ने गरेको अभिभावकहरुको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जस्थित विभिन्न साइबर क्याफेमा आज छापा मारेको हो।
पक्राउ परेका सञ्चालकले कानुन अनुसार साइबर सञ्चालन गर्ने प्रतिबद्धता जनाएपछि पहिलो पल्टका लागि नसिहत दिएर छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक मनोहर भट्टले बताए।
"वीरगन्जमा सञ्चालित साइबरमाथि प्रहरीले नियमित रूपमा निगरानी बढाएको छ", निरीक्षक मनोहर भट्टले भने - " ऐन, कानुन र नियम पालना नगर्ने क्याफे सञ्चालकमाथि कानुनी कारवाही गर्नेतर्फ प्रहरी अगाडि बढ्ने छ।
वीरगन्जमा मात्रै करिब ४५ साइबर क्याफे सञ्चालनमा रहेको तथ्याङ्क छ। रासस

प्रकाशित: ६ फाल्गुन २०६९ २३:४२ आइतबार