प्रविधि

टेलिकमको नाफा सवा अर्ब घट्यो

काठमाडौं, माघ २८ (नागरिक) - सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको नाफा पछिल्लो छ महिनामा झन्डै सवा अर्ब रुपैयाँ घटेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्ष पुससम्म खुद नाफा ६ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ भएकोमा यो वर्ष ५ अर्ब ५५ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो वर्षको तुलनामा १ अर्ब २२ करोड ४ लाख रुपैयाँ (१८ प्रतिशत) कम हो।
कम्पनीले मर्मत तथा सञ्चालनमा गत वर्षभन्दा २ अर्ब १२ करोड रुपैयाँ बढी खर्चिएको छ। त्यसै गरी लाइसेन्स खर्चमा गत वर्षभन्दा एक अर्ब ९८ करोड ११ लाख रुपैयाँ बढी गएको देखाएको छ। यसको प्रत्यक्ष प्रभाव नाफामा परेको हो।
कम्पनीले बिक्री गर्ने सेवाबाट प्राप्त हुने आम्दानी भने २ अर्ब रुपैयाँले बढाएको छ। सेवा बिक्रीबाट कम्पनीले गत वर्ष ६ महिनामा १४ अर्ब २८ करोड ३ लाख रुपैयाँ कमाएको थियो भने यो वर्ष १६ अर्ब ८१ करोड १० लाख रुपैयाँ पुर्यालएको छ।
नाफाको पछिल्लो स्थितिअनुसार सेयरधनीका लागि कम्पनीको वित्तीय अनुपात अघिल्लो वर्षको तुलनामा प्रतिकुल बनेका छन्। गत वर्ष दोस्रो त्रैमासमा नेपाल टेलिकमको प्रतिसेयर आम्दानी ९०.३५ रुपैयाँ रहेकोमा यस वर्ष ७४.०८ रुपैयाँमा झरेको छ। गत वर्षभन्दा कम भए पनि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत अन्य कम्पनीसँग तुलना गर्दा भने यो अनुपात उच्च नै हो।
त्यसै गरी सर्वसाधारणले चासो राख्ने सेयरको मूल्य आम्दानी अनुपात पनि गर्त वर्षको तुलनामा बढेको छ। गत वर्ष ४.८६ रहेको मूल्य आम्दानी अनुपात यस वर्ष ८.९८ पुगेको छ। बजार विश्लेषकका अनुसार यस्तो अनुपात जति बढी भयो त्यस्ता कम्पनीको सेयरमा लगानी त्यति बढी जोखिमयुक्त हुन्छन्। 'नेपाल टेलिकमको मूल्य आम्दानी अनुपात २० भन्दा धेरै कम भएकाले यसको सेयरमा लगानीलाई सुरक्षित मान्नुपर्छ,' एक विश्लेषकले भने।
पछिल्लो विवरणअनुसार कम्पनीको प्रतिसेयर खुद मूल्य ३ सय ६६ रुपैयाँमा झरेको छ। गत वर्ष प्रतिसेयर खुद मूल्य ४ सय चार रुपैयाँ ४७ पैसा थियो। प्रतिसेयर खुद मूल्यको तुलना बजारमा प्रचलित मूल्य पाँच गुणा हुँदासम्म त्यस्तो सेयरमा लगानीलाई सुरक्षित मानिन्छ। पछिल्लो पटक स्टक एक्सचेन्जमा टेलिकमको सेयर ६ सय ५२ रुपैयाँमा किनबेच भएको थियो।
१५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको टेलिकमको मौज्दातमा ४० अर्ब रुपैयाँ छ। मौज्दातमा पनि गत वर्षको तुलनामा ५ अर्ब रुपैयाँले कमी आएको छ। एक वर्षमा कम्पनीको कूल सम्पत्ति ८६ अर्ब २५ करोड २८ लाख रुपैयाँबाट बढेर १ खर्ब १० अर्ब १५ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

टेलिकमले ल्यान्डलाइन (पिएसटिएन), जिएसएम र सिडिएमए मोबाइललगायत टेलिफोन सेवा र एडिएसएल, थि्रजी, ई-भिडियो, वाइम्याक्सलगायत इन्टरनेट सेवा सञ्चालन गर्दै आएको छ। त्यसै गरी क्यु ब्यान्ड भिस्याट प्रविधिबाट ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवासमेत दिइहरेको टेलिकमले पछिल्लो समय इन्टरनेटतर्फ ध्यान केन्द्रित गरेको छ। कम्पनीले हालै वाइम्याक्स प्रविधिको इन्टरनेट सेवा सुरु गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार टेलिकमका टेलिफोन ग्राहकको संख्या ८३ लाख १५ हजार पुगिसकेका छन्। टेलिफोन र इन्टरनेट सेवाबाहेक कम्पनीले विभिन्न खाले भ्यालु एडेड सेवा पनि दिइरहेको छ।

प्रकाशित: २७ माघ २०६९ २२:२९ शनिबार