लक्ष्मी बैंकमा खाता भएका दुवै दाजुभाइ पैसा चाहिँदा मोबाइल फोनबाट कारोबार गर्छन्। पैसा पाएपछि उनीहरू एटिएम गएर झिक्छन्। पछिल्लो समय बैंकले मोबाइल फोनबाट पनि मौज्दात स्थानान्तरण, भुक्तानीलगायत सुविधा दिन थालेपछि उपभोक्तालाई सजिलो हुन थालेको छ।
बैंकले अहिले खातामा पैसा थप्ने वा झिक्नेबित्तिकै ग्राहकको मोबाइलमा सूचना पठाउने सेवा दिइरहेका छन्। मोबाइल, ल्यान्डलाइन टेलिफोन र एडिएसएल इन्टरनेट तथा बिजुलीको बिल तिर्ने सुविधा दिन बैंकबीच प्रतिस्पर्धा छ। मोबाइल सन्देश पठाएका भरमा बैंकले यी काम गरिदिन्छन्।
'मोबाइल बैंकिङ सुविधा लिएपछि छुट्टिका दिनमा समेत पैसा पठाउन समस्या भएको छैन,' रोशन भन्छन्, 'खातामा पैसा आएपछि एटिएम गएर जुनसुकै बेला झिक्दा हुन्छ।'
अहिले दर्जन बढी बैंकले मोबाइल फोनबाट कारोबार सुविधा सुरु गरिसकेका छन्। टेलिफोन बिल तिर्न र पैसा स्थानान्तरण सेवामा ग्राहक आकर्षण बढेको बैंकर बताउँछन्। बैंकको कुनै कार्यालय नगई पैसा पठाउन मिल्ने र आफ्नो खाताको पैसाबाट टेलिफोन, मोबाइल, इन्टरनेट र बिजुलीको बिल तिरिदिने मोबाइल बैंकिङ सेवामा उनीहरूबीच प्रतिस्पर्धासँगै ग्राहक आकर्षण बढेको छ।
'मोबाइल बैंकिङबाट ग्राहकले घरै बसेर कारोबार गर्न सक्ने भएकाले दिनदिनै आकर्षण बढ्दो छ,' ग्रान्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्री भन्छन्, 'यसलाई अझ बिस्तार गर्दै कारोबार गर्न सके अनौपचारिक कारोबार धेरै नियन्त्रण गर्न सकिन्छ।'
अधिकांश बैंकले मोबाइल अलर्ट सेवा सुरु गरिसकेका छन्। पैसा झिकेको वा राखेको जानकारी बैंकले क्षणभरमै ग्राहकको मोबाइल फोनमा पठाउँछन्। 'सबै कारोबारको जानकारी मोबाइलमा आउने व्यवस्थाले खाता सुरक्षित बनाउँछ,' एक बैंकर भन्छन्, 'आफ्नो एटिएम कार्ड हराएर कसैले अवैधानिक कारोबार गरिरहेको छ भने तुरुन्त थाहा भएर बैंकमा खबर गरे रोक्का गर्न सकिन्छ।'
आफूले गरेको कारोबारबारे घरै बसेर जानकारी लिन सकिने र कारोबार गर्न पाइने भएकाले मोबाइल बैंकिङको आकर्षण बढेको बैंकर बताउँछन्। 'अफिसले तलब हालिदिएको पनि तुरुन्त थाहा पाइन्छ,' रोशन भन्छन्, 'लेखा शाखामा गएर सोधिरहनु पर्दैन।'
उनी कल डिपोजिट (माग्नेबित्तिकै पैसा पाइने खाता) मा आएको तलबलाई मोबाइल फोनबाट स्थानान्तरण गरी ब्याज बढी आउने बचत वा मुद्दतीमा सार्नसमेत सकिने बताउँछन्। 'मोबाइल र इन्टरनेटबाट कारोबार गर्न सकिने गरी लक्ष्मी बैंकले पहिलो सेवा सुरु गर्योउ,' उनी भन्छन्, 'मलाई चाहिएजस्तो प्रकृतिको भएकाले खाता खोलेँ। अहिले सजिलो छ। बैंक गइरहनु पर्दैन।'
मोबाइल बैंकिङ लक्ष्मी, नबिल, कमर्ज एन्ड ट्रस्ट, कुमारी, माछापुच्छे्र, बैंक अफ काठमाँडु, ग्रान्डलगायत बैंकले गरिरहेका छन्। आफ्नै एजेन्ट नियुक्त गरेर लक्ष्मी र कुमारी बैंकले भने भुक्तानी व्यवस्थासमेत मिलाएका छन्। बैंकले नियुक्त गरेको एजेन्टले निश्चित ठाउँमा गएर निक्षेपकर्तालाई पैसा भुक्तानी गर्छ। ग्राहकले बैंकको शाखा खोज्दै हिँड्नुपर्दैन।
मोबाइल फोन बोक्ने सबै बैंकका ग्राहक हुन्। तर, एउटा बैंकको मोबाइल फोनबाट हुने कारोबार अर्को बैंकमा नचल्ने भएकाले सोचेजस्तो यो सेवाले गति लिन सकेको छैन। 'मोबाइल फोनबाट रकम स्थानान्तरण र भुक्तानी एक बैंकको अर्को बैंकले स्वीकार्ने संयन्त्रको विकास नहुँदा यसले गति लिन नसकेको हो,' खत्री भन्छन्, 'सबैको सबैले स्वीकार्ने अवस्था आए कारोबार बढ्छ।'
पछिल्लो समय अधिकांश बैंक तथा वित्तीय संस्थाको एटिएम कारोबार एक अर्कामा चल्ने भएकैले लोकप्रियता बढेको थियो। सबै बैंकको कारोबार चलाउन 'स्मार्ट च्वाइस टेक्नोलोजी (एससिटी) नेटवर्क' ले 'प्लेटफर्म' को काम गरेपछि एटिएमले लोकप्रियता पाएको थियो।
मोबाइल फोनबाट हुने कारोबार सबै बैंकमा चलाउन यस्तैखाले प्लेटफर्म स्थापना भए सर्वसाधारणको लोकप्रियता ह्वात्तै बढ्ने बैंकर बताउँछन्। यस्तो प्लेटफर्मको सदस्य भएका बैंकले एकअर्काका ग्राहकलाई मोबाइल फोन सेवा उपलब्ध गराउन सक्छन्। 'यसले नेपालको बैंकिङ क्षेत्रलाई नै माथि पुर्यााउँछ,' एक बैंकर भन्छन्, 'अनौपचारिक कारोबार हटेर बैंकिङ प्रणालीबाट कारोबार गर्ने बढ्छन्।'
एकअर्काका ग्राहकलाई सेवा उपलब्ध भएपछि पैसा बोकेर हिँड्ने झन्झट हुँदैन। सुरक्षाको खतरासमेत हट्ने र अर्थतन्त्र औपचारिक हुनेछ। नेपालमा अहिले करिब १ करोडहाराहारीमा छन्। जनसंख्याको ३९ प्रतिशतले बैंकिङ पहँुच पाइरहेका बेला एक अर्को बैंकको कारोबार पनि मोबाइलबाट हुने वातावरण बने चाँडै पहुँच ५० प्रतिशत नाघ्ने छ।
एकअर्काको कारोबार स्वीकार्ने व्यवस्था मिलाउन केही निजी क्षेत्रका कम्पनीले तयारी गरिरहेका छन्। यसका लागि सघाउन विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, अन्तर्राष्ट्रिय मुद्रा कोषसमेत तयार छन्। तर, यसको नेतृत्व लिने निकाय नहुँदा काम अगाडि बढेको छैन। बैंकरका अनुसार राष्ट्र बैंक वा अन्य कुनै सरकारी निकायले समन्वय गरिदिए एकअर्काको कारोबार स्वीकार्ने व्यवस्था मिलाउन प्लेटफर्म स्थापना गर्न सकिन्छ।
प्रकाशित: २६ माघ २०६९ ००:४८ शुक्रबार



